बिकाश काफ्ले/मध्यान्ह
पाल्पा, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशैभर स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर चलेको छ । यसैबीच पाल्पाको क्षेत्र नं २ मा पनि युवा व्यवसायी उपेन गैरेले उम्मेदवारी घोषणा गरी प्रचारप्रसार गर्न थालिसकेका छन् ।
विगतका निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारहरुलाई जिताएर पठाए पनि समृद्धिको कुनै आधार तयार गर्न नसकेकाले आफूले उम्मेदवारी दिनुपरेको उनले बताउँदै आएका छन् । पाल्पाको बगनाशकाली गाउँपालिका २ पोखरा थोकमा जन्मेका गैरे हाल काठमाडौंमा व्यवसाय गर्दै आएका छन् । उपेनले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी बनेर परिवर्तनका लागि योगदान गरेका छन् ।
भारतवाट कम्प्युटर एप्लीकेसनमा स्नातकोत्तर गरेका गैरले व्यवसायका साथमा केहि निजी तथा गैरआवासीय संस्थामा आईटी विज्ञको रुपमा काम गर्दै आएका छन् । उनले परम्परागत प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्दै विद्यमान अवस्थामा राजनीतिमा देखिएको कुरिति, विसंगती, भ्रष्टाचार, छायाँमा परेका युवा नेतृत्वलाई उजागर गर्नुका साथै नयाँ आवाज, नयाँ दृष्टिकोणका साथ अगाडि बढ्नको लागि आफूले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले राष्ट्रिय हित, सुरक्षा तथा विकासका लागि मुलुकमा उपलब्ध स्रोत, साधन तथा जनशक्तिको परिचालनमार्फत देशलाई परिवर्तनको दिशामा लैजानुपर्ने बताए । हिजोका दिनमा अरुले गरेको गल्तिलाई हामीले परिवर्तनको सिढिको रुपमा रुपान्तरण गरेर विकाशको रेखा कोर्ने कुरामा आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।
समाजमा देखा परेको कुरिति, विसंगतिको विरुद्धमा सधै स्वतन्त्र रुपमा आवाज उठाउँदै आएका उपेनले लोकमान सिंह कार्कीविरुद्धको आन्दोलन होस् या डा. गोविन्द केसीको समर्थनमा, इनफ इज इनफ अभियान अन्य युवाको आवाजको लागि गरिएका आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगीको भूमिका निर्वाह गर्दै आइरहेका छन् । महाभूकम्पदेखि कोरोनाकालसम्म उनले आफ्नो क्षमताले भ्याएसम्म सहयोगको लागि आफ्नो उपस्थिति जनाउँदै आएका छन् ।
उनले आफ्नो प्रतिबद्धता पत्रमा लेखेका छन्, ‘हामीले देखेको परिवर्तनको सपना अब विपनामा परिणत गर्नुपर्नेछ ।‘२००७ सालदेखि अहिलेसम्म राज्यले राजनीतिको नाममा धेरै परिवर्तन देख्यो । कोहि शान्तिपूर्ण त कोहि हिसांत्मक । तर विडन्वना राजनीति गर्न खोलिएका कुनैपनि दलहरु राज्यको लागि गम्भीर देखिएनन् । दलहरु सबै व्यक्ति केन्द्रित हँुदा त्यसको व्ययभार राज्यले उठाउँदै आउनुपरेको छ । राज्यलाई शोषण गरेर बसेका व्यक्ति वा दलबाट अबपनि केहि आश गरेर बस्नु भनेको हामी परिवर्तन चाहादैनौ भन्ने सजिलै बुझ्न सकिन्छ । राज्यको व्यवस्था त बदलियो तर अवस्था परिवर्तन हुन सकेन । आर्थीक, सामाजिक र धार्मिक सिद्धान्तहरु कितावमा मात्र सिमित भएको देख्दा मन पोलेर आउँछ, त्यसैले हामी परिवर्तको खाका कोर्न आएको छु ।
हामीले जनतालाई धेरै ठुला आशा देखाउँदैनौ । किनकी हामीहरुले हाम्रो देशको सतह बुझेका छौ । जनताका समस्या एकदमै स–साना छन्, हामी आफैले यो समस्या दैनिक जीवनमा भोग्दै आइरहेको छौँ । मध्यान्ह राष्ट्रिय दैनिकसँग कुरा गर्दै उम्मेदवार उपेनले आफूले उम्मेदवारी दिनुका कारणहरु उल्लेख गरे ।
परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न, परिवर्तनको लागि राज्यको नीति निर्माण तहमा युवा नेतृत्व, राजनीतिलाई मर्यादित बनाउँन, कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापितगर्न, विकाशको लागि दिगो योजना तथा पूर्वाधार विकासमा आमुल परिवर्तन गर्न, शिक्षा, स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न र आधारभुत तथा लक्षित कार्यक्रमलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies