जंग रावल/मध्यान्ह
बाजुरा, २९ साउन । विगत पाँच वर्षदेखि ओडारमा बस्दै आएका आमाछोराको प्रहरीले उद्धार गरेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी ५५ वर्षीय जलु बुढा र उनका ६ वर्षको छोरा मिन बुढालाई जनप्रतिनिधि र प्रहरीको टोलीले उद्धार गरेको हो । उनीहरु विगत ५ वर्षदेखि घर नजिकै रहेको ओडारमा बस्दै आएका थिए । ओडारमा बस्दै आएको जानकारी पाए लगतै काँडा प्रहरी चौकीले गत शुक्रबार उनीहरुलाई उद्धार गरेर स्वास्थ्य चौकीमा राखेको छ । स्वास्थ्कर्मीका अनुसार उनीहरु दुबैजना कुपोषीत बनेका छन् ।
ओडारमा बस्दा उनीहरुले पानी घट्टबाट पिठो संकलन गरेर ल्याउने र त्यसैको खोले बनाएर खाँदै गुजारा चलाउने गरेका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनीहरुसँग खानेकुरा र लत्ताकपडाको समेत अभाव रहेको थियो ।
जेठी श्रीमतीबाट छोरा नभएको भन्दै स्थानीय भाने बुढाले जलुदेवीसँग विवाह गरेका थिए । उनीहरुका तीन छोरा छन् । १८ वर्षका जेठा छोरा चक्र रोजगारीका लागि छिमेकी मुलुक भारत गएका छन् । १२ वर्षका छोरा कुशल बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका थिए । उनीहरु बस्ने ओडार घरभन्दा करिब ४०–५० मिटर मात्रै टाढा रहेको छ ।
जेठी श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र आफूसँग पनि कहिलेकाँही झगडा पर्ने गरेकाले घरमा नबस्ने गरेको उनका श्रीमान् भानेले बताए । ‘एउटै छानामुनी बस्न सक्ने अवस्था नभएपछि कान्छी श्रीमतीलाई अलग्गै घर बनाए राखेको थिएँ’ उनले भने । तर उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने गरेकी भाने बुढाको भनाइ छ । मानसिक अवस्था सामान्य नभएको हुँदा घरमा लगेर राख्ने अवस्था नभएको भाने बुढाले बताए ।
खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि शसुरुमा उनी मानेकी थिइनन् । तर प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाए पछि उनी स्वास्थ्य चौकीसम्म जान तयार बनेकी हुन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बालकको सुरक्षाको जिम्मा लिएको छ ।
गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies