– खिमराज गिरी
नेपालमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरुमध्ये हरितालिका तीज पनि एक हो । विशेषगरी महिलाहरुको पर्व भनेर चिनिने यो तीजको विशेष धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व छ । नेपालमा पनि विभिन्न ठाउँमा विविध प्रकारले यो पर्व मनाउने प्रचलन छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएको पाइन्छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवम् अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने प्रचलन छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितियाका दिन दर खाने चलन छ । खास त महिलाहरुले भोलिपल्ट व्रत बस्दा भोक नलागोस् र शरीर शिथील नहोस् भनेर अघिल्लो दिन राती १२ बजेसम्म विभिन्न परिकारहरु खाने चलन छ । चौथीका दिन स्नान गरी खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दत्तिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी मात्र खाने चलन पनि छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवम् सद्भाव झन् बढ्दै जाने जनविश्वास छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास पनि छ ।
यसरी टोलटोलमा महिला तथा अहिले त पुरुषहरुको पनि जमघट भई नाचगान र रमाइलो गर्ने चलन छ तीजमा । यसरी बसिने ब्रतसँगै नातागोता, इष्टमित्र तथा समाजमा झन् प्रगाढ सम्बन्ध रहन्छ नै । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्नरूपले यो पर्वमार्फत प्रकट हुन्छ । अझ महिला दिदीबहिनीहरुले विभिन्न किसिमका तीजका गीतमार्फत आफ्नो पीडा बिसाउने चौतारीको रूपमा लिइन्छ यो तीज पर्वलाई । हुनपनि एक महिलाले कसैको छोरी बन्दाको अवस्थामा पाउने सुखको अनुभूतिको आनन्द भिन्न प्रकृतिको हुन्छ । र, तिनै महिला अर्काको घरमा गएर बुहारी बन्दाको जीवन कति कष्टकर हुन्छ, त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । कुनै–कुनै महिलालाई त पराइको घर साच्चै नर्क समान हुन्छ ! न समयमा भोजन, न त विश्रामको अनुभूति, न त कसैको माया र ममता ! जीवन सँधै कर्कलाको पानीजस्तो हरपल अत्याचार सहेर बस्न बाध्य हुन्छिन् ! यस्तै अवस्थामा गाइएको एउटा गीत छ :
“न त मलाई मीठो खाना, न त बस्ने राम्रो ठाम,
मै छोरी अभागिनी भागी कता जाम !
न त सासू मिजासिली, न त पर्यो राम्रो पोइ,
माइती गाउँनी बिरानो भो, कता जाने खोइ ?”
यसरी तीज पर्वमा कति महिलाहरुको पीडाको कथा र बिरहको व्यथा पोखिएको हुन्छ । एकातिर तीज पर्वको महत्व बढ्दै गए पनि अर्कोतिर समाजमा विकृतिका खाडलहरु पनि गहिरिँदै गएका छन् । तीजको नाममा समाजमा देखाउनकै लागि अनेक गरगहना पहिरिएर जमघट हुँदा कयौं चेलीहरुको गहना लुटिएका छन् । एकछिनको रमाइलोले आर्थिकरूपमा हुने नोक्सानीको ख्याल नगरी तीज आउनुभन्दा एक महिना पहिलादेखि विभिन्न टोल, क्लव, सामाजिक संघ संस्थाहरुका साथै राजनीतिक पार्टीका भातृ संगठनहरुले एक महिना अगाडिदेखि नै दर खाने चलन निम्त्याएका छन् । अझ गाउँभन्दा नि सहरी क्षेत्रमा त यो पर्व भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप, तीज केही उत्ताउलो हुन थालेको छ । परिवारमा आर्थिक भार पर्ने त भयो नै जसले गर्दा यसको मौलिकता हराउन थालेको गुनासो पनि बढ्न थालेको छ । अझ कतिपय महिलाहरु सकि नसकी पानी पनि नखाई पतिको लागि धर्म कमाउने नाममा व्रत बस्दा बिरामी परेर अस्पताल पु¥याउन परेको अवस्था पनि छ । तसर्थ, हाम्रा विभिन्न चाडपर्वहरुको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व जति छ, त्यत्तिकै मात्रामा विकृती पनि फैलिएकोले अहिलेको यो शिक्षित समाज र राज्यले पनि यसतर्फ ध्यान दिई हामी आफैले पनि यस्ता संस्कारहरुलाई परिमार्जन गर्दै लैजान अत्यन्त जरुरी भैसकेको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies