आमनिर्वाचन नजिकिएसँगै दलहरुबीच मात्रै नभएर दलभित्रै पनि आन्तरिक प्रतिश्पर्धा चर्किएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भन्दा सत्तारुढ गठबन्धनभित्र आन्तरिक प्रतिश्पर्धा चर्को देखिन्छ । गठबन्धन भएकाले चुनाव जितिने आँकलनका कारणले पनि उम्मेद्वारका आकांक्षी संख्या धेरै देखिनु स्वभाविक हो । अघिल्लोपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता बलिया शक्तिहरुबीच गठबन्धन हुँदा नेपाली कांग्रेसका बलिया उम्मेद्वारहरु समेत पराजित भएका थिए । प्रधानमन्त्रीका उम्मेद्वार रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वामगठबन्धनका औसत उम्मेद्वारबाट पराजित भए । अरु शीर्ष नेताहरु पनि वाम गठबन्धनसँग पराजित भए । तर वाम गठबन्धनतर्फ भने औसत उम्मेद्वारले जिते । यसपटक गठबन्धन अझ ठूलो भएकाले उम्मेद्वारका आकांक्षी धेरै देखिएको छ ।
गठबन्धनभित्रै धेरै भन्दा धेरै सिट संख्या लिने होडमा सत्तारुढ दलहरु देखिन्छन् । कांग्रेस सकेसम्म एकल बहुमत पु¥याउने चाहनामा छ भने गठबन्धनकै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा पनि सकेसम्म धेरै सिट लिन चाहन्छ । त्यसो हुँदा गठबन्धनभित्र सिट भागबण्डा मिल्न सकिरहेको छैन । प्रतिपक्षी एमालेमा केही सजिलो छ । एमाले, गठबन्धन भन्दा पनि सत्तारुढ दलहरुभित्रै आन्तरिक प्रतिश्पर्धा चर्को देखिएको छ । त्यसले एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउन समेत पछि नपर्ने अवस्था देखिन्छ । चुनावमा सामान्य आरोप–प्रत्यारोप स्वभाविक कुरा हो । तर स्वतन्त्र उम्मेद्वारी दिन चाहनेहरुबीच पनि प्रतिश्पर्धा देखिएको छ । स्वतन्त्र र दलगत मतभेद पनि कतिपय अवस्थामा देखिएको छ ।
आमनिर्वाचनमा जनताको मन जित्नेगरी प्रतिश्पर्धा देखिनु लोकतन्त्रको सुन्दर पक्ष हो । किनकि धेरै भन्दा धेरै जनताको मन जित्न सक्ने व्यक्तिले जित्नु लोकतान्त्रिक अभ्यास हो । त्यसैले जनताको मन जित्नेगरी प्रतिश्पर्धा हुनुलाई सकारात्मक मान्नुपर्छ । तर जनताको मत र मन भन्दा पनि अर्थोक विषयलाई आधार मानिनु लोकतन्त्रको कमजोर पक्ष हो । अहिले जसरी शीर्ष नेता, गठबन्धनका नेता र अन्य दलका नेतालाई हिलो छ्यापेर आफूलाई श्रेष्ठ बनाउने प्रतिश्पर्धा चलिरहेको छ, यो लोकतान्त्रिक मर्यादाको कुरा होइन । यस्तो अस्वस्थ्य प्रतिश्पर्धा र आरोपले लोकतान्त्रिक मर्यादित बन्न सक्दैन । लोकतन्त्रलाई बलियो बनाउन यस्ता गलत प्रवृत्ति सच्याउन जरुरी छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies