–लोकनारायण सुबेदी
आज विश्वभरी नै अर्थ–सामाजिक व्यवस्थाहरु परिवारको दायराबाट निकै टाढा पुगिसकेका या पुगिरहेका छन् र बढी औपचारिक बनिरहेका छन् । अर्थ–सामाजिक परिवर्तनसँगै आएको यो पारिवारिक विचलन विघटनका कारण अब दाजु–भाइ, दिदी–बहिनी, माता–पिता, काका–काकी, हजुर बा–हजुर आमाको स्वभाविक र भावनात्मक सम्बन्धले नयाँ अनुसन्धान र खोजबिनको व्याकरण लेख्न थालेको प्रतीत हुन्छ । यो परिपक्क हुन कति समय लाग्ने हो त्यो भने भन्न सकिने अवस्था छैन ।
यद्यपि ‘परिवार’ भन्ने बित्तिकै हाम्रो अस्तित्वको एउटा बिस्तृत फलकमा फैलिएको कुरा देखापर्न आउँदछ । शब्दकै अर्थ खोज्ने हो भने संस्कृत भाषामा ‘परि’ शब्दले दायरा या वृत्तप्रति संकेत गर्दछ, अर्थात् त्यस्तो अर्थ–सामाजिक संरचना जसले व्यक्तिलाई आबद्ध गरेर या घेरेर या आवेष्ठित गरेर राख्दछ, त्यही नै परिवार हुन्छ । परिवारको दायरा र केन्द्र दुबैले एक अर्कालाई परिभाषित गर्दछन् । तर परिवार अर्थात् यो सम्बन्धहरुको दायरा अपरिभाषित जस्तै छ । किनभने यसको कुनै निश्चित आकार हुँदैन । कुनै परिवारको आकार ठूलो हुन्छ, जसमा टाढाका नातेदारहरु पनि सामेल भएका हुन्छन् । परिवारका सदस्यहरको नाता सम्बन्धमा अधिकार पनि हुन्छ सानो र ठूलोको हिसाबले । जब यी सदस्यहरुका बीच सन्देह उत्पन्न हुने गर्दछ, ईष्र्या बढ्दछ, परस्पर अहम् टकराउने गर्दछ, द्वेष पैदा हुन्छ त्यतिबेला यो सम्बन्ध टुट्ने या बिखण्डित हुने स्थिति पनि उत्पन्न हुन्छ । यद्यपि पूर्वीय समाजमा परिवारवादिता पहिचानहरु मध्येमा एउटा सबैभन्दा ठूलो पहिचान या निशाना जस्तै मानिन्छ र मानिदै आइएको छ । तर, अब त्यो स्थिति क्रमशः विघटनतिर गइरहेको छ ।
यता पूर्वीयाहरु ‘बसुधैब कुटुम्बकम्’ को अवधारणामा पनि आधारित रहेको कुरा भन्दै र मान्दै पनि आएका छन् । यसमा रक्त सम्बन्धको आवश्यकता पनि रहँदैनथ्यो र रहन्न । जो कोही पनि यो परिवारमा सम्मिलित हुन सक्दथ्यो र सक्दछ । तर अब पछिल्लो समयमा आएर यो पारिवारिक दायरा पनि संकुचित हुँदै गइरहेको देखिन्छ । किनकि हामी परिवारबाट ‘फेमेली’तिर आकर्षित हुँदै गयौं । यसको प्रष्ट र द्विबिधारहीत अर्थ के हो भने त्यसमा केवल – पति, पत्नी र तिनका सन्तान मात्र हुन्छन्, अरु सदस्य पर्दैनन् । यद्यपि यताको हाम्रो पूर्वीया समाजमा परिवारको केन्द्रियता अद्यपि छाइनै रहेको छ । अझ परम्पराका आधारमा हेर्ने हो भने त परिवार देश, काल र पात्रका दृष्टिले एउटा खास संरचना हुने गर्दथ्यो । पहिला परिवारको स्थायी आवास हुने गर्दथ्यो । त्यसलाई विश्वकै एउटा समुच्चा रूपको प्रतिकृति (मिनिएचर) जस्तै मानिन्थ्यो । परिवार या खानदानबाट मानिसहरुको या व्यक्तिको पहिचान हुने गर्दथ्यो र यसरी परिवारको अबधि व्यक्ति वा व्यक्तिहरुभन्दा लामो हुने गर्दथ्यो ।
अनि स्वभावैले पूर्वीय परिवारको संरचना घरको अवधारणासँग जोडिएको हुन्थ्यो । बस्ने, उठ्ने, खाने, पिउन कुरा अनि व्यवहार–कारोबारको सबैको व्यवस्थामा अलिखित अनुशासन पनि हुने गर्दथ्यो, जसको परिपालना गर्नु गराउनु परिवारको स्वभाविक सामाजिक व्यवस्थाको अंश मानिने गरिन्थ्यो । यद्यपि मूल परिवारसँग टाढा रहनु पर्ने स्थिति कतिपय मानिसहरुको नोकरी, रोजगारी आदिका कारण आवश्यक बन्न जान्थ्यो । पति र पछि पत्नीसमेत गाउँघर छोडेर शहर, महानगर र विदेशतिर समेत जान थालेपछि मानिसहरुका बीच त्यसबाट उत्पन्न समस्याहरु देखापर्न थाले । यस क्रममा कतिपय मानिले गाउँघरमा विवाहिता पत्नीलाई छोडेर शहरहरुमा नयाँ जीवन बिताउन पनि थाले । वैवाहिक संस्थाले पनि रूप बदल्दै आएको छ । आज यौनिकता र नैतिकतालाई पनि नयाँ किसिमले या भिन्न किसिमले हेर्न थालिएको छ । सम्बद्ध बिच्छेद र पुनर्विवाह स्वाभाविक मानिन थालिएको छ । सामाजिक, शैक्षिक र भौगोलिक कारणहरुबाट समेत ठूलो मात्रामा पारिवारहरुको विस्थापन आरम्भ भयो । मानिसरु दूर–दराजका सुदूर गाउँ–घर छोडेर अन्यत्र जान र रहन थाले, आफुखुशी जीवन बिताउने आशा लिएर, सुखमय र सुन्दर जीवन र आजीबीकाका अवसरहरुको खोजीमा घर–परिवार छोडेर विदेश जान थाले । अनि गएकाहरुमध्ये कतिपय या धेरैजसो उतै बस्न पनि थाले । विस्तारै विस्तारै परिवारको एउटा वितरित स्वरूप मौलाउन या हुर्किन थाल्यो । निकटता र पारस्परिकता कम हुन थाल्यो । सम्पर्कको निरन्तरता घट्दै जान थाल्यो । संयुक्त परिवारको ठाउँमा एकल परिवारको प्रचलन बढ्दै जान थाल्यो । यद्यपि अहिले पनि कतिपय संयुक्त परिवार कायम रहिरहेका छन्, तिनले टाढा–टाढा भए पनि जोडिने, सम्पर्क रहिरहने र परस्पर सर–सहयोग गर्ने स्थिति अवश्य पनि कायम रहने राख्ने प्रयत्न पनि जारी रहेको देखिन्छ ।
अनि आज त अर्कोतिर मातृत्व र पितृत्व बिना पनि मानिसहरु जिउन या जीवन गुजारा गर्न चाहन्छन् । बाध्यताबश या आफुखुशी कसैलाई यो छुट अवश्य होला कि कोही एकल मातासँग बसुन् या कोही एकल पीतासँग । अहिले त जैविक दृष्टिले पनि आमाको अर्थात् मातृत्वको समेत विकल्प आइसकेको छ । अब त के पनि सम्भव भएको छ भने अरुको कोख किनेर पनि बच्चा पाउने पद्धति(जसलाई रिमोट जैविकताको संज्ञा दिन थालिएको छ)को पनि विकास हुन थालिसकेको छ र यसैबाट मातृत्वको सुख लिन पनि लिन थालिएको छ । यसरी आज परिवारको जीवन विस्तार र परिचालनको स्वरूप बदलिँदै गएको छ । आजको बदलिएको स्थितिमा अब त एपार्टमेण्टको घर पनि स्थायी नरहने स्थिति विकसित भइरहेको छ । अब स्थाई त केवल प्यान नम्बर, आधार संख्या र त्यसमा सरकारी निगाह मात्रै नित्य रहने जस्तो स्थिति देखिँदैछ । अरु बाँकी सबै कुरा यस संसारमा अस्थाई नै रहने देखिएको छ । आवास पनि आज ‘घरसंख्या र पिन कोड’बाट जान्न थालिएको छ र मानिसहरुले स्थान बदलिइरहने स्थिति बनेको छ ।
बदलिँदो यस संक्रमणको समयमा बालबच्चाहरुको लालन पालन, बृद्ध बृद्धाहरु तथा असक्तहरुको समस्याको पनि आज नयाँ किसिमले समाधान खोजिन थालेको र खोजिँदै गरेको अवस्थाबाट विश्व गुज्रिरहेको छ । यस अवस्थामा बाल बच्चाको पालन पोषणको समस्या, बृद्ध तथा असक्त नागरिकहरुका समस्या, विभिन्न कठिनाईमा परेका परिजनहरुका समस्याहरुको नयाँ किसिमले समाधानको खोजी हुनुपर्ने देखिन्छ र हँुदैछ । स्पष्ट कुरा के छ भने अबको सामाजिक व्यवस्था पारिवारिक दायराभन्दा बाहिर जान थालेको छ र औपचारिक बन्न थालेको छ । यी परिवर्तन र विचलनलाई हेर्दा दाजु–भाइ, दिदी–बहिनी, माता–पिता, हजुरबा–हजुरआमा आदि बीचको स्वाभाविक पारस्परिक भावनात्मक र भौतिक सम्बन्ध नै के हुन्छ अन्योल छ । तिनको नाप–तौलको नयाँ सामाजिक व्याकरण लेख्न थालिएको छ । हुन पनि आज संसार सबै नै सामाजिक परिवर्तनको नयाँ संघारमा खडा छ, जहाँ अरुसँग छुट्टिएर आरामले एक्लो जीवन बिताउने आवश्यकता परिपक्क हुन निकै समय लाग्ने देखिन्छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies