मुुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : सत्ता साझेदार दलहरु सिट भागबण्डाबारे छलफलमा केन्द्रीत भएका छन् । कार्यदलले सैद्धान्तिक सहमति मात्रै गरेपछि सिट संख्या टुंग्याउन भने सत्तारुढ शीर्ष नेताहरु नै जुटेका हुन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटाएको थियो । कार्यदलले ०७४ को चुनावमा पाएको मत, ०७४ को समानुपातिक मत, ०७९ को स्थानीय चुनावको नतिजा र दलहरुको संवेदनशीलताका आधारमा सिट संख्या टुंग्याउने सैद्धान्तिक सहमति जुटाएको थियो ।
तर दलीय अडानकै कारण भागबण्डा भने गर्न सकेन । १६५ निर्वाचन क्षेत्रमा साझा उम्मेद्वार चयन गर्न बसेको कार्यदलको बैठकमा जम्मा सिट संख्या भन्दा दावी संख्या झण्डै दोब्बर थियो । पटकपटक बसेको कार्यदलको बैठक टुंग्याउन नसकेको भागबण्डामा सहमति खोज्न शीर्ष नेताहरु जुटेका छन् । स्रोतका अनुसार, शीर्ष नेताहरुबीच पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।
सत्तारुढ दलहरुको मागदावी र आफ्नै पार्टीभित्रका नेताहरुले लिएको अडानका कारण कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दबावमा देखिन्छन् । तर छलफल भने लगातार भइरहेको छ । प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलीय अडान लिइहेका छन् ।
बिहीबार रातिसम्म चलेको बैठकमा प्रचण्डले प्रधानमन्त्रीसँग आधाआधाको अनुपातमा सिट संख्या भागबण्डाको प्रस्ताव गरेको एक नेताले बताए । ती नेताका अनुसार, प्रचण्डले कांग्रेसले आधा सिट र बाँकी दलहरुले आधा बाँडफाँट गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो प्रस्ताव अनुसार, कांग्रेसका भागमा ८२/८३ सिट पर्नेछ भने अन्य दलले बाँकी सिट लिनेछन् । त्यसो गर्दा माओवादी केन्द्रले ५० सिटसम्म पाउने सम्भावना रहन्छ । बाँकी ३२ सिट एकीकृत समाजवादी, जसपा र जनमोर्चाले भागबण गर्नेछन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कांग्रेसले ७० सिट कांग्रेसले राखेर बाँकी छोड्नुपर्ने प्रस्ताव गरेका छन् । यो भनेको प्रचण्डले भन्दा धेरै दावी गरेका हुन् । कांग्रेसले ७० सिट लिएमा बाँकी दलहरुलाई ९५ सिट बाँकी रहन्छन् । त्यसले एकीकृत समाजवादीको भागमा धेरै सिट पर्नेछ । माधव नेपालसँग उपेन्द्र यादव र चित्रबहादुर केसी समेत सहमत छन् । किनकि भने उनीहरुले पनि बढी सिट पाउनेछन् । तर प्रधानमन्त्री देउवा भने सत्ता साझेदार दलहरुको अडान बमोजिम भागबण्डा गर्ने अवस्था छैनन् । कांग्रेसभित्र एक सय भन्दा कम सिट लिएर भागबण्डा नगर्न दबाव छ ।
कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका लगायत देशका धेरै स्थानमा स्वतन्त्र उम्मेद्वारले चुनाव जितेपछि स्वतन्त्र उम्मेद्वारी दिनेहरुको संख्या बढ्न थालेको छ । चु्नाव जितेका स्वतन्त्रहरुको सिको गर्दै आगाामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारी दिनेको संख्या बढेको हो ।
बिहीवार मात्रै स्वतन्त्र उम्मेद्वारको एउटा समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । जसमा देशको संघीय राजधानी देखि विभिन्न जिल्लाहरुमा समेत स्वतन्त्र उम्मेद्वारी दिनेहरुको लहर देखिएको छ । बिहीवारबाट सुरु भएको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको मात्रै गरेका छैनन् दलका पुराना नेताको विकल्प दिन आफूहरू अघि बढेको दाबी समेत गरेका छन् ।
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा भने जनमत दलीय उम्मेदवारको पूर्णतः अस्वीकृति नभएको तर, दलहरूप्रतिको असन्तुष्टि भने देखिएको स्वीकार गर्छन् । ‘अब दलीय व्यवस्थामा जनताले विश्वास गर्दैनन् भन्ने होईन, बरु राजनैतिक दलको नेतृत्वले आशाको सञ्चार गर्न नसक्दा स्वतन्त्रको आगमन भएको हो, अब दलले सुध्रिएर अघि बढ्नुपछर्ʹ उनले भने । साथै बालेन शाह र हर्क साम्पाङ जस्तै हरेक स्वतन्त्र उम्मेद्वार सफल हुन नसक्ने उनको बुझाई छ ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि केही स्वतन्त्रले जितेपनि उनीहरुको भविष्य भने नभएको बताउँदै आएका छन् । दललाई स्वतन्त्रले चुनौती दिएपनि आगामी निर्वाचन भने स्वतन्त्रले जित्न नसक्ने उनको बुझाई छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि स्वतन्त्रबाट देश चल्ने सम्भावना नरहेको हुँदा कांग्रेस र कम्युनिष्ट सुध्रिनुपर्ने बताउँछन् । ‘अब हामीसँग राम्रो विकल्प भनेको कम्युनिष्टको विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट नै हुन् । स्वतन्त्र पनि केही क्षेत्रमा स्थापित गर्दैछन् । उनीहरुको पनि ७५३ ठाउँमा उम्मेदवार हुनुपर्यो, उनीहरुको एउटा झण्डा हुनुपर्यो, उनीहरुको एउटा ‘फिलोसफी’ हुनुपर्यो, उनीहरुको अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्ड हुनुपर्छ । कांग्रेस र कम्युनिष्ट पनि एकै दिनमा बनेका होइनन्ʹ उनले भने । वर्षोसम्म शासन गर्दापनि कम्युनिष्ट र कांग्रेस नसुध्रिएपछि त्यसको आक्रोश स्वतन्त्रलाई भोट दिएर पोखेपनि सबै स्वतन्त्रहरु बालेन हुननसक्ने उनको भनाई छ । केही स्वतन्त्र सांसदहरुले चुनाव जितेपछि एउटा समूह बुढा नेता हराउ, स्वतन्त्र जिताउ भन्ने अभियानमै लागेको छ । त्यस्तै, कलाकार देखि समाजसेवीसम्मले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने लहर पनि चलेको छ । यद्यपि, सबै स्वतन्त्र उम्मेद्वारलाई जनताले पत्याउने अवस्था भने बनेको छैन ।
बिकाश काफ्ले/मध्यान्ह
पाल्पा, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशैभर स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर चलेको छ । यसैबीच पाल्पाको क्षेत्र नं २ मा पनि युवा व्यवसायी उपेन गैरेले उम्मेदवारी घोषणा गरी प्रचारप्रसार गर्न थालिसकेका छन् ।
विगतका निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारहरुलाई जिताएर पठाए पनि समृद्धिको कुनै आधार तयार गर्न नसकेकाले आफूले उम्मेदवारी दिनुपरेको उनले बताउँदै आएका छन् । पाल्पाको बगनाशकाली गाउँपालिका २ पोखरा थोकमा जन्मेका गैरे हाल काठमाडौंमा व्यवसाय गर्दै आएका छन् । उपेनले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी बनेर परिवर्तनका लागि योगदान गरेका छन् ।
भारतवाट कम्प्युटर एप्लीकेसनमा स्नातकोत्तर गरेका गैरले व्यवसायका साथमा केहि निजी तथा गैरआवासीय संस्थामा आईटी विज्ञको रुपमा काम गर्दै आएका छन् । उनले परम्परागत प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्दै विद्यमान अवस्थामा राजनीतिमा देखिएको कुरिति, विसंगती, भ्रष्टाचार, छायाँमा परेका युवा नेतृत्वलाई उजागर गर्नुका साथै नयाँ आवाज, नयाँ दृष्टिकोणका साथ अगाडि बढ्नको लागि आफूले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले राष्ट्रिय हित, सुरक्षा तथा विकासका लागि मुलुकमा उपलब्ध स्रोत, साधन तथा जनशक्तिको परिचालनमार्फत देशलाई परिवर्तनको दिशामा लैजानुपर्ने बताए । हिजोका दिनमा अरुले गरेको गल्तिलाई हामीले परिवर्तनको सिढिको रुपमा रुपान्तरण गरेर विकाशको रेखा कोर्ने कुरामा आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।
समाजमा देखा परेको कुरिति, विसंगतिको विरुद्धमा सधै स्वतन्त्र रुपमा आवाज उठाउँदै आएका उपेनले लोकमान सिंह कार्कीविरुद्धको आन्दोलन होस् या डा. गोविन्द केसीको समर्थनमा, इनफ इज इनफ अभियान अन्य युवाको आवाजको लागि गरिएका आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगीको भूमिका निर्वाह गर्दै आइरहेका छन् । महाभूकम्पदेखि कोरोनाकालसम्म उनले आफ्नो क्षमताले भ्याएसम्म सहयोगको लागि आफ्नो उपस्थिति जनाउँदै आएका छन् ।
उनले आफ्नो प्रतिबद्धता पत्रमा लेखेका छन्, ‘हामीले देखेको परिवर्तनको सपना अब विपनामा परिणत गर्नुपर्नेछ ।‘२००७ सालदेखि अहिलेसम्म राज्यले राजनीतिको नाममा धेरै परिवर्तन देख्यो । कोहि शान्तिपूर्ण त कोहि हिसांत्मक । तर विडन्वना राजनीति गर्न खोलिएका कुनैपनि दलहरु राज्यको लागि गम्भीर देखिएनन् । दलहरु सबै व्यक्ति केन्द्रित हँुदा त्यसको व्ययभार राज्यले उठाउँदै आउनुपरेको छ । राज्यलाई शोषण गरेर बसेका व्यक्ति वा दलबाट अबपनि केहि आश गरेर बस्नु भनेको हामी परिवर्तन चाहादैनौ भन्ने सजिलै बुझ्न सकिन्छ । राज्यको व्यवस्था त बदलियो तर अवस्था परिवर्तन हुन सकेन । आर्थीक, सामाजिक र धार्मिक सिद्धान्तहरु कितावमा मात्र सिमित भएको देख्दा मन पोलेर आउँछ, त्यसैले हामी परिवर्तको खाका कोर्न आएको छु ।
हामीले जनतालाई धेरै ठुला आशा देखाउँदैनौ । किनकी हामीहरुले हाम्रो देशको सतह बुझेका छौ । जनताका समस्या एकदमै स–साना छन्, हामी आफैले यो समस्या दैनिक जीवनमा भोग्दै आइरहेको छौँ । मध्यान्ह राष्ट्रिय दैनिकसँग कुरा गर्दै उम्मेदवार उपेनले आफूले उम्मेदवारी दिनुका कारणहरु उल्लेख गरे ।
परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न, परिवर्तनको लागि राज्यको नीति निर्माण तहमा युवा नेतृत्व, राजनीतिलाई मर्यादित बनाउँन, कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापितगर्न, विकाशको लागि दिगो योजना तथा पूर्वाधार विकासमा आमुल परिवर्तन गर्न, शिक्षा, स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न र आधारभुत तथा लक्षित कार्यक्रमलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् ।
उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् । यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।
शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।
काठमाडौंः राष्ठ्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् ।
बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गरेका छन् ।
त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन)० विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेका छन् ।
काठमाडौं : ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो ।
काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन् ।
अभियानको संयोजकमा सायमी रहेका छन् । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताए । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सायमी, काठमाडौं ५ बाट मधुसुदन पाठक, काठमाडौं ९ बाट विद्या महर्जन, ललितपुर ३ बाट राजाराम तण्डुकार, रूपन्देही ५ बाट भिष्म रानालगायत विभिन्न निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेका व्यक्तिको सहभागिता थियो ।
काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो ।
उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानूनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ ।
निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ । समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्नेछ भने जनसङ्गठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्ने छ ।
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने बताएका छन् ।
कास्की–१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपमा उम्मेदवार हुने यहीँबाट हो ।’
काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।
बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए ।
जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिए ।
महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
काठमाडौं : कांग्रेस नेताहरुले लोसपालाई समेत सत्ता गठबन्धन दलको चुनावी गठबन्धनमा समेटेर अघि बढ्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवालाई गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि समेटन सुझाव दिएका हुन् ।
बैठकमा नेता शेखर कोइराला र विमलेन्द्र निधिले लोसपालाई पनि चुनावी गठबन्धनमा समेटेर जानुपर्ने प्रस्ताव गरेका हुन् ।
सभापति देउवाले त्यसवारे गठबन्धनमा छलफल गर्ने आश्वासन दिएका छन् ।
मधेश प्रदेशमा ३२ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र भएकाले लोसपा गठबन्धनमा ल्याउदा सकारात्मक प्रभाव पर्ने कांग्रेस नेताहरुको बुझाइ छ ।
बैठकमा निर्वाचनमा तालमेल लगायतका विषयमा पनि कुराकानी भएको नेताहरुले बताएका छन् ।
तालमेल गर्दा ९० सिट भन्दा तल झरे कांग्रेसलाई घाटा हुने भन्दै नेताहरुले नेतृत्वलाई त्यसमा अडान राख्न सुझाव समेत दिएका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies