– शारदा पौडेल ‘निशा’
अफिसको कोठामा फाइलहरूमा अल्मिलिएकी थिएँ । श्रीधर सुब्बा साहेब अँध्यारो अनुहार लगाएर कोठाभित्र आए । मैले उनको अँध्यारो अनुहार लगाएको देखेर सोधेँ– सुब्बा साहेब, के आपत पर्यो हजुरलाई ? अनुहार एक दम उडेको छ तपाईँको ?
उनले अँध्यारो अनुहार बनाउँदै मलाई भने — हाकिम साब, केही दिनको छुट्टी चाहिएको छ । मलाई जसरी पनि घर जानुपर्ने भयो । छुट्टी दिन सक्नुहुन्छ ?
मैले सहज तरिकाले सोधेँ — किन र सुब्बा साहेब ? एक महिना पनि भएको छैन । तपाईं घरमा पुगेर आउनुभएको । होइन अहिले नै जानू पर्ने के त्यस्तो पर्यो र ?
उनले उत्तर दिए — छोरीले आची खाइछ सर ! हाम्रो ईज्जत खोलामा बगाइदिने भइछ । नाक काट्न आँटिछ ।
मलाई के कुरा रहेछ भनेर जान्न मन लाग्यो र पुनः सोधेँ— के गरी र तपाईँकी छोरीले ?
उनले भने— ऊ तल्लोजातसँग बिहे गर्छु भनेर अड्डी लिएर बसेकी छे । उसैको गर्भधारण गरिसकेकी छ रे ! उसैको पाप सल्बलाउन थालेको छ अरे । म गएर त्यो पाप फालिदिनु पर्यो र अर्को कुलघरानको केटा खोजेर बिहे गरिदिनु पर्यो । मलाई यो काम गर्न पक्कै पनि केही दिन लाग्छ होला ।
मैले उनलाई भनेँ— सुब्बा साहेब, तपाईँ यति धेरै पढे लेखेको हुनुहुन्छ । यो सारा दुनियाँ देख्नुभएको हुनुहुन्छ । हजुरले पनि अहिलेको युगमा यस्तो कुरा गर्न सुहाउँछ ? छोरीको रोजाईलाई सहर्ष स्वीकार गर्नुपर्दछ । छोरीको जीवन सफल होस्, छोरी खुशी होस् भन्ने सोच्नुपर्दछ । अहिले आएर त हजुरले छोरीको रोजाईलाई स्वीकार गर्न सक्नुभएन भने झन् अनपढ मेरा बुबा आमाले किन स्वीकार गर्न सक्नुहुन्थ्यो । त्यतिबेला उहाँहरुले ममाथि गरेको व्यवहार ठीक रहेछ । उहाँको सोच ठीक रहेछ भन्ने कल्पना गर्दैछु ।
उनले भावुक मुद्रामा भने, “हजुरमाथि के भएको थियो र ? हजुरको पनि अन्तर्जातिय विवाह हो र ?”
“हजुर हो ।” मेरो उत्तर सुनेर उनी तिल्मिलाउन थाले । अनि भने, “हजुर यति उच्च पदमा हुनुहुन्छ । सम्मानित हुनुहुन्छ । समाजमा हजुरको प्रभाव छ । तर त्यस्तो के भएको थियो र हाकिम साहेब हजुरसँग ?”
उनलाई सम्झाउने हेतुले पनि मेरो अतीत भन्न मन लाग्यो र भनेँ, “मेरो र तपाईँको छोरीको कथा मिल्दोजुल्दो छ सर । यदि सुन्नु हुन्छ भने म भन्नेछु । मेरो कथाले पनि तपाईँलाई छोरीप्रति के गर्ने भनेर सूत्र फेला पर्न सक्छ ।”
सुब्बा साहेबले भने, “हुन्छ भन्नुहोस् न सुन्छु ।”
“हवस् सुन्नुहोस् । १६ वर्षको उमेरका नै मैले हरिलालसँग प्रेम गरेकी थिएँ । ऊ पनि जम्मा १८ वर्षको थियो । ऊ हाम्रो घरमा काम गर्ने हलीदाइको छोरा थियो । उसले मलाई अति माया गर्दथ्यो । मानौँ उसको मुटुभन्दा पनि आगर । त्यही मायाका रन्कामा भनूँ वा बहकाइमा भनूँ । या चढ्दै गरेको उमेरको तृष्णाले भनूँ हामीबीच गहिरो माया बस्न थाल्यो । त्यही मायाको परिणाम स्वरुप हामी यति गहिराइमा डुब्यौँ कि आफैंलाई पत्तै भएन । मायामा मदहोस् भएका थियौँ । यही मदहोसी पनले हामीलाई सहवाससम्म पुर्याएको थियो । यो समाज हाम्रो अनुकुल छैन भन्ने कुरा पनि हाम्रो प्रेमले बिर्साएको थियो । त्यसैले हामी भाग्ने तयारीमा थियौँ । प्रेममा यस्तो हुँदो रहेछ नै । तर, हाम्रो प्रेम एककान दोकान हुँदै समाजभर फैलिएछ । घरमा बा–आमालाई पनि थाहा भएछ ।”
एकछिन मेरो बोली अवरुद्ध भयो । बोल्नै सकिन । आँखा रसिला भए । मन अमिलो भयो । यस्ता अतीतले सबैलाई भावुक बनाउँछ नै । मेरो भावुकतालाई चिर्दै उहाँले भन्नुभयो, “अनि त्यसपछि के भयो त ? बुबाआमाले स्वीकार गर्नुभयो ?”
“नाइँ गर्नुभएन । गरेको भए त यसरी किन भावुक बन्दथेँ र ?”, मैले भनेँ ।
“अनि के भयो भन्नुहोस् न ?”, उहाँले भन्नुभयो ।
“बुबाआमाले थाहा पाएपछि पनि हामीले भेट गर्यौँ । र त्यही रात भाग्ने बाचा गरेर छुट्टिएका थियौँ । भोलिपल्ट बिहान उठेर म हामीले भेट्ने भनेको ठाउँमा गएँ । हरिलाल त्यहाँ थिएन । केहीबेरसम्म कुरेँ ऊ आएन । म हरिलाल बस्ने घरमा गएँ । घरमा कोही पनि थिएनन् । मतलब उसको परिवारै थिएन । पछि थाहा पाएँ कि त्यो परिवारलाई मेरा बाआमाले धाकधम्की देखाएर अर्कै गाउँतिर धपाउनुभएछ । उनीहरुको परिवारलाई खर्चपानी नै दिएर धपाउनुभएको थियो रे भन्ने कुरा पछि थाहा पाएकी थिएँ ।”
“त्यसपछि के गर्नुभयो त ?”, उहाँले उत्सुकतापूर्वक सोध्नुभयो ।
“त्यसपछि म रोएँ । कराएँ । चिच्याएँ । ऊ बिना बाँच्न सक्दिन भनेर बिलाप गरेँ । बुबा–आमालाई हात जोडेर बिन्ती गरेँ । मेरो पेटभित्र हरिलालको बच्चा खेल्न थालेको थियो । त्यस्तो बेलामा ऊ बिना म कसरी बाँच्न सक्थेँ र आफैँ सोच्नुहोस् त ।” भन्दै एकछिन रोकिएँ ।
“हुन त अहिले हजुरले भनेको सुन्दा ठीकै लाग्यो । किनकि त्यतिबेलाको अशिक्षित समाज कति क्रुर थियो । त्यहीँमाथि मेरा अनपढ बुबा–आमाले कसरी सहन गर्न सक्नुहुन्थ्यो र ?रुँदै मेरा दिन बितिरहेका थिए । त्यसैबीच एक दिन आमाले मलाई भन्नुभयो, “छोरी उमेर छँदै बिहे गर्नुपर्छ । उमेर गएसी बूढी भन्छन् । र बिहे गर्न पनि गाह्रो हुन्छ । छोरीको बिहे गर्न सकेनन् भनेर गाउँलेले कुरा काट्छन् । हामीलाई पनि चिन्ता हुन्छ । त्यसैले राम्रो घरबाट कुरा आएको छ । केटो राम्रो छ । जागिर पनि खाएको छ । आखिर छोरीको जात एकदिन पराइको घर जानै पर्छ ।” आमाको कुरा सुनेपछि मलाई रिंगटा लाग्यो । संसार नै एकनासले घुमिरहे जस्तो लाग्यो । त्यसैले मैले भनेँ, “अहिले बिहे गर्दिन आमा । धेरै पढेर आफ्नै खुट्टामा उभिएर स्वतन्त्र जीवन जिउन चाहन्छु ।” “अब नगरे कहिले गर्ने हो त ? कि बूढीकन्या बस्ने विचार छ र ?” उल्टै प्रश्न गर्नु भयो । आमाले प्रयोग गर्नुभएको बुढिकन्या शब्द नमिठो लाग्यो । वास्तवमा म कसैकी भइसकेकी थिएँ । त्यसैले आमालाई तत्कालै जवाफ दिएँ — आमा, म बूढिकन्या होइन । मेरो पेटभित्र हरिलालको बच्चा हुर्किँदैछ । मेरो कुरा सुनेर आमा आगो हुनुभयो । उहाँको संसारमा पहाड खस्यो । उहाँको नाकमा दाग लाग्यो । ईज्जत खान्दान सबका सब चौपट भयो ।”
एकछिन पुनः रोकिएँ र फेरि भनेँ । “त्यसपछि आमाले मलाई फकाउँदै भन्नुभयो, “छोरी, त्यो कुजातको गर्भ फालिदेऊ । कसैलाई पनि थाहा नदेऊ । हामी भोलि नै सहर गएर गर्भपतन गराउनुपर्छ र केही महिनापछि बिहे गर्नुपर्छ । बिहेको कुरा आएकै छ । केटो राम्रो छ । त्यसैसँग तेरो बिहे गर्नु पर्छ । हामीले यो कुरा गुपचुप राख्नुपर्छ, बुझिस् ।” आमाका कुरा सुनेपछि मैले भनेँ, “आमा, म गर्भपतन गराउँदिन । यो निर्पराधी भ्रुणको हत्या गर्दिन । यो बच्चाको के दोष छ र ? हरिलाललाई हजुरहरुले जहाँ लखटेपनि म उसको प्रेमको चिनोलाई मेरैसाथ राख्नेछु । बिहे नगरीकन यसैलाई पाल्नेछु ।” मेरा कुरा सुनेपछि आमा आगो हुँदै भन्नुभयो, “तैंले गर्भपतन गरिनस् र बिहे गरिनस् भने यो घरमा बस्न पाउँदिनस् ।”
श्रीधर सुनिरहेका थिए । मैंले फेरि घटनालाई जोडेँ । “मैले बिहेपछि लोग्नेमान्छेसँग भोग्नु परेका कष्टकर समय देखेकी थिएँ सुनेकी थिएँ । आफूले भोगेका कष्टकर समय आमाहरुले सहज रुपमा बिर्सन्छन् । र आफ्नै छोरीलाई बिहेको लागि दबाब दिन्छन् । मेरा मनभरि यस्तै प्रश्नहरु उब्जिरहेका थिए । आमा चुप बस्नु भएको थियो । मलाई बिहे गर्नुथिएन तैपनि मैले आमालाई भनेँ, “आमा हजुरलाई एउटा कुरा सोधौँ ?”, “हुन्छ सोध के सोध्न मन लागेको छ ।” आमा रीसले चूर हुँदै भन्नु भयो । आमाको अनुमति पाएपछि सोधेँ, “हजुरले बिहे गरेर कहिल्यै सुख, शान्ति, स्वतन्त्रता र आफ्नो हकअधिकार जस्ता कुराहरु पाउनु भयो ?”, “पाएकी छु, देखिनस् के कति पाएँ । तँलाई र तेरो भाइलाई पाएँ । घरव् यवहार हेरेँ । तेरा बाबुको कहर काटेँ ।” आमाले एक श्वासमा भन्नु भयो । त्यो बेलामा मैले सोचेँ । कठै ! मेरी आमा बिहे गरेर छोराछोरी जन्माउनु नै सफल जीवन ठान्नु हुन्छ । हुर्केपछि बिहे गर्यो, लोग्नेलाई देवता मान्यो । सधैँभर उसैको चरणकमलमा पर्यो । आज्ञाकारी भयो । जे भन्छ त्यही मान्यो । गाली गरोस् अथवा चुटोस् सहेर बस्यो । उसको मनोरथ पुरा गर्यो । गर्भ बोक्यो । छोराछोरी जन्मायो । उनैलाई हुर्कायो । बिहेदान गर्यो । नातिनातिना भन्यो घोटियो । काम गर्दागर्दै शरीर रोगी बनायो । मेरा मनमा यस्तै जिज्ञाशाहरू खेल्न थाले । के आमाको जस्तो जीवन नै आदर्श जीवन हो त ? बिहे गर्ने, बोक्ने र ब्याउनेभित्र नै जीवनको सार लुकेको हुन्छ त ? कुनै छोरी मान्छेले बिहे नगरिकन बस्दा फेरि यो समाजलाई के को आपत्ति पर्ने रहेछ ? कसैले बिहे गर्न नचाहनुमा समाजको के को टाउको दुखाइ ? थोत्रा गाला बजाएर कुरा काट्नलाई किन अग्रसर ? अनि मैले आमालाई भनेँ, “बिहे नगरिकन बस्छु म आमा । हेर्छु म पनि । के–के भन्दो रहेछ समाजले ? गर्दिनँ बिहे सिहे । हरिलालको बच्चा जन्माएर यही समाजमा बस्छु । मान्दिन कुनै लोग्नेमान्छेको जातलाई देवताको स्वरुप । के छोरी मान्छे यहाँ स्वतन्त्र भएर बाँच्न नपाउनु ?” मेरा कुराले आमा एक दम उदाश हुनु भयो । अनि भन्नु भयो, “त्यो कुजातको गर्भ फाल्नै पर्छ छोरी । अनि आइमाईको जीवनमा एउटा लोग्नेमान्छे चाहिन्छ नै । समाज ईज्जत प्रतिष्ठा माटोमा नमिला छोरी । बिन्ती छ ।” एउटा लोग्नेमान्छे चाहिने कुरा गरेपछि मलाई एक दम रिस उठ्यो । अनि मैले आमालाई भनेँ, “भो आमा मलाई लोग्नेमान्छेका कुरा नसुनाउनु । महिलालाई बलात्कार गर्ने पनि लोग्नेमान्छे हुन् । महिला बलात्कृत भई भने पनि उसैको खेदो खन्ने लोग्ने मान्छे हुन् । घरभरि छोराछोरी छन् हट्टाकट्टा रुपले भरिपूर्ण श्रीमती छ भने पनि बाहिर केटी ताक्दै हिँड्ने लोग्ने मान्छे हुन् । मेरो प्रेमलाई डाँडा कटाउने पनि मेरै बुबा लोग्नेमान्छे हुन् । के सोच्छ यो लोग्ने मान्छेको जातले आफूलाई ? आईमाईलाई किन खेलौना सम्झन्छ र फेरि फेरि जतिखेर पायो उतिखेर खेल्न चाहन्छ ? म गर्दिनँ बिहे । र फाल्दिनँ यो गर्भ पनि ।”मेरो कुरा सुनेर आमा छक्क पर्नु भयो । समस्या झन् चर्कँदै थियो ।”
मैंले श्रीधरसमक्ष विगत खोलिरहेकी थिएँ । उनी एक टकले मेरा कुराहरु सुनिरहेका थिए । मैंले विगतलाई भन्दै गएँ । “आमासँग कुरा खोलेपछि घरमा बेग्लै माहोल बन्यो । रात पर्यो । मलाई निद आइरहेको थिएन । मनमा कुराहरू खेलिरहेका थिए । बुबाआमाको कोठाबाट आवाज आइरहेको थियो । आमा भन्दै हुनुहुन्थ्यो, “के गर्ने नानीका बा ? यो छोरीले त आची खाइसकिछ । त्यो हरिलालेको बच्चा छरे त्यसको पेटमा । हामीले त यसो मायापिरति मात्र होला भन्ठानेका थियौँ । माया गहिरो हुन नदिनको लागि उनीहरूको परिवारैलाई डाँडा कटायौँ । तर अब के गर्ने ? त्यो पेटको बच्चा पो घाँडो हुनेभयो । गर्भपतन गराऊँ भनेर कति सम्झाएँ । मान्दै मान्दिन । अब पो के गर्ने होला ?” बुबा एक छिन् चुप लाग्नु भयो । म साउती मारेर सुनिरहेकी थिएँ । एक छिनपछि बुबा सुस्तरी बोल्नु भयो, “चुपचाप बस्नुपर्छ । त्यसले फकाएर मान्दिन भने जबर्जस्ती अस्पताल पुर्याएर पनि त्यसको त्यो भ्रूण फाल्नुपर्छ । तर यसको छनक त्यसलाई दिन हुँदैन है । आजैदेखि त्यसको कोठामा भोटे चाल्चा मार्नुपर्छ ।” आमाबुबाको कुरा सुनेर मेरो मनमा भूइँचालो गयो । केहीछिन पछि आमा ताल्चा बोकेर मेरो कोठामा आउनु भयो र कर्कश स्वरले भन्नु भयो, “उसबेलादेखि यहीँ बसेर के गरेकी छस् ?”, अनि मैले पनि चाल चलेँ र भनेँ, “आमा, मैले खुव सोचेँ । मलाई आफूले गल्ती गरेको महसुस भयो । अब हुजुरहरूले भनेको ठाउँमा गएर गर्भपतन गर्छु र हजुरहरुले नै खोज्नु भएको लोग्ने मान्छेसँग बिहे गर्छु ।” मेरो कुरा सुनेर आमाले सन्तोषको श्वास फेर्नु भयो । बुबालाई पनि बोलाएर मेरा कुरा सुनाउनु भयो । बुबा पनि खुसी हुनुभयो । अनि मेरो कोठामा ताला लागेन । बुबा–आमा बाहिरिएपछि मेरा मनमा हुँडरी पस्यो । मसँग हरिलालको प्रेमको निसानी थियो । म उसलाई मार्ने पक्षमा थिइनँ । भ्रुणको के गल्ती थियो र ? यो भ्रुणलाई मैले जन्म दिनैपर्छ र यसले धर्तीमा स्वतन्त्रतासँग बाँच्न पाउनुपर्छ सोचेँ ।”
यति भनिसक्दा मेरा आँखा आँसुले टिलपपल भएका थिए । हरिलालको चोखो माया सम्झेर मन छियाछिया भएको थियो । एकछिन रोकिँदै फेरि भन्न थालेँ ।
“हेर्नुहोस् सर, त्यसपछि मैले एउटा झोलामा आफ्ना कपडा हालेँ । र अलिकति पैसा आमाको आल्मारीबाट चोरेँ । बिरालाको चालमा ढोका खोलेँ । ढोकालाई सुस्तरी ढप्क्याएँ र बाहिर निस्केँ । बिहानको ३ बजेको थियो । कुकुरहरू भुकिरहेका थिए । निकै अँध्यारो थियो । म मूलबाटो जान छोडेर कान्लैकान्ला उँघो झरेकी थिएँ । काठमाडौँ जाने बस भेट्न मेरा घरबाट कुद्दा पनि ३ घण्टा लाग्थ्यो । तर, म यसरी बतासिएकी थिएँ कि २ घण्टामा पुगेँ । काठमाडौँ जाने बस लागिरहेको रहेछ । टिकट काटेर म खुरुक्क बसभित्र पसेँ । सर अहिले तपाईँ मेरो जुन छोरा देख्नुभएको छ नि त्यो हरिलालको निशानी हो । हरिलालको मायारुपी सौगात हो । हरिलाल र मेरो प्रेम कहानीको दस्तावेज हो ।”
“अनि बाबुको बुवा हरिलाल नै हुनुहुन्छ त ?”, श्रीधर सरले सोध्नुभयो ।
“होइन सर, जुन बाबुको बुवा भनेर चिन्नुहुन्छ नि त्यो व्यक्ति हरिलाल होइन । मेरो यो लोग्ने पहिला इँटाभट्टामा काम गर्नुहुन्थ्यो । म भागेर काठमाडौं आएको कुरा त हजुरलाई भनिसकेँ । त्यसरी आउँदा कति दुःख पाएँ, अहिले हजुरलाई बताउन पनि सक्दिन । त्यही दुःखको बेलामा यिनीसँग भेट भयो । मेरो दुःखमा साथ दिने साथी बने । दुःखमा साथ दिने क्रममा केही अगाडि बढियो । दुवै पक्षले आफ्ना सबैकुरा खुलस्त राख्यौँ । दुवैको कुरा दुवैलाई मनासिब लाग्यो र बिहे गर्यौं । त्यसपछि हामी मिलेर काम गर्न थाल्यौँ । केही आम्दानी गर्यौं । पढ्यौँ, पढायौँ । हजुरलाई थाहा नै छ मेरो लोग्ने पनि सरकारी कार्यालयको हाकिम हुनुहुन्छ । सर जीवनमा के–के भोगिएन होला र ? जे जति भोगे पनि अहिले हामी हाम्रो ठाउँमा ठीक छौँ । जिन्दगीका कान्लाहरु चढ्दाचढ्दै पेटमा बच्चा लिएर एक्लै भाग्दा ओर्लेका कान्लाहरु बिर्सन थालिएछ । तर पनि दौडमा भोगेका कहरहरू भने ताजा छन् । अहिले पनि लाग्दछ, मेरो त्यो अवस्थामा मेरा आमा–बुबाले केही सहयोग गरेको भए पनि हुन्थ्यो । केही गर्नुभएन । उहाँहरुले हाम्रो लागि मरिसकी भन्नुहुन्थ्यो । नानाथरीका गाली गलौज गर्नुहुन्थ्यो । मलाई कसैले न कसैले सुनाउँथे । म सुन्थेँ र मनमनै भगवानसँग यही पुकार गर्थेँ कि बुढेसकालमा मैले नै उहाँहरुलाई पाल्न परोस् । म खुशीसाथ पाल्नेछु । सर, हजुरले मेरा घरमा जुन बूढा–बूढी देख्नुहुन्छ नि ती मेरा बुबा–आमा हुन् । अहिले बुबा–आमाको आँखामा पश्चातापको ज्वाला दन्केको देख्छु । त्यसैले सर हजुरलाई पनि भोलि पश्चाताप नपरोस् । छोरीको रोजाईलाई खुशीसाथ स्वीकार गर्नुहोस् र छोरीलाई साथ दिनुहोस् । जानुहोस् घरमा र छोरीको बिहेको तयारी गर्नुहोस् । हजुरलाई कतिदिन बिदा चाहिन्छ म स्वीकृत गरिदिन्छु ।”
मेरा कहरका कथा सुनेर श्रीधरका आँखा रसाएका थिए । रसाएका आँखालाई रुमालको छेउले पुछ्दै उनले भने, “हाकिम साब, हजुरले मेरो आँखा खोलिदिनु भयो । अब म घर जान्छु र हजुरले भने जस्तै गरेर छोरीको रोजाईमा खुशी हुँदै बिहेको तयारी गर्दछु । हाम्रो कारणले कहिले पनि हाम्री छोरी दुःखी हुन नपरोस् ।”
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies