काठमाडौं : एकीकृत वैदैशिक रोजगार व्यवसायी संगठन नेपालले प्रमुख सात विषयमा वैदैशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक उमाकान्त आचार्यको ध्यानाकर्षण गराएको छ । सोमबार महानिर्देशक आचार्यलाई विभागको कार्यकक्षमा भेटी कार्यकाल सफलताको बधाई तथा शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगार व्यवसायीले भोगिरहेका समस्याका बारेमा अवगत गराउँदै संगठनले ज्ञापन पत्र बुझाएको छ ।
संगठनले साउदी अरबको रोजगारीमा देखिएको समस्या, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेका समस्या, पूर्व तथा अन्तिम श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण समस्या, सिजनल तथा सर्ट टर्म भिसाका बेथिति, स्वास्थ्य परीक्षण गर्ने मेडिकलको समस्या र अनुचितरूपमा बढाइएको शुल्क वृद्धि र सेवा शुल्क परिमार्जनका विषयमा महानिर्देशक आचार्यको ध्यानाकर्षण गराएकोे हो ।
संगठनले वैदेशिक रोजगारका क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधान हुन नसक्दा निर्वाधरूपमा पेशा व्यवसाय गर्ने वातावरण नभएको अवस्थामा छोटो समयका लागि राम्रो आम्दानी हुने कतार तथा युरोपेली मुलुकबाट नेपाली कामदारका लागि माग भई आइरहेको तर शैक्षिक परामर्शदाता, भाषा सिकाउने ल्यांग्वेज इन्स्टिच्युट, ट्राभल्स एजेन्सी, गैरसरकारी संस्था तथा व्यक्तिहरूले चर्काे रकम असुली गरेर पठाउने तर विदेश पुगेका व्यक्तिहरू अलपत्र परेको अवस्थामा दायित्व नलिने प्रवृत्ति व्यापक बनेकाले अविलम्ब कार्यविधि निर्माण गरी असुरक्षितरूपमा वैदेशिक रोजगारीमा जाने तथा पठाउने प्रवृत्ति रोकिनुपर्ने माग गरेकोे छ ।
जवाफमा महानिर्देशक आचार्यले आफू व्यवसायीहरूले झेल्नुपरेको समस्याहरूमा जानकार रहेको भन्दै सहकार्य र छलफलबाट न्यायोचित समाधान खोज्ने प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगार समस्या मात्रै नभएर अवसर पनि भएकोले यो क्षेत्रमा रहेका समस्याको समाधान हुनुपर्ने पक्षमा आफू रहेको महानिर्देशक आचार्यको भनाइ थियोे ।
संगठनका अध्यक्ष सन्तकुमार लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेकोे थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies