– वीरेन्द्र कुमार पानुली
युरोप, उत्तर अमेरिका, मेक्सिको, अफ्रिका र एसियाका थुप्रै नदीहरु सुक्न थालेका छन् । जुन घटना मिडियामा पनि चर्चा छ । युरोपका केही भाग पछिल्लो ५ सय वर्षको सबैभन्दा खराब खडेरीको सामना गरिरहेका छन् । जर्मनीका प्रमुख औद्योगिक क्षेत्रहरूबाट बग्ने राइन नदी युरोपको दोस्रो ठूलो नदी हो । यसमा पानीको सतह कम भएकाले मालबाहक डुङ्गा र पानीजहाज सामान्यभन्दा आधा वा चौथो भारमा मात्र चलिरहेका छन् । यसले खाद्यान्न, कोइला, रसायन आदिको ढुवानीमा ठूलो असर गरेको छ । फलस्वरूप जर्मनीमा कारखानाहरू बन्द हुने अवस्था पनि आएको छ । बेलायतको ३ सय ४६ किलोमिटर लामो टेम्स नदीको मुहान पनि अहिले सुक्दै गएको छ । बेलायतका १३ नदीहरू लगभग सुकेका छन् । इटालीको सबैभन्दा लामो पो नदीमा सामान्यभन्दा धेरै कम पानी बहेको छ । चीनका ५० हजार नदीमध्ये आधाभन्दा बढीले खडेरीको अवस्थाको सामना गरिरहेका छन् ।
जर्मनी, इटाली, फ्रान्स, स्पेन, चीन आदिका नदीहरू, नहरहरू, जलाशयहरूमा सुख्खा छाएको छ । खोला सुक्दा जल यातायात, पर्यटन, सिँचाइ, खानेपानी आपूर्तिलगायत जलविद्युत उत्पादनमा असर परेको छ । नदीसँग जोडिएको खेती पनि प्रभावित भएको छ । नदीमा पानीको कमी र पानीको तापक्रम बढ्दा पनि माछा बचाउने चिन्ता बढेको छ । पानी नहुँदा अनगिन्ती सदाबहार खोला मौसमी भएका छन् । भारतमा नै कावेरी ४० प्रतिशत र नर्मदा ६० प्रतिशतसम्म सुकेको छ । गंगा, यमुना पनि धेरै ठाउँमा पानीविहीन भएको छ ।
नदी संकटका लागि मानवीय कारण पनि कम जिम्मेवार छैनन् । त्यसमध्येको एउटा कारण नदीको दोहन पनि हो । जसरी हामीले नदीको पानीको उपयोग क्षेत्र बढाइरहेका छौँ, त्यही अनुपातमा खोला सुक्दै जाँदा पनि चिन्ता बढीरहेको छ । करिब ४० प्रतिशत किसानले सिँचाइका लागि नदीको पानी प्रयोग गर्छन् । आज नदीहरूमा आफ्नो पारिस्थितिक दायित्व पूरा गर्न पर्याप्त पानी छैन । मौसमविद्हरूले नदीमा पानीको कमी हुनुमा जलवायु परिवर्तन, अभूतपूर्व गर्मी र खडेरीको कारण भएको बताउँछन् । यद्यपि जीवाश्म ईन्धनको प्रयोगबाट कार्बन उत्सर्जनलाई मुख्य कारणको रुपमा मानिएको छ । जसले पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउँदैछ ।
यसले खडेरी र अन्य मौसमी संकटहरु सिर्जना गराउँदैछ । आज हिमनदी पग्लिएसँगै समुन्द्रको सतह बढ्न थालेको छ । केही भूगोलमा अनावृष्टि र केही भूगोलमा अतिवृष्टिको समस्या पनि देखिएको छ । कतिपय भूगोलमा देखिएको बाढीको समस्या देखिनु पनि मौसम परिवर्तनका संकटहरु हुन् ।
आज कतिपय क्षेत्रमा निकै भयावह खालको खडेरी देखिएको छ । यसको मुख्य कारण सहायक नदी वा मुख्य खोलाको जलस्रोत वनमा भएमा वन फँडानी, आगलागी र हरियालीको अभाव पनि हो । भारतमा केही वर्षअघि जालौन (उत्तर प्रदेश)को नुन नदी अतिक्रमण र वातावरणीय कारणले गम्भीर अस्तित्व संकटबाट गुज्रिरहेको थियो । तर अहिले पञ्चायत, आम जनता र प्रशासनको सहयोगमा पुनर्जीवित भएको छ ।
संसारभरका नदीहरूमा प्रदूषणको समस्या छ, तर जब नदीहरूमा प्रदूषणसँगै पानी कम हुन थाल्छ, तब नदीहरूमा प्रदूषणको अवस्था पनि बढ्छ । करिब दश वर्षदेखि युरोप, बेलायत, चेक रिपब्लिक, स्वीडेन, स्पेनले आफ्ना नदीहरूको प्राकृतिक वैभव ल्याउने प्रयास गर्दै आएका छन् । हजारौं किलोमिटर नदीहरू मर्मत गरिएका छन् । बाँधहरू पनि हटाउने काम भइरहेको छ । बेलायत, अमेरिकामा नदीका बाँध हटाउने माग र सरकारी अभियान तिब्र रुपमा चलिरहेको छ । अब यो प्रश्न पनि उठ्न थालेको छ कि अबको केही दशकमा नै संसारका नदीहरु ध्वस्त त हुँदैनन् ?
अमर उज्यालाबाट
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies