काठमाडौं : पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ ।
मृतकका बुबा जुमन अन्सारीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा. आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन् । फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताए ।
फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा. आसिफ अन्सारीको टोलीले शल्यक्रिया गर्दाको गल्ती नै छोराको मृत्युका कारण भएको अन्सारीको दाबी छ । उनले भने, ‘बाबुको शल्यक्रिया गरेको केही घण्टामा नै दुखाइ शुरु भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक शल्यक्रिया गर्नुभयो ।’
उनले दोस्रो शल्यक्रियापछि छोरालाई भेन्टिलेटरमा राखेको र साउन २९ गते डा. आसिफ अन्सारीले त्यहाँ निको नहुने भनेपछि हेलिकप्टर चार्टर्ड गरेर ललितपुरको मेडिसिटी अस्पताल ल्याएको जानकारी दिए ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा फिरोजको यही भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उहाँले शुरुको उपचारमै गल्ती भएको दाबी गरे । शल्यक्रिया गर्ने बेलामा डाक्टरले तीन वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारको आरोप छ । अस्पताल सञ्चालक डा अब्दुल हैज अन्सारी र शल्यक्रिया गर्ने डा. आसिफ अन्सारीलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाहीको मागसमेत गरिएको छ ।
बैतडीः जिल्लाको सिगास गाउँपालिकामा युवायुवती मृत फेला परेका छन् । गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत फेला परेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जंग रावल/मध्यान्ह
बाजुरा, २९ साउन । विगत पाँच वर्षदेखि ओडारमा बस्दै आएका आमाछोराको प्रहरीले उद्धार गरेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी ५५ वर्षीय जलु बुढा र उनका ६ वर्षको छोरा मिन बुढालाई जनप्रतिनिधि र प्रहरीको टोलीले उद्धार गरेको हो । उनीहरु विगत ५ वर्षदेखि घर नजिकै रहेको ओडारमा बस्दै आएका थिए । ओडारमा बस्दै आएको जानकारी पाए लगतै काँडा प्रहरी चौकीले गत शुक्रबार उनीहरुलाई उद्धार गरेर स्वास्थ्य चौकीमा राखेको छ । स्वास्थ्कर्मीका अनुसार उनीहरु दुबैजना कुपोषीत बनेका छन् ।
ओडारमा बस्दा उनीहरुले पानी घट्टबाट पिठो संकलन गरेर ल्याउने र त्यसैको खोले बनाएर खाँदै गुजारा चलाउने गरेका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनीहरुसँग खानेकुरा र लत्ताकपडाको समेत अभाव रहेको थियो ।
जेठी श्रीमतीबाट छोरा नभएको भन्दै स्थानीय भाने बुढाले जलुदेवीसँग विवाह गरेका थिए । उनीहरुका तीन छोरा छन् । १८ वर्षका जेठा छोरा चक्र रोजगारीका लागि छिमेकी मुलुक भारत गएका छन् । १२ वर्षका छोरा कुशल बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका थिए । उनीहरु बस्ने ओडार घरभन्दा करिब ४०–५० मिटर मात्रै टाढा रहेको छ ।
जेठी श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र आफूसँग पनि कहिलेकाँही झगडा पर्ने गरेकाले घरमा नबस्ने गरेको उनका श्रीमान् भानेले बताए । ‘एउटै छानामुनी बस्न सक्ने अवस्था नभएपछि कान्छी श्रीमतीलाई अलग्गै घर बनाए राखेको थिएँ’ उनले भने । तर उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने गरेकी भाने बुढाको भनाइ छ । मानसिक अवस्था सामान्य नभएको हुँदा घरमा लगेर राख्ने अवस्था नभएको भाने बुढाले बताए ।
खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि शसुरुमा उनी मानेकी थिइनन् । तर प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाए पछि उनी स्वास्थ्य चौकीसम्म जान तयार बनेकी हुन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बालकको सुरक्षाको जिम्मा लिएको छ ।
गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
काठमाडौं : काठमाडौं महानागरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंकाे माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् ।
केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् ।
यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ ।
अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं, २७ साउन । गत जेठ महिनादेखि काठमाडौँमा अनशन बस्दैँ आएकी कुमारी आमा नामले परिचित धनुषाकी निहारिका राजपूतले आत्मदाहको प्रयास गरेकी छिन् । २१ महिनाको बच्चा लिएर आमरण अनशन समेत बसेकी उनले न्याय पाउने सम्भावना नदेखेपछि राष्ट्रपति भवन अगाडि गएर आत्मदाहको प्रयास गरेकी हुन् । तर, उनको प्रयास सफल हुन नदिई नेपाल प्रहरीले उनलाई जोगाएको छ ।
हुनत, उनले आफ्नो न्यायका लागि प्रयास भने नगरेकी होईनन्, अदालत, पुलिस, महिला अधिकारकर्मी देखि उनी कस÷कसकोमा पुगिनन् ? त्यसबाट पनि केही पार नलाग्ने देखेपछि उनले वसन्तपुरमा आमरण अनशन सुरु गरिन् । सो अनशनमा विभिन्न सहमति गराएर गृहमन्त्री बालकृष्ण खाँड र महिला आयोगका पदाधिकारीले होडबाजीमै जुस पिलाए, उनको अनशन तोडियो । तर, ती व्यक्तिहरु आज उनको साथमा छैनन्, न्याय नपाउने निश्चित भएपछि उनले पुन अनशन सुरु गरिन् ।
दोश्रो चरणको अनशन सुरु गरेको आठ दिन बित्यो । तर, नेपाल सरकार र सरोकारवाला निकाय उनलाई न्याय दिलाउनुको सट्टा घटनाबारे बेखबर बनेपछि उनले विवश भएर आत्मदाहको प्रयास गरेकी हुन् । हुनत, उनको माग सरकार बेखवर हुनुपर्ने वा सरकारका विरुद्ध भने छैन । उनले आफूलाई बलात्कार गर्ने पुरुष खुलेआम घुमिरहेकोले आरोपीलाई पक्राउ गरी बच्चासँग डीएनए म्याच गराउनुपर्ने माग राख्दै आएकी छिन् ।
जनकपुर उच्च अदालतमा दिएको पुनरावेदनको पेसी चाँडो तोक्न उनले आग्रह गर्दै आएकी छिन् । तर, उनको मुद्धाको पेसी सरेको सरेकै गरेपछि उनी विवश भएर राज्यलाई दबाव दिन आत्मदाह गर्ने अवस्थामै आईपुगेकी छिन् । तर, यसमा न सरकारले चासो देखाएको छ न त कुनै महिलावादी संस्थाहरुले । तसर्थ पनि उनी न्यायका लागि एक्लै चिच्याउँदै, कराउँदै विभिन्न स्थानमा गएर अनशन बस्दै आएकी छिन् ।
तर, उनलाई कानूनी ज्ञानको अभाव हुँदा भने उनले सुरुमा ती आरोपीलाई श्रीमान भनेकी छिन् । पछि भने ती व्यक्ति श्रीमान नभएर बलात्कारी भएको र निवेदनमा गरिएको हस्ताक्षर फर्जी भएको उनको भनाई छ । उक्त आरोपित व्यक्तिले आफूलाई बेहोस बनाएर बलात्कार गरेको हुँदा बच्चासँग उक्त व्यक्तिको डिएनए टेस्ट गराउनुपर्ने उनको माग छ ।
आफूमाथि भएको अन्यायका विरुद्ध कहिले अनशन बसेर, कहिले धर्ना त कहिले आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतको भविष्यमाथि राज्यले गरेको वेवास्ताले उनको जीवन थप संकटमा पर्नसक्ने सम्भावना देखिएको छ । न्यायको खोजीमा जनकपुर देखि काठमाडौँका गल्ली गल्ली धाईरहेकी निहारिकालाई सरकारले छिटो न्याय दिनुको विकल्प देखिदैँन ।
देबराज पाध्याय/मध्यान्ह
बाजुरा : बाजुराको बडीमालिका नगरपालिका ८ रतुडामा विद्युत सर्ट भएर आगलागी हुँदा ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार बिहान नगरपालिका वाड न ८ का कालु कडायतको घरमा विद्युत सर्ट भएर आगलागी भएको स्थानीय खडक बहादुर ऐडीले बताए ।
आगलागीबाट घरभित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडा र ४ लाख ४८ हजार नगदसहित घरभित्र रहेको सबै सामग्री जलेर नष्ट भएको दिपक बहादुर ऐडीले बताए ।
निकै लामो प्रयास पछाडि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । ‘बजारमा दुध पु¥याउन गएको बेला आगलागी भएछ, घरमा कोही पनि थिएनन्’ कडायतले भने । भुइतलामा विद्युत सर्ट भएर आगलागी भएको उनको अनुमान छ । आगलागीबाट घर पुरै जलेर खरानी भएपछि अब के खाने, के गर्ने चिन्ताले सताएको उनले गुनासो गरे ।
‘भैंसी किन्नका लागि लघुवित्तबाट ऋण लिएको थिएँ, त्यसको किस्ता तिर्नका लागि राखेको ४ लाख ४८ हजार रुपैयाँ पनि आगलागी हुँदा नष्ट भयो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गिन्द्र बोगटीका अनुसार आगलागीबाट करिब ११ लाख रुपैयाँको क्षति भएको छ ।
गलेश्वर : दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन् ।
मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फूर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउँछन् पनाजु ।
शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोइ घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन् उनी । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् वृद्ध पुर्जाका ।
गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन् । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्छन् ।
पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहेका मात्र छैनन् केही आम्दानी पनि गरिरहेका नाति होमबहादुर बताउँछन्। पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।
बिहानको खानामा उनले सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उनको आहारा हो । ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताए । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्छन् । उनी एकछिन पनि बेफुर्सद हुन चाहन्न् ।
१०५ वर्षीय पनाजु भन्छन्, ‘उमेर ढल्के पनि अझ धेरै बाँचुम्-बाचुम् लाग्दो रै छ ।’ उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर, उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन् ।
आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भने, ‘नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहन्छन् ।
उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलाई अरू कुनै स्वास्थ्य समस्या छैन । उनी भन्छन्, ‘जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?’ कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन् ।
गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन् । ८५ वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन् ।
पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी हुन् । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छन् । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमान् कपडा धोइदिने सबै काम गर्न सक्छन् ।उनका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा। रासस
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकामा एक नवजात शिशु (छोरा) बेवारिसे अवस्थामा फेला परेको छ ।
गत शनिबार जन्मिएकै दिन स्थानीयले बसबरिया गाउँपालिका वडा न.१ मानपुर बजार भन्दा सय मिटर पर रहेको बाँसको झारीबाट शिशुलाई फेला पारेका हुन् ।
उक्त नवजात शिशुलाई प्रदेशिक अस्पताल मलंगवाबाट जनकपुर पाठाइएको छ ।
शिशुलाई कसले त्यसरी छोड्यो भन्ने पत्ता लागेको छैन । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक डिएसपी उमाशंकर यादवले मध्यान्हलाई बताए ।
काठमाडौं : रामेछापको सुनापति ५ खनियापानीको लुभुघाटमा भएको बस दुर्घटनामा परी १३ जनाएको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी नायव उपरीक्षक राजकुमार थिङले सुनापति गाउँपालिका ४ बेथानका २६ वर्षीया समरिता तामाङ, सुनापति गाउँपालिका ५ का ६० वर्षीय ठुला तामाङ, खड्गबहादुर विक, २२ वर्षीया विपना तामाङ,३६ वर्षीया सञ्जु आलेमगर, ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय वृद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको निधन भएको छ ।
काभ्रेको रोशी गाउँपालिका ४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदीप गजमेर, मण्डनदेउपुरकी शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विकको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार एक जना मृतक महिलाको सनाखत भएको छैन ।
प्रहरीका अनुसार सुनापति ३ हिलेदेवीको स्वाँराबाट काठमाडौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९६ नम्बरको बस लुभुबजारबाट केही उत्तर पर्ने घुम्तीबाट खसेर दुर्घटना भएको भएको दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । घाइतेहरुको उपचार जारी छ ।
करिब ४० जना यात्रु लिएर ओरालो झर्दै गरेको बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको बस ओरालोमा ब्रेक फेल भएकाले जोगाउन नसकेको हुन सक्ने प्रहरीको आँकलन छ ।
संखुवासभाः बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies