–सरस्वती मोहोरा
अहिले अभिनेत्री एलिजा गौतमले नाचेको विषय चर्चामा छ । जसमाथि धेरैले टिप्पणी पनि गरेका छन् । सवाल एलिजाले के नाचिन्, कस्तो नाचिन्, त्यो कुन नृत्यको स्टेप हो भन्नेमाथि होइन । त्यो नृत्य श्लील हो कि अश्लिल हो अथवा श्लीलता र अश्लिलताको मानक के हो भन्ने कुरा पनि होइन । सवाल के हो भने महिला मुक्तिको पक्षमा जुन वर्गको महिलाहरू र विचारको वकालत गरिँदैछ, त्यो गलत छ । स्त्री स्वतन्त्रताको नाममा जस्तोसुकै छाडा र अराजकतावादी, त्यो महिलाको हकमा मात्रै होइन पुरूषको हकमा पनि त्यो त्यति नै छाडा र अराजकतावादी नै हो । त्यस्तो छाडा पूँजीवादी अराजकतावादी स्वतन्त्रताको वकालत कसैले गर्छ भने त्यसमा कुनै आपत्ति छैन तर, त्यो क्रान्तिकारी, विद्रोही, महिलामुक्ति होइन । त्यो पूँजीवादी अराजकतावादी नारीवादी विद्रोह हो भन्ने कुरामा चाहिँ स्पष्ट हुनुपर्छ ।
पुरूषले सिगरेट खान्छन्, त्यसकारण महिलाले पनि खान पाउनुपर्छ ! वा खाए के हुन्छ ? अथवा पुरूषले गलत काम गर्दा त्यसको विरोध होइन कि महिलाले पनि त्यस्तै गर्न पाउनुपर्छ वा गरे के हुन्छ ? भन्ने तर्क चाहिँ नारीवादको हो । महिला मुक्तिको कुरा चाहिँ महिलाले मात्रै होइन पुरुषले पनि सिगरेट खानु वा धुम्रपान गर्नु गलत हो भन्ने हो । अझ त्यस्तो खाले भौतिक परिस्थितिलाई नै निरूत्साहित गर्नुपर्छ भन्ने कुरा चाहिँ महिला मुक्तिको हो । महिला मुक्ति र स्वतन्त्रताको गलत अर्थ लगाएर पुरूषसित प्रतिस्पर्धा अझ धेरैजसो त गलत कुरामा प्रतिस्पर्धा गर्ने गरेर महिला मुक्त हुन्छ भनेर सजिलो र सतही सोच नारीवादले राख्नसक्छ । नारीवादको लागि पितृसत्ताको विरोध भनेको पुरूषको विरोध मात्रै हो, त्यसमा पनि घरभित्र र परिवारभित्रका पुरुषहरूसितको विद्रोह हो ।
रूसी क्रान्तिकी नेतृ अलेक्जन्डर कोलोन्टाईले नारीवाद र महिलामुक्तिको दृष्टिकोणको फरक देखाउने क्रममा उल्लेख गरेका चर्चित प्रसंगलाई यता पनि राख्न सकिन्छ– नारीवादलाई घरभित्रका पुरुषहरू, बाउ, लोग्ने, दाई र भाईको बराबरी हुनु छ । श्रमजीवि महिलाहरूलाई भने मालिकको बराबर हुनु छ । अथवा दासत्व प्रणालीबाट नै मुक्ति पाउनु छ । यसरी राजनैतिक चेतनाका रूपमा नारीवादको विद्रोह चेतको दुरगामीता भनेको पारिवारिक व्यवस्थाप्रतिको असन्तुष्टि र विद्रोहसम्म मात्रै सिमित देखिन्छ । यद्यपि, पारिवारिक व्यवस्था केमा टिकेको छ र कुन राजनैतिक प्रणाली र उत्पादन सम्बन्धले त्यसलाई टिकाइ राखेको छ भन्ने प्रश्नमा नारीवादको कुनै चासो र चिन्ता देखिँदैन । त्यसो र यी पितृसत्ताको कुरा त गर्छन् तर, पितृसत्तालाई परिवार, समाज र राज्यमा टिकाइराख्ने र टिकाउने उत्पादनका साधनमाथिको नीजि स्वामित्व वा त्यस्तो अर्थराजनैतिक प्रणाली वा उत्पादन सम्बन्धको ती विरोध गर्दैनन् ।
त्यसोभए पुरानो व्यवस्थाविरूद्ध नयाँ उत्पादन सम्बन्ध वा राजनीतिक प्रणालीको पक्षमा के एलिजाहरूले विद्रोह गरेका हुन् त ? विद्रोह गरेको होइन भने सम्पन्न र सम्भ्रान्त मध्यमवर्गीय र अभिजातीय महिलाहरूको वर्ग र विचारको प्रतिनिधित्व गर्ने एलिजाहरूले नाचोस्, गाओस्, खावोस् जे नै गरोस्, के भनेर महिला मुक्तिका सरोकारवालाहरूले समर्थन गर्ने त ? पुँजीवादी छाडा उपभोक्तावादका हिमायती पुरूष हुन्, चाहे ती महिला हुन्, वर्गको हकमा र विचारको हकमा तिनीहरूलाई कसरी समर्थन गर्न सकिन्छ ? नारीवादको हकमा त्यो समर्थन ठिक हुनसक्ला । पूँजीवादी उपभोक्तावादको हकमा पनि त्यो ठिक हुनसक्छ । नारीवाद, पुँजीवाद र पुँजीवादी उपभोक्तावादका विरोधी महिलामुक्ति र मार्क्सवादीहरूको हकमा एलिजाहरूलाई समर्थन कुन दृष्टिकोण र वर्ग विचारको आधारमा गर्न सकिन्छ ? नारीमुक्ति वर्गमुक्तिको सवाल हो भने कुन वर्ग र विचारको आधारमा एलिजाहरूको समर्थन गर्न सकिन्छ ? यो तर्कको लागि तर्क गर्ने अथवा बिद्वता प्रदर्शन गर्ने वितण्डावादी अर्थमा शास्त्रीय प्रश्न होइन । यो मार्क्सवाद र महिला मुक्तिको आधारभूत दृष्टिकोणसित जोडिएको आधारभुत प्रश्न हो ।
मार्क्सवादी विचारबाट प्रभावित महिलामुक्तिका हिमायती भन्नेहरूको अहिले कतिपय तर्कहरू गज्जबको देखिएको छ । जस्तैः पुरुषले गर्दा हुने महिलाले गर्दा किन नहुने ? अथवा खराब काम पुरूषले गर्दा हुने, महिलाले गर्दा किन नहुने ? पुँजीवादी, अराजकतावादी र नारीवादी तर्कहरू र एलिजाहरू जस्ता महिलाहरूलाई महिला भएकैले समर्थन गर्नुपर्ने÷गरिनुपर्ने जस्ता तर्कहरू, ती पनि नितान्तः नारीवादी तर्क नै हुन् । यस्ता तर्कबाजहरूसित यदि तपाईं महिलामुक्ति र श्रमजीवि महिलाहरूको दैनिकी जोडिएको जीवनशैली र व्यवहारको हकमा विचार र सिद्धान्तको कुरा गर्नुहुन्छ भने आफ्ना सुविधाअनुसार ती बोल्ने गर्दछन् ः खाने र लाउने विषय सामान्य विषय हो र यस्ता विषय अलिकति पनि सैद्धान्तिक विषय नभएको र कत्ति पनि सैद्धान्तिक विषयसित नजोडिएको भन्ने तर्क गर्छन् । तथापि, अहिले फेरि एलिजाहरू जस्ता सम्पन्न सम्भ्रान्त मध्यम वर्गीय र अभिजातीय महिलाहरूको वर्ग र विचारको पक्षमा महिलाहरूले खान लाउन पनि नपाउने, नाँच्न पनि नपाउने हुन्छ र ? यस्तो किसिमको सोच सामन्ती संकीर्ण जडवादी सोच हो भन्दै सैद्धान्तिक प्रश्न नै तेर्साई रहेका देखिन्छन् ।
यसरी पुँजीवादसँग जोडिएको नारीवादी आफ्नो सुविधाअनुसार अभिजातीय र सम्भ्रान्त महिलाहरुको वर्ग र विचारको पक्षमा विकृत पूँजीवाद र छाडा उपभोक्तावादसमेतको समर्थन गर्छन् । उनीहरु त्यसको विरोध गर्नेहरूलाई सामन्ती, संकीर्ण जडवादीलगायतको आरोप पनि लाउँछन् । उनीहरुको तर्क ः समय बदलिसकेको तर, अहिलेसम्म पनि सामन्ती जडताबाट बाहिर निस्कन नसकेको भन्ने रहन्छन् । ती आफुले भने स्त्री स्वतन्त्रताको नाममा र महिला भएकैले एलिजाहरूको समर्थन गर्नुपर्ने जस्ता नारीवादी तर्कहरू स्पष्टरूपले राख्छन् । यसरी स्पष्ट रूपले भन्नुपर्दा नारीवादी महिलामुक्तिका हिमायतीहरूले नारीवादलाई समर्थन गरेर अन्ततः नारीवादको मुल वैचारिकी पूँजीवादको विचार र प्रणालीकै वकालत र समर्थन गर्छन् । यसरी नारीवाद जस्तै नेपाली परिप्रेक्ष्यमा अहिले देखिएको नारीवादकै नयाँ रूप नारीवादी महिलामुक्तिका हिमायतीहरूको विशेषता पनि स्त्रीमुक्तिभन्दा बढी स्त्री स्वतन्त्रता (सारमा अभिजातीय र सम्भ्रान्त मिडिल कलास् महिलाहरूको पक्षमा पुँजीवादी स्वतन्त्रता)को वकालत गर्नु बढी हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । नयाँ रूप/रंग, कलेवर, गेट्अप र फ्लेवरका साथ नयाँ रूपमा देखिएको नारीवादीले मुख्य समस्या पूँजीवाद भएकोले पुँजीवाद र पूँजीवादी प्रणालीको विरोध नगरी बचेखुचेको सामन्तवाद र सामन्ती अवशेषहरूको पनि विरोध सम्भव नहुने कुरा बुझ्दैनन् । सामन्तवादी अवशेष फोशिल्सलाई समेत भेन्टिलेटरमा राखेर जिवित तुल्याइ अझ आफ्नो पनि भएभरको बल र कहर वर्षाएर श्रमजीवि वर्ग, श्रमजीवि महिलालगायत आम महिलाहरूमाथि शोषण गर्ने पूँजीवादको सुधारवादी तरिकाले मात्र विरोध गर्ने नारीवादद्धारा अबका दिनमा महिलामुक्ति सम्भव नहुने कुरा बुझ्नुपर्ने हुँदैछ । सामन्तीलगायत पुँजीवादी सारा शोषण, विकृति, अपसंस्कृतिको जड पुँजीवादी शोषणप्रणालीको सचेतरूपले विरोध गर्ने महिलामुक्तिको विचारले मात्र महिलामुक्ति सम्भव हुनसक्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies