त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेल भाँड्ने प्रयास गरेपछि नेवि संघ र प्रहरीबीच आइतबार झडप भएको छ । झडपमा नेवि संघका दुई कार्यकर्ता र एक प्रहरी घाइते भएका छन् । नेवि संघले गएको २७ असारदेखि त्रिविको विभिन्न कार्यालयमा लगाएको तालाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । तर पत्रकार सम्मेलन भाँड्ने प्रयास गरेपछि अनेरास्ववियु समेत प्रतिवादमा उत्रिएको थियो । नेवि संघले त्रिवि प्रशासनबाटै अनेरास्ववियु परिचालित भएको आरोप लगाएको छ । शान्तिपूर्ण प्रदर्शनमा अनेरास्ववियु उत्रिएपछि अवस्था हिंसात्मक बन्न पुगेको नेवि संघको प्रष्टोक्ति छ । झडपपछि त्रिविले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ । विज्ञप्तिमा महत्वपूर्ण कागजात कब्जाकै प्रयत्न भएको उल्लेख गरिएको छ ।
नेवि संघले यसअघि पनि ताला लगाएको थियो । ताला तोडेर सञ्चालनमा ल्याइएको कार्यालयमा फेरि नेवि संघले अवरोध गरेको छ । यो अवरोध हटाउन भनेर अनेरास्ववियु प्रतिवादमा उत्रने गरेको छ । सरकारको नेतृत्व गरिररहेको नेवि संघ र प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुबीच यसअघि पनि केहीपटक झडप भइसकेको छ । विद्यार्थी संगठनहरुकै विवादका क्रममा त्रिविका प्राध्यापकमाथि आक्रमणका घटना समेत भएका छन् । त्रिविका प्राध्यापक प्रेम चलाउनेमाथि नेवि संघका कार्यकर्ताले आक्रमण गरेका थिए । नेवि संघले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । तर आरोपको खण्डन गरेपनि त्रिवि प्रशासनविरुद्ध लगातार नेवि संघ देखिएको छ । विद्यार्थी संगठनहरुको यस्तो अराजक क्रियाकलापले त्रिवि र मुलुकको शैक्षिक संस्थाहरु नियमित तथा निर्भय बनेर चल्न सकेको छैन ।
जबकी मुलुकको शैक्षिक सुधारको वकालत गर्ने संस्थाका रुपमा विद्यार्थी संगठनहरुले दावी गर्ने गरेका छन् । तर दावी एकातिर र गतिविधि अर्कातिर देखिने गरेको छ । पक्कै पनि विद्यार्थी संगठनहरु राजनीतिक विचारसँग जोडिएका हुन्छन्, हिजो नागरिक तथा राजनीतिक अधिकारका निम्ति यी संगठनहरुको भूमिका महत्वपूर्ण थियो । तर पछिल्लो समय भने विद्यार्थी संगठनहरु बद्नाम बन्दै गएको छ । कतिसम्म भने परीक्षामा चिट चोर्न नदिएको, चन्दा नदिएकोदेखि आफू अनुकुल अध्यापक नराखिएको जस्ता एजेण्डामा यी संगठनहरुको गतिविधि केन्द्रीत भइरहेको छ । यसले विद्यार्थी आन्दोलन बद्नाम मात्रै भइरहेको छैन, मुलुकको शैक्षिक भविष्य समेत अप्ठ्यारोमा देखिन्छ । यसतर्फ सम्बन्धित निकायले गम्भीर भएर सोच्न आवश्यक छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies