काठमाडौं : मुुलुकको ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २४२ स्थानीय तहमा आंशिक विद्युत् पुगेको छ भने बाँकी ३५ स्थानीय तहमा अझैपनि विद्युत पुग्न सकेको छैन । प्राधिकरणले तयार पारेको विद्युतीकरण तथ्यांक २०७९ अनुसार अहिलेसम्म कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ ।
ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, मनाङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा ५० देखि ७५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । त्यस्तै रुकुम पूर्व, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी ७ जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्छन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी ४ जिल्लामा ० देखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।
कर्णाली प्रदेशका ३ वटा जिल्लामा अहिलेसम्म पनि राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छैन । डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिडको विद्युत् पुग्न नसकेको हो । राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ढंगले सौर्य, लघुजलविद्युत् (माइक्रोहाइड्रो) लगायतमार्फत् विद्युतीकरण गर्ने कार्यक्रमलाई सरकारले अगाडि बढाएको छ । आगामी २ वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रुपमा काम भइरहेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्दैछ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत्को पहुँच विस्तारमा रकम जुटाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । कोभिड १९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरुको मूल्यवृद्धि, विश्वव्यापी रुपमा बिग्रिएको आपूर्ति चेनको अवस्थाका बाबजुद पनि गत आवमा थप १० जिल्लामा प्राधिकरणले विद्युतीकरण गरेको थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies