काठमाडौं : केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।
नेपालको जितमा ज्ञानेन्द्र मल्ल ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए । रोहित पौडेल १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । नेपालका लागि डेब्यू खेल खेलेका विकेटकिपर अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै आउट भए । साउदका लागि डेब्यू खेल सुखद रह्यो ।
पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी गरे । पवन १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ४२ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ५४ रनको साझेदारी गरे ।
यस्तै आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।
यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies