कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका लगायत देशका धेरै स्थानमा स्वतन्त्र उम्मेद्वारले चुनाव जितेपछि स्वतन्त्र उम्मेद्वारी दिनेहरुको संख्या बढ्न थालेको छ । चु्नाव जितेका स्वतन्त्रहरुको सिको गर्दै आगाामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारी दिनेको संख्या बढेको हो ।
बिहीवार मात्रै स्वतन्त्र उम्मेद्वारको एउटा समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । जसमा देशको संघीय राजधानी देखि विभिन्न जिल्लाहरुमा समेत स्वतन्त्र उम्मेद्वारी दिनेहरुको लहर देखिएको छ । बिहीवारबाट सुरु भएको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको मात्रै गरेका छैनन् दलका पुराना नेताको विकल्प दिन आफूहरू अघि बढेको दाबी समेत गरेका छन् ।
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा भने जनमत दलीय उम्मेदवारको पूर्णतः अस्वीकृति नभएको तर, दलहरूप्रतिको असन्तुष्टि भने देखिएको स्वीकार गर्छन् । ‘अब दलीय व्यवस्थामा जनताले विश्वास गर्दैनन् भन्ने होईन, बरु राजनैतिक दलको नेतृत्वले आशाको सञ्चार गर्न नसक्दा स्वतन्त्रको आगमन भएको हो, अब दलले सुध्रिएर अघि बढ्नुपछर्ʹ उनले भने । साथै बालेन शाह र हर्क साम्पाङ जस्तै हरेक स्वतन्त्र उम्मेद्वार सफल हुन नसक्ने उनको बुझाई छ ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि केही स्वतन्त्रले जितेपनि उनीहरुको भविष्य भने नभएको बताउँदै आएका छन् । दललाई स्वतन्त्रले चुनौती दिएपनि आगामी निर्वाचन भने स्वतन्त्रले जित्न नसक्ने उनको बुझाई छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि स्वतन्त्रबाट देश चल्ने सम्भावना नरहेको हुँदा कांग्रेस र कम्युनिष्ट सुध्रिनुपर्ने बताउँछन् । ‘अब हामीसँग राम्रो विकल्प भनेको कम्युनिष्टको विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट नै हुन् । स्वतन्त्र पनि केही क्षेत्रमा स्थापित गर्दैछन् । उनीहरुको पनि ७५३ ठाउँमा उम्मेदवार हुनुपर्यो, उनीहरुको एउटा झण्डा हुनुपर्यो, उनीहरुको एउटा ‘फिलोसफी’ हुनुपर्यो, उनीहरुको अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्ड हुनुपर्छ । कांग्रेस र कम्युनिष्ट पनि एकै दिनमा बनेका होइनन्ʹ उनले भने । वर्षोसम्म शासन गर्दापनि कम्युनिष्ट र कांग्रेस नसुध्रिएपछि त्यसको आक्रोश स्वतन्त्रलाई भोट दिएर पोखेपनि सबै स्वतन्त्रहरु बालेन हुननसक्ने उनको भनाई छ । केही स्वतन्त्र सांसदहरुले चुनाव जितेपछि एउटा समूह बुढा नेता हराउ, स्वतन्त्र जिताउ भन्ने अभियानमै लागेको छ । त्यस्तै, कलाकार देखि समाजसेवीसम्मले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने लहर पनि चलेको छ । यद्यपि, सबै स्वतन्त्र उम्मेद्वारलाई जनताले पत्याउने अवस्था भने बनेको छैन ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies