-तर्कना शर्मा
२०७७ पुस २५ गतेको एक राष्ट्रिय दैनिक पत्रिकामा मेरो ‘पृथ्वीनारायणका जासुस थिए फेरी जोगी ?’ शीर्षकको लेख प्रकाशित थियो । यो लेख फेरी प्रचलनबारे समाजमा चलेका व्यावहारिक पक्षलाई आधार मानेर लेखिएको हो । त्यसमा दशनामी सम्प्रदाय जोडिन पुगेको कुरा मिथ्या हो भन्ने विज्ञप्ति र खण्डनहरु पढ्दा मलाई लाग्यो, भ्रमको जग समाजभित्र छ ।
हाम्रो समाजमा अधिकांश मानिसलाई नाथ सम्प्रदाय, बाह्रपन्थी, जोगी, सन्यासी र दशनामीको भिन्नतावारे थाह छैन । यहि भेद नबुझेका कारण गलत जनविश्वास समाजमा स्थापित छ ।
नाथ सम्प्रदायका मानिसलाई समाजले नचिनेका कारण आफ्नो परिचय दिँदा गिरी, पुरी, भारती अर्थात् दशनामी जस्तै हौँ भन्न बाध्य छन् । यसले अझै भ्रम सिर्जना भएको छ । नेपालको सरकारी सेवा र प्रहरीमा जागिरे बन्न अप्ठ्यारो परेपछि ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका युवाहरुले जोगी थर नलेखी गिरी लेख्ने गरेको वासुदेवनाथ बताउँछन् । (वासुदेवनाथको ‘के हो नाथ सम्प्रदाय?’ न्युज, कोसेली अनलाइन) । दशनामी भित्रकै पर्वत, आरण्य, सरस्वती आदिले आफ्नो वास्तविक थर नलेखी सजिलोका लागि गिरी लेख्ने गरेका शीतल गिरी बताउँछन् । अधिकांश मानिसहरुले नाथ र सन्यासीलाई एकै बुझ्ने रहेछन् । यसले समाजमा भ्रमको सिर्जना भएको पाइन्छ ।
यसमा कतिपय सामाजिक व्यवहारमा चलेका तर तथ्यहीन कुराहरुलाई लोकले सत्य मानिदिँदा किंवदन्ती नै बनेर जाने खतरा देखियो । समाजको व्यवहारिक पक्षको आधार र मूल्यांकन गरी प्रकाशित मेरो लेखप्रति सरोकारवाला जो जसले प्रतिक्रियागर्नु भयो, वहाँहरु सबैलाई धन्यवाद दिन्छु । उक्त लेखमा गिरी, पुरी आदि दशनामीले फेरी लगाउँछन् भन्ने भ्रामक कुरा प्रकाशित गर्नु मेरो कुनै उद्देश्य होइन र यो तथ्यगत पनि नभएको कुरा महशुस भयो ।
यसबाट मैले आफ्नो भ्रम निराकरण गर्ने अवसर पाएँ । मेरो कुनै पूर्वाग्रह र कसैप्रति आक्षेप गर्ने उद्देश्य नै होइन । तर, समाजभित्र लुकेको भ्रम निराकरण गर्नु विज्ञ, लेखक, सम्बन्धित सम्प्रदाय सबैको उत्तरदायित्व हुन्छ । लोक साहित्यको पहिलो पाठशाला समाज हो । नेपाली समाजमा प्रचलित विश्वास समातेर लेखेको मेरो लेखमार्फत् अन्यथा पर्न गएकोमा माफी चहान्छु ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies