काठमाडौं : मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । बुधबार काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राइड पाटनरमा सहारा एप रहेको थियो ।
मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखिया प्रमुख अतिथि थिइन् । कला, साहित्य र गीत–संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको थियो । गीता अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित उनलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यस्तै, सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उनीहरूले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।
सञ्चारकर्मी दीप ज्योति थापाले सहजिकरण गरेको कार्यक्रममा गायिका तथा नायिका सारिका घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विगत १३ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै उनीहरूले समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताइन् । उनले यस कार्यक्रममा सहयोग पुर्याउनुहुने सबैमा आभार व्यक्त गरेकी थिइन् ।
अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा तीजको दर खानुका साथै दिदी बहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies