काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई विधान विपरीत सीमित व्यक्तिहरूको इच्छामा सञ्चालन गर्न खोजिएको भन्दै निर्वाचन समितिमा प्रतिनिधि नपठाउने बताएको छ । संघले आगामी पुस ८ गते आफ्नो साधारणसभा र निर्वाचन गर्ने निर्णय गरेकोे थियो ।
मञ्च अध्यक्ष राजेन्द्र भण्डारीले तत्काल साधारणसभा तथा कार्यसमिति निर्वाचन गराउने गरी गत फागुनमा जिम्मेवारी पाएको समितिले करिब एक वर्षपछि निर्वाचनको मिति तोक्नु विधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको दाबी गरे ।
संघले निर्वाचन गराउन लक्की एचआर सोलुसन प्रा.लि.का सञ्चालक ऋषि शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै संघले कार्यसमितिका सदस्य तथा पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालाई सह–संयोजक र कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
अध्यक्ष भण्डारीले तदर्थ समितिलाई अन्य विभिन्न समिति गठन गर्ने निर्वाचित समितिले पाए सरहको अधिकार नै नहुने दाबी गरे । उनले भने, ‘तदर्थ समितिको हैसियत नै सीमित हो । व्यवसायीले चुनेर पठाएको नभई प्रशासनले निर्वाचन गराउन दिएको सीमित म्याण्डेट भुलेर निर्वाचित प्रतिनिधि जस्तो आफैंले आफ्नो शक्तिको विस्तार गरेर काम गर्न खोज्नु गैरकानूनी हो । त्यसैले हामीले त्यस्ता अवैधानिक समितिमा मञ्चको प्रतिनिधि पठाउँदैनौं ।’
संघले सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधनको प्रक्रिया शुरु गर्न लागेकोले ऐनलाई व्यवसायीमैत्री बनाउन संघको तर्फबाट मस्यौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नका लागि इम्प्लोइमेन्ट लिंक प्रा.लि.का संचालक तथा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजारको संयोजकत्वमा ५ सदस्यीय ऐन मस्यौदा सुझाव समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिमा रोयल गण्डकी म्यानपावर प्रा.लि.का संचालक तारानाथ अर्याल, एसिया लिंक सर्भिस प्रा.लि.का संचालक मिलन कट्टेल र संघका कानूनी सल्लाहकारहरू वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र अधिवक्ता देवराज कटुवाल सदस्य छन् ।
अध्यक्ष भण्डारीले सम्बन्धित व्यवसायीसँग परामर्श नै नगरी प्रतिनिधि राखेकाले त्यसमा पनि मञ्चको विरोध रहेको बताए । उनले भने, ‘कानूनी आधार बिना समिति गठन गर्ने र जथाभावी प्रतिनिधि तोक्ने व्यवहारले नेतृत्वको इमान्दारितामाथि नै प्रश्न उठेको छ, तदर्थ समितिको आफ्नो कार्यकाल लम्ब्याउने शैलीले संघको आर्थिक हिसावकिताबको पारदर्शितामासमेत प्रश्न उठेको छ ।’
संघले निकट भविष्यमा दशैं, तिहार र छठ जस्ता चाडवाड आएको र त्यसको लगत्तै आम निर्वाचन आएकोले आम निर्वाचन लगत्तै आगामी २०७९ पुस ८ गते शुक्रबार संघको साधारणसभा र निर्वाचन गराउने निर्णय गरिएको बताएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies