सरकार, राजनीतिक दल र निर्वाचन आयोगले आमनिर्वाचनको तयारी अगाडि बढाएका छन् । सरकारले शान्ति सुरक्षा, आवश्यक बजेट जस्ता काम अगाडि बढाएको छ । सुरक्षा निकायले चुनावका लागि म्यादी प्रहरी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । आवश्यक बजेटको प्रबन्ध सरकारले सुनिश्चित गरेको छ । निर्वाचन आयोगले दल दर्ता, मतदाता नामावली टुंग्याउने, आचारसंहिताको कार्यविधि लगायत काम अगाडि बढाएको छ । आयोगको तयारी सरकारले चुनाव घोषणा गर्नअघि नै थालिसकेको थियो । मतदाता नामावली अद्यावधिक लगायत काम गरिरहेको थियो । गएको ३० वैशाखमा स्थानीय चुनाव सम्पन्न भएकाले पनि मतदाताबारे आयोगले धेरै काम गर्नु परेन । तसर्थ सरकार र आयोगले चुनावको तयारीलाई तीव्र पारेको छ, निर्धारित मितिमै चुनाव हुनेमा शंका हुने अवस्था छैन ।
चुनावको महत्वपूर्ण निकाय हो, राजनीतिक दल । दलहरुले पनि आफूलाई सम्पूर्ण रुपले चुनावमा होमेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेद्वारको मापदण्डबारे निर्णय गरिसकेको छ । सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबाट आमनिर्वाचनमा उम्मेद्वार हुने व्यक्तिको मापदण्डबारे निर्णय गरेको छ । निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरिसकेको छ । सत्ता पक्षले पनि चुनावमा केन्द्रीत गरेको छ । स्थानीय चुनावजस्तै आमनिर्वाचनमा पनि गठबन्धन गर्ने गृहकार्यलाई सत्तारुढ दलहरुले प्राथमिकतामा राखेको छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट केन्द्रीत छलफल गरिरहेका छन् ।
केन्द्रमा चुनावको तयारी भइरहँदा स्थानीय तहमा पनि चुनाव लागिसकेको छ । कतिपय दलहरुको सम्बन्धित कमिटीबाट उम्मेद्वार सिफारिस प्रक्रिया शुरु भएको छ । विशेषगरी सत्तारुढ जसपा र एकीकृत समाजवादीमा यो प्रक्रियाले तीव्रता पाएको देखिन्छ । तर जति सिफारिसका समाचार सार्वजनिक भएका छन्, त्यो हेर्दा एउटा गम्भीर प्रश्न भने उठ्छ– फेरि पनि चुनाव जित्नुपर्नेले नभएर जित्ने व्यक्ति सिफारिस भइरहेका छन् । यसले सवैभन्दा ठूलो अन्याय महिलामाथि हुने गरेको छ । प्रत्यक्ष निर्वाचनमा पुरुषको मात्रै सिफारिस भएपछि उम्मेद्वार पनि उनीहरु मात्रै हुने भए । जबकी संविधानको भावना भने लैंगिक समानता कायम गर्ने हो । त्यसैले उम्मेद्वार सिफारिस गर्दा नै हरेक दलका सम्बन्धित कमिटीबाट संविधानको भावना बमोजिम कदम चालिनु आवश्यक हुन्छ । जुन प्रयत्न भएको देखिदैन ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies