काठमाडौं : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ । मंगलबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।
नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, बसिर अहमदले २/२ विकेट लिँदा करण केसी, दीपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले १ रन लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय मद्दतमा १ सय ७५ रन बनाएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको हो । यो सिरिजकै सर्वाधिक रन हो । रोहित पौडेलले पनि विस्फोटक ब्याटिङ गरे ।
ओपनिङमा आएका मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडे ।
अर्का ओपनर अर्जुन साउदले पनि २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन जोड्दा नेपालले उत्कृष्ट शुरुवात गर्यो । दीपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रन जोडे । दीपेन्द्र आउट भएपछि आएका रोहितले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४७ रन जोडे ।
काठमाडौं : नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए ।
केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । यसअघि भएका चार टी–२० मा दुबै टिमले २–२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।
काठमाडौं : केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।
नेपालको जितमा ज्ञानेन्द्र मल्ल ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए । रोहित पौडेल १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । नेपालका लागि डेब्यू खेल खेलेका विकेटकिपर अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै आउट भए । साउदका लागि डेब्यू खेल सुखद रह्यो ।
पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी गरे । पवन १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ४२ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ५४ रनको साझेदारी गरे ।
यस्तै आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।
यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
मुस्ताङः उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।
समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । ‘यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ’, उनले भन्नुभयो, ‘यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।’
प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बनेका छन् ।
अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत रु १० लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु १० लाख छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिए ।
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिउँसो पौने चार बजे घरेलु टोली केन्याको सामना गर्नेछ घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या एक–एक को अवस्थामा रहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
तर शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
काठमाडौं : रेखा पौडेललाई पुनरागमन गराउदै भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
टिमका मुख्य प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । जसमा रेखाले पुनरामगन गर्दा तीन खेलाडी पहिलो पटक टोलीमा स्थान बनाएका छन् । समिक्षा घिमिरे, देपा शाही र अमिसा कार्की पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।
प्रतियोगिताका लागि समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यस्तै, साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा छन् ।
भदौ २१ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन नेपालले भुटानसंग खेल्नेछ । यस्तै, २७ गते नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षकः हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ ।
दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरुमा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।
क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ ।
असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो ।
यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो ।
त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको थियो ।
भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो ।
सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए ।
फिफाले पूर्ण रुपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो ।
एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआइएफएफको दैनिक गतिबिधीमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।
निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखी ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।
काठमाडौं : केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । सधैंको समस्या कमजोर ब्याटिङका कारण नेपाल केन्यासँग पराजित भएको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनायो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद सुन्य रनमा अविजित रहे । केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए । करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
काठमाडौं : पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो ।
नेपालले तेस्रो खेल १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies