– शोभा शाह
१.
बाउको नाङ्गो खुट्टा ढुङ्गाले बारबार काटेपछि
त्यो एउटै चोली आमाको दस ठाउँमा फाटेपछि
तातो बालुवा खान बाध्य भएँ म खाडी छिरेर
श्रीमतीले भोको पेट मर्छु भनि डोरी बाटेपछि ।।
२.
परदेशीन बाध्य भएँ मुटु गाउँमा राखेर
भाइ बहिनी फकाई फुल्याई ठाउँमा राखेर
गर्नु थियो ठूलै उपचार रोगी बृद्धा आमाको
पाखोबारी ऋण बोकी साहुको नाउँमा राखेर ।
३.
बालखैदेखि थाप्लोमा नाम्लो भारी छुटेन कहिल्यै
पीडा लुक्यो आँशु लुक्यो तर, दुःख लुकेन कहिल्यै
भाग्य कमजोर भएपनि बलियो रैछ खप्पर
क्विन्टल भारी बोक्दा पनि यो शिर दुखेन कहिले ।।
४.
दुःखको अन्धकारमा प्रियको साथ नै जून तारा हुन्छ
प्रेमजल बगाउने मनमा मायाको अमृत धारा हुन्छ
जति सन्तान जन्मेपनि आखिर मर्ने बेला हुन्न कोही
बुढेसकालमा जोइपोई नै एक अर्काको साहारा हुन्छ ।।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies