–डा. केशव देवकोटा
डा. बाबुराम भट्टराईले नवगठित नेपाल समाजवादी पार्टीको एक कार्यक्रममा “आपूmले नेपालको राजनीतिमा केही प्रयोग गरिसकेको र केही कुराहरु प्रयोग गर्ने तयारीमा रहेको” बताएको एक साता पुग्दा नपुग्दै उहाँ आफैँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिल्न आउनु भएको छ । कम्युनिष्ट राजनीति परित्यागको सार्वजनिक घोषणा गर्नुभएका डा. भट्टराईले चुनाव जित्नकै लागि फेरि कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय चिन्ह हँसिया हथौडाको सहारा लिनु धेरैका लागि मजाकको विषय भएको छ । त्यसो त तत्कालीन संयुक्त जनमोर्चाकै समयमा हँसिया हथौडाको तल तारा चिन्ह जोड्दा पनि उहाँ आलोचनाको पात्र हुनुभएको थियो । जतिबेला उहाँलाई कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय चिन्ह बिगार्ने प्रयास गरेको अरोप लागेको थियो । पछिल्लो समयमा पनि उहाँहरुले नै माओवादी केन्द्रको चुनाव चिन्ह बनाउने नाममा हँसिया हथौडा चिन्हलाई गोलाकारभित्र पारेर ‘कैद गर्ने’ प्रयास गर्नुभएको थियो । हालसम्म पनि माओवादी केन्द्रको चुनाव चिन्हका नाममा हँसिया हथौडालाई गोलाकारभित्र कैद गर्ने काम भइरहेकै छ । डा. भट्टराईले माओवादी केन्द्रसँग मिलेर हँसिया हथौडा चिन्ह र सोहीअनुसारको संयुक्त चुनावी घोषणापत्रबाट आफ्नो पार्टीलाई चुनाव लडाउनु एक प्रकारले उहाँको ठूलो असफलता र राजनीतिक आत्महत्या हो । कुनै पार्टी खोले पनि त्यसलाई अगाडि बढाउन नसक्ने, अरुको पार्टीमा टाँसिए पनि सो पार्टीमा घुलमिल हुन नसक्ने डा. भट्टराईलाई यसअघि नै धेरै शुभचिन्तकहरुले ‘राजनीतिबाट सन्यास’ लिन सुझाव पनि दिएका हुन् । जसपाबाट अनुशासनहीन भएको आरोप लगाएर निष्काशन गरिएपछि धेरैले उहाँप्रति चिन्ता र चासो व्यक्त गरेका थिए ।
वास्तवमा डा. भट्टराईका लागि उपयुक्त हुने क्षेत्र पत्रकारिता हो । जहाँ जतिवटा राजनीतिक प्रयोग गरे पनि केही फरक पर्दैन । बिटिश प्रधानमन्त्री बोरिस जोनसन पनि आफ्नो पूर्व पेशा पत्रकारितामै फर्कने कुराहरु आएका छन् । उहाँले सन् १९८७ मा द टाइम्सका लागि एक रिपोर्टरका रुपमा काम गर्नु भएको थियो । त्यसपछि उहाँले डेली टेलिग्राफको लागि काम गर्न थाल्नुभयो । जहाँ उहाँले १९८९–९४ सम्म संवाददाताको रुपमा र पछि सहायक सम्पादकका रुपमा काम गर्नु भएको थियो । सन् १९९४ मा जोनसन द स्पेक्टेटरको लागि एक राजनीतिक स्तम्भकार बन्नुभएको थियो भने सन् १९९९ मा उहाँलाई पत्रिकाको सम्पादक बनाइएको थियो । जहाँ उहाँले सन् २००५ सम्म काम गर्नुभयो । त्यसैगरी डा. भट्टराई ‘झिल्को’ र ‘जनादेश’मा चर्चित पत्रकार हुनुभएको थियो । करिब १४ वर्षको प्रयोगपछि उहाँले त्यसलाई पनि छाड्नु भयो । त्यसबीचमा उहाँले जनयुद्धको प्रयोग गर्नुभएको थियो । जनयुद्ध उत्कर्षमा पुग्नै लागेको बेला उहाँले त्यसलाई पनि छाडिदिनुभयो । त्यसपछि संसदीय राजनीतिमा प्रवेश गरेर माओवादी पार्टीमार्फत् देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबाट हटेपछि उहाँ आफैँ कहिल्यै प्रधानमन्त्री नबन्ने बाटोतिर लाग्नुभयो । हाल उहाँले ‘पार्टी गैरकम्युनिष्ट र चुनाव चिन्ह हँसिया हथौडा’को जुन प्रयोग थाल्नुभएको छ, यथार्थमा त्यसले उहाँलाई ठूलो राजनीतिक दुर्घटनामा पुर्याउने छ । यो उहाँजस्ता निरन्तर प्रयोगवादी नेताले समयमा नै सोच्न सक्नुपर्ने कुरा हो ।
हुन त पुष्पकमल दाहाल र माधव नेपालका लागि पनि गैरकम्युनिष्ट बन्ने ठूलो रहर देखिन्छ । यथार्थमा उहाँहरुको सोचाई, बोलाई र काम गराई सबै कम्युनिष्ट बिरोधी छन् । माधव नेपालले २०४६ को राजनीतिक परिवर्तनबाट देशमा बहुदलीय संसदीय व्यवस्था पुनर्स्थापना भएको केही वर्षपछि नै आपूm एमालेको महासचिव भएको समयमा पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउने प्रयास गर्नुभएको थियो । त्यतिबेला नै एमालेको नाम फेरेर ‘सामाजिक जनवादी पार्टी’ राख्ने कुराहरु आएका थिए । त्यसैगरी सोही समयमा पार्टीले मान्दै आएको माओ विचारधारा बैठकबाट औपचारिक निर्णय गराएर छाड्ने काम भएको थियो । अमेरिकी राजदूत आफ्नो पार्टी कार्यालयमा आउने भएपछि पार्टी कार्यालयमा रहेका माक्र्स र ऐङ्गेल्सलगायतका अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुका तस्बिर हटाउने काम पनि उहाँले नै गर्नुभएको थियो । त्यसपछि उहाँ समयक्रममा राजाकहाँ प्रधानमन्त्रीका लागि दर्खास्त हाल्न पनि जानुभएकै हो । त्यसैले उहाँलाई अब पनि समाजवादी पार्टीका नाममा गैरकम्युनिष्ट पार्टीमा गोलबद्ध गर्न सकिने अवस्था छ ।
हाल एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने जुन प्रचार गरेको छ, त्यो पनि यसअघि २०७४ सालको निर्वाचनमा प्रयोग भैसकेको विधि हो । जतिबेला एमाले र माओवादी केन्द्र निर्वाचन अघि सहकार्य र त्यसपछि पार्टी एकता गर्ने सहमति गर्दा अत्यधिक मत आएको थियो । त्यतिबेला नेपाली जनताले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई अत्याधिक मत दिएर झण्डै दुई तिहाई बहुमतको अवस्थामा पुर्याएका थिए । तर, पनि कम्युनिष्ट पार्टीहरुको मात्र सरकार गठन नगरी मधेशी दललाई प्रवेश गराएर गैरकम्युनिष्ट सरकार बनाउने काम भएको थियो । पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा अध्यक्षहरुले नै गुटबन्दी गर्दा बहुमतको सरकार ढल्नुका साथै कम्युनिष्टहरुलाई बहुमत दिनु बेकार रहेछ भन्ने मान्यता स्थापित गराउने काम भएको थियो । त्यतिबेला पनि पुष्पकमल दाहालहरुबाट एमालेमा पसेर माओवाद छाड्ने र कम्युनिष्टलाई बहुमत दिनु नहुने रहेछ भन्ने मान्यता स्थापित गराउने प्रयास भएको धेरैले अनुभव गरेका थिए । एमाले र माओवादी केन्द्र विभाजन भएर आ–आफ्नो बाटो लागेपछि भएको पहिलो बैठकमै अध्यक्षमार्फत् माओवादी केन्द्रको नाम परिवर्तन गर्ने प्रस्ताव आएको थियो । त्यतिबेला एमालेबाट माधव नेपालहरु फुटेर आएपछि पार्टी एकताका नाममा पार्टीको नाम परिवर्तन गर्ने भनिएको थियो । तर, पछिल्लो समयमा माधव नेपालहरुले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न इन्कार गर्नुभएको थियो । अध्यक्ष दाहालको रहस्यमय दिल्ली भ्रमणपछि दाहालका साथै नेपाल, गौतम र भट्टराईलाई जोड्न अनेक प्रयासहरु थालिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलाई विभाजित गराउन जति परिश्रम गर्नुभयो, त्यति परिश्रम आफ्नो पार्टी बनाउन गरेको भए आज माओवादी केन्द्रको अवस्था अर्कै हुने थियो । फेरि पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा पार्टी एकता हुने जुन भनिएको छ, त्यसको परिणति यसअघि एमाले र माओवादी केन्द्र मिल्दाको जस्तै हुने निश्चित छ । पार्टी एकता गर्न तम्सिएकाहरु एउटै चिन्हबाट चुनाव लड्न किन मानेनन् ? पार्टीको राजनीतिका लागि नभएर पदका लागि जे पनि गर्न तयार हुनेहरु एक ठाउँमा मिलेर बस्न मुस्किल छ । आफैँले निर्माण गरेको पार्टी अर्काको लहैलहैमा लागेर भत्काएर हिँड्ने माधव नेपाल यसको ताजा उदाहरण हुनुहुन्छ । कम्युनिष्ट पार्टीमा चुस्त र दुरुस्त एकल नेतृत्व हुनुपर्नेमा सामूहिक नेतृत्वको प्रयोग गर्ने काम पनि माओवादी केन्द्रका अध्यक्ष दाहालबाटै भएको हो । फेरि पनि यदि माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका समूहहरुका बीचमा पार्टी एकता भएको खण्डमा तीनदेखि पाँचवटासम्म अध्यक्ष हुने सम्भावना रहन्छ । डा. भट्टराईले हालै गठन गरेको नेपाल समाजवादी पार्टीमा पनि जातीय आधारमा दुई जना अध्यक्ष र उपाध्यक्षलगायतका पदाधिकारीहरुको व्यवस्था गरिएको छ । डा. भट्टराईको सामूहिक नेतृत्वको प्रयोग एक हप्ता पनि टिक्न नसकेर निर्वाचनमा अर्को पार्टीको शरणमा पुग्नुपरेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेसपाका अध्यक्षमध्येका एक डा. भट्टराईले कम्युनिष्ट पार्टीमा हुने गरेको ‘सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारी’को सिद्धान्तलाई उल्टाउने खालको प्रयोग गरेको देखिएको छ । उहाँहरुको नीतिप्रधान नभएर नेताप्रधान पार्टी बनाउने प्रयास पनि जारी नै छ । नेताप्रधान हुने नेपाली कांग्रेसले प्रयोग गर्दै आएको नीति हो । माओवादी केन्द्रले नेकपा (एकता राष्ट्रिय अभियान) का अध्यक्ष वामदेव गौतमसँग पनि पार्टी एकता गर्ने जुन प्रयास गरिरहेको छ, त्यो पनि हाँस्यास्पद छ । किनकि वामदेवलाई पनि चाहिएको नेतृत्व नै हो । जसले नेतृत्वका लागि यस अघिनै एमालेलाई दुई पटक बिभाजन गरिसक्नु भएको छ । नयाँ पार्टी बनाउना साथ उहाँलाई आफ्नै पार्टीबाट निकाल्ने काम पनि भएकै हो । अब चाहिएको पार्टीमा कम्तीमा उपाध्यक्ष र देशको प्रधानमन्त्री हो । जुन आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति भैसकेको छ ।
भट्टराई पक्षले नेकपा र माओवादी शब्दमा अझै पनि असहमति जनाएको छ । त्यो भनेको माओवादी केन्द्रका अध्यक्षलाई कम्युनिष्ट पार्टी छाड्न सहज बनाउने कुरा हो । अब कथंकदाचित मंसिर ४ को निर्वाचनपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र वामदेव समूहकाबीचमा पार्टी एकता भयो भने त्यसपछि बन्ने पार्टीको नाममा कम्युनिष्ट शब्दको नाम निशाना नै रहने छैन । राजनीतिकरुपले डा. भट्टराईलाई केही हदसम्म इमानदार मान्नुपर्छ । किनकि उहाँले आपूm कम्युनिष्ट विचारसँग असहमत हुनासाथ कम्युनिष्ट पार्टीनै छाडेर हिँड्नु भयो । जनयुद्धकालीन छद्म नाम पनि राख्नु भएन । तर, अन्य नेताहरु नेपाली कांग्रेससँग सहकार्य गर्दै आपूmलाई महान् कम्युनिष्ट नेता भनिरहेका छन् । जनयुद्धकालीन उपनामको प्रयोगमा गर्व गरिरहेका छन् । वर्गसंघर्षका ठाउँमा सत्तासंघर्ष गरिरहेका छन् ।
तीनै कम्युनिष्ट नामधारी दलहरुले छलछाम गरेर नेपालको संसदबाट एमसीसी पारित भएको घोषणा गरियो । विवादास्पद नागरिकता विधेयक पारित गराउन जोरजुलुम भैरहेको छ । सबैतिर द्वन्द्व बढाउने, जातीयता र क्षेत्रीयतालाई स्थापित गराउन खोज्ने, बिखण्डनकारी गतिबिधिलाई स्वागत गर्ने, हालका खास माओवादीको सार्वजनिक मञ्चबाटै बिरोध गर्ने र भूतपूर्ब भैसकेका माओवादी खोज्दै हिँड्नेलगायतका कामहरु भैरहेका छन् । संसदीय राजनीतिक व्यवस्थामा रहेर सोही व्यवस्थाका विश्वव्यापी मूल्य, मान्यता र आदर्शलाई कुल्चने प्रयासहरु पनि भैरहेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा प्रयोगवादीहरुको बिगबिगी बढ्दो छ । अबका दिनमा कसले कसलाई कसरी र कति हदसम्म प्रयोग गर्ने हो ? हेर्न बाँकी छ । तथापी उल्लेखित पात्रहरु जे–जस्तो मनोविज्ञानबाट ग्रसित छन्, त्यसलाई हेर्दा प्रयोगवादको नतिजाहरु देखिइरहनेछन् ।
– वीरेन्द्र कुमार पानुली
युरोप, उत्तर अमेरिका, मेक्सिको, अफ्रिका र एसियाका थुप्रै नदीहरु सुक्न थालेका छन् । जुन घटना मिडियामा पनि चर्चा छ । युरोपका केही भाग पछिल्लो ५ सय वर्षको सबैभन्दा खराब खडेरीको सामना गरिरहेका छन् । जर्मनीका प्रमुख औद्योगिक क्षेत्रहरूबाट बग्ने राइन नदी युरोपको दोस्रो ठूलो नदी हो । यसमा पानीको सतह कम भएकाले मालबाहक डुङ्गा र पानीजहाज सामान्यभन्दा आधा वा चौथो भारमा मात्र चलिरहेका छन् । यसले खाद्यान्न, कोइला, रसायन आदिको ढुवानीमा ठूलो असर गरेको छ । फलस्वरूप जर्मनीमा कारखानाहरू बन्द हुने अवस्था पनि आएको छ । बेलायतको ३ सय ४६ किलोमिटर लामो टेम्स नदीको मुहान पनि अहिले सुक्दै गएको छ । बेलायतका १३ नदीहरू लगभग सुकेका छन् । इटालीको सबैभन्दा लामो पो नदीमा सामान्यभन्दा धेरै कम पानी बहेको छ । चीनका ५० हजार नदीमध्ये आधाभन्दा बढीले खडेरीको अवस्थाको सामना गरिरहेका छन् ।
जर्मनी, इटाली, फ्रान्स, स्पेन, चीन आदिका नदीहरू, नहरहरू, जलाशयहरूमा सुख्खा छाएको छ । खोला सुक्दा जल यातायात, पर्यटन, सिँचाइ, खानेपानी आपूर्तिलगायत जलविद्युत उत्पादनमा असर परेको छ । नदीसँग जोडिएको खेती पनि प्रभावित भएको छ । नदीमा पानीको कमी र पानीको तापक्रम बढ्दा पनि माछा बचाउने चिन्ता बढेको छ । पानी नहुँदा अनगिन्ती सदाबहार खोला मौसमी भएका छन् । भारतमा नै कावेरी ४० प्रतिशत र नर्मदा ६० प्रतिशतसम्म सुकेको छ । गंगा, यमुना पनि धेरै ठाउँमा पानीविहीन भएको छ ।
नदी संकटका लागि मानवीय कारण पनि कम जिम्मेवार छैनन् । त्यसमध्येको एउटा कारण नदीको दोहन पनि हो । जसरी हामीले नदीको पानीको उपयोग क्षेत्र बढाइरहेका छौँ, त्यही अनुपातमा खोला सुक्दै जाँदा पनि चिन्ता बढीरहेको छ । करिब ४० प्रतिशत किसानले सिँचाइका लागि नदीको पानी प्रयोग गर्छन् । आज नदीहरूमा आफ्नो पारिस्थितिक दायित्व पूरा गर्न पर्याप्त पानी छैन । मौसमविद्हरूले नदीमा पानीको कमी हुनुमा जलवायु परिवर्तन, अभूतपूर्व गर्मी र खडेरीको कारण भएको बताउँछन् । यद्यपि जीवाश्म ईन्धनको प्रयोगबाट कार्बन उत्सर्जनलाई मुख्य कारणको रुपमा मानिएको छ । जसले पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउँदैछ ।
यसले खडेरी र अन्य मौसमी संकटहरु सिर्जना गराउँदैछ । आज हिमनदी पग्लिएसँगै समुन्द्रको सतह बढ्न थालेको छ । केही भूगोलमा अनावृष्टि र केही भूगोलमा अतिवृष्टिको समस्या पनि देखिएको छ । कतिपय भूगोलमा देखिएको बाढीको समस्या देखिनु पनि मौसम परिवर्तनका संकटहरु हुन् ।
आज कतिपय क्षेत्रमा निकै भयावह खालको खडेरी देखिएको छ । यसको मुख्य कारण सहायक नदी वा मुख्य खोलाको जलस्रोत वनमा भएमा वन फँडानी, आगलागी र हरियालीको अभाव पनि हो । भारतमा केही वर्षअघि जालौन (उत्तर प्रदेश)को नुन नदी अतिक्रमण र वातावरणीय कारणले गम्भीर अस्तित्व संकटबाट गुज्रिरहेको थियो । तर अहिले पञ्चायत, आम जनता र प्रशासनको सहयोगमा पुनर्जीवित भएको छ ।
संसारभरका नदीहरूमा प्रदूषणको समस्या छ, तर जब नदीहरूमा प्रदूषणसँगै पानी कम हुन थाल्छ, तब नदीहरूमा प्रदूषणको अवस्था पनि बढ्छ । करिब दश वर्षदेखि युरोप, बेलायत, चेक रिपब्लिक, स्वीडेन, स्पेनले आफ्ना नदीहरूको प्राकृतिक वैभव ल्याउने प्रयास गर्दै आएका छन् । हजारौं किलोमिटर नदीहरू मर्मत गरिएका छन् । बाँधहरू पनि हटाउने काम भइरहेको छ । बेलायत, अमेरिकामा नदीका बाँध हटाउने माग र सरकारी अभियान तिब्र रुपमा चलिरहेको छ । अब यो प्रश्न पनि उठ्न थालेको छ कि अबको केही दशकमा नै संसारका नदीहरु ध्वस्त त हुँदैनन् ?
अमर उज्यालाबाट
–लोकनारायण सुबेदी
आज विश्वभरी नै अर्थ–सामाजिक व्यवस्थाहरु परिवारको दायराबाट निकै टाढा पुगिसकेका या पुगिरहेका छन् र बढी औपचारिक बनिरहेका छन् । अर्थ–सामाजिक परिवर्तनसँगै आएको यो पारिवारिक विचलन विघटनका कारण अब दाजु–भाइ, दिदी–बहिनी, माता–पिता, काका–काकी, हजुर बा–हजुर आमाको स्वभाविक र भावनात्मक सम्बन्धले नयाँ अनुसन्धान र खोजबिनको व्याकरण लेख्न थालेको प्रतीत हुन्छ । यो परिपक्क हुन कति समय लाग्ने हो त्यो भने भन्न सकिने अवस्था छैन ।
यद्यपि ‘परिवार’ भन्ने बित्तिकै हाम्रो अस्तित्वको एउटा बिस्तृत फलकमा फैलिएको कुरा देखापर्न आउँदछ । शब्दकै अर्थ खोज्ने हो भने संस्कृत भाषामा ‘परि’ शब्दले दायरा या वृत्तप्रति संकेत गर्दछ, अर्थात् त्यस्तो अर्थ–सामाजिक संरचना जसले व्यक्तिलाई आबद्ध गरेर या घेरेर या आवेष्ठित गरेर राख्दछ, त्यही नै परिवार हुन्छ । परिवारको दायरा र केन्द्र दुबैले एक अर्कालाई परिभाषित गर्दछन् । तर परिवार अर्थात् यो सम्बन्धहरुको दायरा अपरिभाषित जस्तै छ । किनभने यसको कुनै निश्चित आकार हुँदैन । कुनै परिवारको आकार ठूलो हुन्छ, जसमा टाढाका नातेदारहरु पनि सामेल भएका हुन्छन् । परिवारका सदस्यहरको नाता सम्बन्धमा अधिकार पनि हुन्छ सानो र ठूलोको हिसाबले । जब यी सदस्यहरुका बीच सन्देह उत्पन्न हुने गर्दछ, ईष्र्या बढ्दछ, परस्पर अहम् टकराउने गर्दछ, द्वेष पैदा हुन्छ त्यतिबेला यो सम्बन्ध टुट्ने या बिखण्डित हुने स्थिति पनि उत्पन्न हुन्छ । यद्यपि पूर्वीय समाजमा परिवारवादिता पहिचानहरु मध्येमा एउटा सबैभन्दा ठूलो पहिचान या निशाना जस्तै मानिन्छ र मानिदै आइएको छ । तर, अब त्यो स्थिति क्रमशः विघटनतिर गइरहेको छ ।
यता पूर्वीयाहरु ‘बसुधैब कुटुम्बकम्’ को अवधारणामा पनि आधारित रहेको कुरा भन्दै र मान्दै पनि आएका छन् । यसमा रक्त सम्बन्धको आवश्यकता पनि रहँदैनथ्यो र रहन्न । जो कोही पनि यो परिवारमा सम्मिलित हुन सक्दथ्यो र सक्दछ । तर अब पछिल्लो समयमा आएर यो पारिवारिक दायरा पनि संकुचित हुँदै गइरहेको देखिन्छ । किनकि हामी परिवारबाट ‘फेमेली’तिर आकर्षित हुँदै गयौं । यसको प्रष्ट र द्विबिधारहीत अर्थ के हो भने त्यसमा केवल – पति, पत्नी र तिनका सन्तान मात्र हुन्छन्, अरु सदस्य पर्दैनन् । यद्यपि यताको हाम्रो पूर्वीया समाजमा परिवारको केन्द्रियता अद्यपि छाइनै रहेको छ । अझ परम्पराका आधारमा हेर्ने हो भने त परिवार देश, काल र पात्रका दृष्टिले एउटा खास संरचना हुने गर्दथ्यो । पहिला परिवारको स्थायी आवास हुने गर्दथ्यो । त्यसलाई विश्वकै एउटा समुच्चा रूपको प्रतिकृति (मिनिएचर) जस्तै मानिन्थ्यो । परिवार या खानदानबाट मानिसहरुको या व्यक्तिको पहिचान हुने गर्दथ्यो र यसरी परिवारको अबधि व्यक्ति वा व्यक्तिहरुभन्दा लामो हुने गर्दथ्यो ।
अनि स्वभावैले पूर्वीय परिवारको संरचना घरको अवधारणासँग जोडिएको हुन्थ्यो । बस्ने, उठ्ने, खाने, पिउन कुरा अनि व्यवहार–कारोबारको सबैको व्यवस्थामा अलिखित अनुशासन पनि हुने गर्दथ्यो, जसको परिपालना गर्नु गराउनु परिवारको स्वभाविक सामाजिक व्यवस्थाको अंश मानिने गरिन्थ्यो । यद्यपि मूल परिवारसँग टाढा रहनु पर्ने स्थिति कतिपय मानिसहरुको नोकरी, रोजगारी आदिका कारण आवश्यक बन्न जान्थ्यो । पति र पछि पत्नीसमेत गाउँघर छोडेर शहर, महानगर र विदेशतिर समेत जान थालेपछि मानिसहरुका बीच त्यसबाट उत्पन्न समस्याहरु देखापर्न थाले । यस क्रममा कतिपय मानिले गाउँघरमा विवाहिता पत्नीलाई छोडेर शहरहरुमा नयाँ जीवन बिताउन पनि थाले । वैवाहिक संस्थाले पनि रूप बदल्दै आएको छ । आज यौनिकता र नैतिकतालाई पनि नयाँ किसिमले या भिन्न किसिमले हेर्न थालिएको छ । सम्बद्ध बिच्छेद र पुनर्विवाह स्वाभाविक मानिन थालिएको छ । सामाजिक, शैक्षिक र भौगोलिक कारणहरुबाट समेत ठूलो मात्रामा पारिवारहरुको विस्थापन आरम्भ भयो । मानिसरु दूर–दराजका सुदूर गाउँ–घर छोडेर अन्यत्र जान र रहन थाले, आफुखुशी जीवन बिताउने आशा लिएर, सुखमय र सुन्दर जीवन र आजीबीकाका अवसरहरुको खोजीमा घर–परिवार छोडेर विदेश जान थाले । अनि गएकाहरुमध्ये कतिपय या धेरैजसो उतै बस्न पनि थाले । विस्तारै विस्तारै परिवारको एउटा वितरित स्वरूप मौलाउन या हुर्किन थाल्यो । निकटता र पारस्परिकता कम हुन थाल्यो । सम्पर्कको निरन्तरता घट्दै जान थाल्यो । संयुक्त परिवारको ठाउँमा एकल परिवारको प्रचलन बढ्दै जान थाल्यो । यद्यपि अहिले पनि कतिपय संयुक्त परिवार कायम रहिरहेका छन्, तिनले टाढा–टाढा भए पनि जोडिने, सम्पर्क रहिरहने र परस्पर सर–सहयोग गर्ने स्थिति अवश्य पनि कायम रहने राख्ने प्रयत्न पनि जारी रहेको देखिन्छ ।
अनि आज त अर्कोतिर मातृत्व र पितृत्व बिना पनि मानिसहरु जिउन या जीवन गुजारा गर्न चाहन्छन् । बाध्यताबश या आफुखुशी कसैलाई यो छुट अवश्य होला कि कोही एकल मातासँग बसुन् या कोही एकल पीतासँग । अहिले त जैविक दृष्टिले पनि आमाको अर्थात् मातृत्वको समेत विकल्प आइसकेको छ । अब त के पनि सम्भव भएको छ भने अरुको कोख किनेर पनि बच्चा पाउने पद्धति(जसलाई रिमोट जैविकताको संज्ञा दिन थालिएको छ)को पनि विकास हुन थालिसकेको छ र यसैबाट मातृत्वको सुख लिन पनि लिन थालिएको छ । यसरी आज परिवारको जीवन विस्तार र परिचालनको स्वरूप बदलिँदै गएको छ । आजको बदलिएको स्थितिमा अब त एपार्टमेण्टको घर पनि स्थायी नरहने स्थिति विकसित भइरहेको छ । अब स्थाई त केवल प्यान नम्बर, आधार संख्या र त्यसमा सरकारी निगाह मात्रै नित्य रहने जस्तो स्थिति देखिँदैछ । अरु बाँकी सबै कुरा यस संसारमा अस्थाई नै रहने देखिएको छ । आवास पनि आज ‘घरसंख्या र पिन कोड’बाट जान्न थालिएको छ र मानिसहरुले स्थान बदलिइरहने स्थिति बनेको छ ।
बदलिँदो यस संक्रमणको समयमा बालबच्चाहरुको लालन पालन, बृद्ध बृद्धाहरु तथा असक्तहरुको समस्याको पनि आज नयाँ किसिमले समाधान खोजिन थालेको र खोजिँदै गरेको अवस्थाबाट विश्व गुज्रिरहेको छ । यस अवस्थामा बाल बच्चाको पालन पोषणको समस्या, बृद्ध तथा असक्त नागरिकहरुका समस्या, विभिन्न कठिनाईमा परेका परिजनहरुका समस्याहरुको नयाँ किसिमले समाधानको खोजी हुनुपर्ने देखिन्छ र हँुदैछ । स्पष्ट कुरा के छ भने अबको सामाजिक व्यवस्था पारिवारिक दायराभन्दा बाहिर जान थालेको छ र औपचारिक बन्न थालेको छ । यी परिवर्तन र विचलनलाई हेर्दा दाजु–भाइ, दिदी–बहिनी, माता–पिता, हजुरबा–हजुरआमा आदि बीचको स्वाभाविक पारस्परिक भावनात्मक र भौतिक सम्बन्ध नै के हुन्छ अन्योल छ । तिनको नाप–तौलको नयाँ सामाजिक व्याकरण लेख्न थालिएको छ । हुन पनि आज संसार सबै नै सामाजिक परिवर्तनको नयाँ संघारमा खडा छ, जहाँ अरुसँग छुट्टिएर आरामले एक्लो जीवन बिताउने आवश्यकता परिपक्क हुन निकै समय लाग्ने देखिन्छ ।
– खिमराज गिरी
नेपालमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरुमध्ये हरितालिका तीज पनि एक हो । विशेषगरी महिलाहरुको पर्व भनेर चिनिने यो तीजको विशेष धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व छ । नेपालमा पनि विभिन्न ठाउँमा विविध प्रकारले यो पर्व मनाउने प्रचलन छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएको पाइन्छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवम् अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने प्रचलन छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितियाका दिन दर खाने चलन छ । खास त महिलाहरुले भोलिपल्ट व्रत बस्दा भोक नलागोस् र शरीर शिथील नहोस् भनेर अघिल्लो दिन राती १२ बजेसम्म विभिन्न परिकारहरु खाने चलन छ । चौथीका दिन स्नान गरी खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दत्तिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी मात्र खाने चलन पनि छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवम् सद्भाव झन् बढ्दै जाने जनविश्वास छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास पनि छ ।
यसरी टोलटोलमा महिला तथा अहिले त पुरुषहरुको पनि जमघट भई नाचगान र रमाइलो गर्ने चलन छ तीजमा । यसरी बसिने ब्रतसँगै नातागोता, इष्टमित्र तथा समाजमा झन् प्रगाढ सम्बन्ध रहन्छ नै । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्नरूपले यो पर्वमार्फत प्रकट हुन्छ । अझ महिला दिदीबहिनीहरुले विभिन्न किसिमका तीजका गीतमार्फत आफ्नो पीडा बिसाउने चौतारीको रूपमा लिइन्छ यो तीज पर्वलाई । हुनपनि एक महिलाले कसैको छोरी बन्दाको अवस्थामा पाउने सुखको अनुभूतिको आनन्द भिन्न प्रकृतिको हुन्छ । र, तिनै महिला अर्काको घरमा गएर बुहारी बन्दाको जीवन कति कष्टकर हुन्छ, त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । कुनै–कुनै महिलालाई त पराइको घर साच्चै नर्क समान हुन्छ ! न समयमा भोजन, न त विश्रामको अनुभूति, न त कसैको माया र ममता ! जीवन सँधै कर्कलाको पानीजस्तो हरपल अत्याचार सहेर बस्न बाध्य हुन्छिन् ! यस्तै अवस्थामा गाइएको एउटा गीत छ :
“न त मलाई मीठो खाना, न त बस्ने राम्रो ठाम,
मै छोरी अभागिनी भागी कता जाम !
न त सासू मिजासिली, न त पर्यो राम्रो पोइ,
माइती गाउँनी बिरानो भो, कता जाने खोइ ?”
यसरी तीज पर्वमा कति महिलाहरुको पीडाको कथा र बिरहको व्यथा पोखिएको हुन्छ । एकातिर तीज पर्वको महत्व बढ्दै गए पनि अर्कोतिर समाजमा विकृतिका खाडलहरु पनि गहिरिँदै गएका छन् । तीजको नाममा समाजमा देखाउनकै लागि अनेक गरगहना पहिरिएर जमघट हुँदा कयौं चेलीहरुको गहना लुटिएका छन् । एकछिनको रमाइलोले आर्थिकरूपमा हुने नोक्सानीको ख्याल नगरी तीज आउनुभन्दा एक महिना पहिलादेखि विभिन्न टोल, क्लव, सामाजिक संघ संस्थाहरुका साथै राजनीतिक पार्टीका भातृ संगठनहरुले एक महिना अगाडिदेखि नै दर खाने चलन निम्त्याएका छन् । अझ गाउँभन्दा नि सहरी क्षेत्रमा त यो पर्व भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप, तीज केही उत्ताउलो हुन थालेको छ । परिवारमा आर्थिक भार पर्ने त भयो नै जसले गर्दा यसको मौलिकता हराउन थालेको गुनासो पनि बढ्न थालेको छ । अझ कतिपय महिलाहरु सकि नसकी पानी पनि नखाई पतिको लागि धर्म कमाउने नाममा व्रत बस्दा बिरामी परेर अस्पताल पु¥याउन परेको अवस्था पनि छ । तसर्थ, हाम्रा विभिन्न चाडपर्वहरुको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व जति छ, त्यत्तिकै मात्रामा विकृती पनि फैलिएकोले अहिलेको यो शिक्षित समाज र राज्यले पनि यसतर्फ ध्यान दिई हामी आफैले पनि यस्ता संस्कारहरुलाई परिमार्जन गर्दै लैजान अत्यन्त जरुरी भैसकेको छ ।
–सरस्वती मोहोरा
अहिले अभिनेत्री एलिजा गौतमले नाचेको विषय चर्चामा छ । जसमाथि धेरैले टिप्पणी पनि गरेका छन् । सवाल एलिजाले के नाचिन्, कस्तो नाचिन्, त्यो कुन नृत्यको स्टेप हो भन्नेमाथि होइन । त्यो नृत्य श्लील हो कि अश्लिल हो अथवा श्लीलता र अश्लिलताको मानक के हो भन्ने कुरा पनि होइन । सवाल के हो भने महिला मुक्तिको पक्षमा जुन वर्गको महिलाहरू र विचारको वकालत गरिँदैछ, त्यो गलत छ । स्त्री स्वतन्त्रताको नाममा जस्तोसुकै छाडा र अराजकतावादी, त्यो महिलाको हकमा मात्रै होइन पुरूषको हकमा पनि त्यो त्यति नै छाडा र अराजकतावादी नै हो । त्यस्तो छाडा पूँजीवादी अराजकतावादी स्वतन्त्रताको वकालत कसैले गर्छ भने त्यसमा कुनै आपत्ति छैन तर, त्यो क्रान्तिकारी, विद्रोही, महिलामुक्ति होइन । त्यो पूँजीवादी अराजकतावादी नारीवादी विद्रोह हो भन्ने कुरामा चाहिँ स्पष्ट हुनुपर्छ ।
पुरूषले सिगरेट खान्छन्, त्यसकारण महिलाले पनि खान पाउनुपर्छ ! वा खाए के हुन्छ ? अथवा पुरूषले गलत काम गर्दा त्यसको विरोध होइन कि महिलाले पनि त्यस्तै गर्न पाउनुपर्छ वा गरे के हुन्छ ? भन्ने तर्क चाहिँ नारीवादको हो । महिला मुक्तिको कुरा चाहिँ महिलाले मात्रै होइन पुरुषले पनि सिगरेट खानु वा धुम्रपान गर्नु गलत हो भन्ने हो । अझ त्यस्तो खाले भौतिक परिस्थितिलाई नै निरूत्साहित गर्नुपर्छ भन्ने कुरा चाहिँ महिला मुक्तिको हो । महिला मुक्ति र स्वतन्त्रताको गलत अर्थ लगाएर पुरूषसित प्रतिस्पर्धा अझ धेरैजसो त गलत कुरामा प्रतिस्पर्धा गर्ने गरेर महिला मुक्त हुन्छ भनेर सजिलो र सतही सोच नारीवादले राख्नसक्छ । नारीवादको लागि पितृसत्ताको विरोध भनेको पुरूषको विरोध मात्रै हो, त्यसमा पनि घरभित्र र परिवारभित्रका पुरुषहरूसितको विद्रोह हो ।
रूसी क्रान्तिकी नेतृ अलेक्जन्डर कोलोन्टाईले नारीवाद र महिलामुक्तिको दृष्टिकोणको फरक देखाउने क्रममा उल्लेख गरेका चर्चित प्रसंगलाई यता पनि राख्न सकिन्छ– नारीवादलाई घरभित्रका पुरुषहरू, बाउ, लोग्ने, दाई र भाईको बराबरी हुनु छ । श्रमजीवि महिलाहरूलाई भने मालिकको बराबर हुनु छ । अथवा दासत्व प्रणालीबाट नै मुक्ति पाउनु छ । यसरी राजनैतिक चेतनाका रूपमा नारीवादको विद्रोह चेतको दुरगामीता भनेको पारिवारिक व्यवस्थाप्रतिको असन्तुष्टि र विद्रोहसम्म मात्रै सिमित देखिन्छ । यद्यपि, पारिवारिक व्यवस्था केमा टिकेको छ र कुन राजनैतिक प्रणाली र उत्पादन सम्बन्धले त्यसलाई टिकाइ राखेको छ भन्ने प्रश्नमा नारीवादको कुनै चासो र चिन्ता देखिँदैन । त्यसो र यी पितृसत्ताको कुरा त गर्छन् तर, पितृसत्तालाई परिवार, समाज र राज्यमा टिकाइराख्ने र टिकाउने उत्पादनका साधनमाथिको नीजि स्वामित्व वा त्यस्तो अर्थराजनैतिक प्रणाली वा उत्पादन सम्बन्धको ती विरोध गर्दैनन् ।
त्यसोभए पुरानो व्यवस्थाविरूद्ध नयाँ उत्पादन सम्बन्ध वा राजनीतिक प्रणालीको पक्षमा के एलिजाहरूले विद्रोह गरेका हुन् त ? विद्रोह गरेको होइन भने सम्पन्न र सम्भ्रान्त मध्यमवर्गीय र अभिजातीय महिलाहरूको वर्ग र विचारको प्रतिनिधित्व गर्ने एलिजाहरूले नाचोस्, गाओस्, खावोस् जे नै गरोस्, के भनेर महिला मुक्तिका सरोकारवालाहरूले समर्थन गर्ने त ? पुँजीवादी छाडा उपभोक्तावादका हिमायती पुरूष हुन्, चाहे ती महिला हुन्, वर्गको हकमा र विचारको हकमा तिनीहरूलाई कसरी समर्थन गर्न सकिन्छ ? नारीवादको हकमा त्यो समर्थन ठिक हुनसक्ला । पूँजीवादी उपभोक्तावादको हकमा पनि त्यो ठिक हुनसक्छ । नारीवाद, पुँजीवाद र पुँजीवादी उपभोक्तावादका विरोधी महिलामुक्ति र मार्क्सवादीहरूको हकमा एलिजाहरूलाई समर्थन कुन दृष्टिकोण र वर्ग विचारको आधारमा गर्न सकिन्छ ? नारीमुक्ति वर्गमुक्तिको सवाल हो भने कुन वर्ग र विचारको आधारमा एलिजाहरूको समर्थन गर्न सकिन्छ ? यो तर्कको लागि तर्क गर्ने अथवा बिद्वता प्रदर्शन गर्ने वितण्डावादी अर्थमा शास्त्रीय प्रश्न होइन । यो मार्क्सवाद र महिला मुक्तिको आधारभूत दृष्टिकोणसित जोडिएको आधारभुत प्रश्न हो ।
मार्क्सवादी विचारबाट प्रभावित महिलामुक्तिका हिमायती भन्नेहरूको अहिले कतिपय तर्कहरू गज्जबको देखिएको छ । जस्तैः पुरुषले गर्दा हुने महिलाले गर्दा किन नहुने ? अथवा खराब काम पुरूषले गर्दा हुने, महिलाले गर्दा किन नहुने ? पुँजीवादी, अराजकतावादी र नारीवादी तर्कहरू र एलिजाहरू जस्ता महिलाहरूलाई महिला भएकैले समर्थन गर्नुपर्ने÷गरिनुपर्ने जस्ता तर्कहरू, ती पनि नितान्तः नारीवादी तर्क नै हुन् । यस्ता तर्कबाजहरूसित यदि तपाईं महिलामुक्ति र श्रमजीवि महिलाहरूको दैनिकी जोडिएको जीवनशैली र व्यवहारको हकमा विचार र सिद्धान्तको कुरा गर्नुहुन्छ भने आफ्ना सुविधाअनुसार ती बोल्ने गर्दछन् ः खाने र लाउने विषय सामान्य विषय हो र यस्ता विषय अलिकति पनि सैद्धान्तिक विषय नभएको र कत्ति पनि सैद्धान्तिक विषयसित नजोडिएको भन्ने तर्क गर्छन् । तथापि, अहिले फेरि एलिजाहरू जस्ता सम्पन्न सम्भ्रान्त मध्यम वर्गीय र अभिजातीय महिलाहरूको वर्ग र विचारको पक्षमा महिलाहरूले खान लाउन पनि नपाउने, नाँच्न पनि नपाउने हुन्छ र ? यस्तो किसिमको सोच सामन्ती संकीर्ण जडवादी सोच हो भन्दै सैद्धान्तिक प्रश्न नै तेर्साई रहेका देखिन्छन् ।
यसरी पुँजीवादसँग जोडिएको नारीवादी आफ्नो सुविधाअनुसार अभिजातीय र सम्भ्रान्त महिलाहरुको वर्ग र विचारको पक्षमा विकृत पूँजीवाद र छाडा उपभोक्तावादसमेतको समर्थन गर्छन् । उनीहरु त्यसको विरोध गर्नेहरूलाई सामन्ती, संकीर्ण जडवादीलगायतको आरोप पनि लाउँछन् । उनीहरुको तर्क ः समय बदलिसकेको तर, अहिलेसम्म पनि सामन्ती जडताबाट बाहिर निस्कन नसकेको भन्ने रहन्छन् । ती आफुले भने स्त्री स्वतन्त्रताको नाममा र महिला भएकैले एलिजाहरूको समर्थन गर्नुपर्ने जस्ता नारीवादी तर्कहरू स्पष्टरूपले राख्छन् । यसरी स्पष्ट रूपले भन्नुपर्दा नारीवादी महिलामुक्तिका हिमायतीहरूले नारीवादलाई समर्थन गरेर अन्ततः नारीवादको मुल वैचारिकी पूँजीवादको विचार र प्रणालीकै वकालत र समर्थन गर्छन् । यसरी नारीवाद जस्तै नेपाली परिप्रेक्ष्यमा अहिले देखिएको नारीवादकै नयाँ रूप नारीवादी महिलामुक्तिका हिमायतीहरूको विशेषता पनि स्त्रीमुक्तिभन्दा बढी स्त्री स्वतन्त्रता (सारमा अभिजातीय र सम्भ्रान्त मिडिल कलास् महिलाहरूको पक्षमा पुँजीवादी स्वतन्त्रता)को वकालत गर्नु बढी हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । नयाँ रूप/रंग, कलेवर, गेट्अप र फ्लेवरका साथ नयाँ रूपमा देखिएको नारीवादीले मुख्य समस्या पूँजीवाद भएकोले पुँजीवाद र पूँजीवादी प्रणालीको विरोध नगरी बचेखुचेको सामन्तवाद र सामन्ती अवशेषहरूको पनि विरोध सम्भव नहुने कुरा बुझ्दैनन् । सामन्तवादी अवशेष फोशिल्सलाई समेत भेन्टिलेटरमा राखेर जिवित तुल्याइ अझ आफ्नो पनि भएभरको बल र कहर वर्षाएर श्रमजीवि वर्ग, श्रमजीवि महिलालगायत आम महिलाहरूमाथि शोषण गर्ने पूँजीवादको सुधारवादी तरिकाले मात्र विरोध गर्ने नारीवादद्धारा अबका दिनमा महिलामुक्ति सम्भव नहुने कुरा बुझ्नुपर्ने हुँदैछ । सामन्तीलगायत पुँजीवादी सारा शोषण, विकृति, अपसंस्कृतिको जड पुँजीवादी शोषणप्रणालीको सचेतरूपले विरोध गर्ने महिलामुक्तिको विचारले मात्र महिलामुक्ति सम्भव हुनसक्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।
–समुन्द्र गिरी
सहकारी अत्यन्त सामान्य आर्थिक अवस्था भएकाहरुको बचत गर्ने थलो हो । ग्रामिण भेगका आम नागरिकको जीवन स्तर उकास्न भन्दै सहकारीको स्थापना गरियो । तर, अहिले ग्रामिण भेगमा भन्दा सुविधासम्पन्न शहरमा सहकारी बढी देख्न पाइन्छ । करिब पाँच दशक लामो इतिहास भएको नेपालको सहकारी अभियान भने यतिबेला चरम तरलता अभावको चपेटामा छ । अहिले सहकारी क्षेत्रमा केही बाहेक अधिकांश सहकारीमा तरलताको अभाव पाउन सक्छौं । जसका कारण महान उद्देश्य बोकेको सहकारी अभियान नै बदनाम हुन पुगेको छ ।
स्थानीय स्तरमा भएका उत्पादनलाई बजारीकरण गर्ने, निमुखा गरिब जनतामा वित्तीय पहुँच पुर्याउने, गाउँ–गाउँसम्म वित्तिय सेवा विस्तार गर्नेलगायतका उद्देश्य राखेर सहकारी अभियान सुरु भएको हो । तर, अहिले यसले पनि बैकिङ प्रणाली सरह काम गर्दा सहकारीको औचित्यलाई आत्मसाथ गर्न सकिरहेको छैन । सहकारीका सञ्चालकको चाडोँ कमाउने महत्वाकांक्षीका कारण अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिले सहकारीका बचतकर्ताले सहकारी अभियानप्रति विश्वास गर्न सकिरहेका छैनन् । अहिले प्रायः सहकारी संस्थाले आधारभूत नीति नियम विपरित बजारका केही सहकारीका सञ्चांलकहरूले घर जग्गा, सेयर, सवारीसाधन जस्ता अनुत्पादक क्षेत्रमा ठूलो मात्रमा लगानी गरेका छन् ।
सहकारीको बारेमा अनुभव, अध्ययन र अनुसन्धान नगरी सहकारी चलाउनु पनि अर्को समस्या हो । प्रदेश र स्थानीय स्तरबाट सहकारी दर्ता हुनु, सहकारी अभियन्ताका रूपमा राजनीति गर्नु, यी सबै नकारात्मक पाटाहरू हुन् । सहकारीमा ठगी प्रवृत्ति पनि उस्तै हावी छ । सहकारी विभागले दिएको तथ्यांकअनुसार अहिले देशभर करिब १५ वटा सहकारी अत्याधिक समस्याग्रस्त छन् । सहकारी विभागको यो तथ्यांक र वास्तविकता हर्ने हो भने अहिले १५ मात्र होइन देशभरका अन्य सहकारीमा पनि तरलताको चरम अभाव छ । सहकारी अभियान सुरु भएर अहिले देशभर करिब ३५ हजार सहकारी संस्था पुगेका छन् । तर, निमुखा जनताले विश्वास गरेर बचत गर्न सक्ने सहकारी भने निकै कम छन् । सरकारले आन्तरिक तयारी बिना नै सहकारी अभियान थाल्दा अभियान उद्देश्यअनुरुप नभएको मान्न सकिन्छ ।
पछिल्लो समय सहकारीहरुको नियमनकारी निकाय सहकारी विभागले प्रभावकारी भूमिका खेल्न नसक्दा पनि सहकारी क्षेत्रमा यस्तो समस्या आएको हो । अहिले विभाग कुनै बचतकर्ताले रित पु¥याएर कुनै बचतकर्ताले उजुरी दिन आएमा त्यसका लागि आवशयक प्रक्रिया चाल्नमा मात्र सिमित छ । सहकारी विभागले सहकारी क्षेत्रका भएका समस्या समाधान गर्नका लागि आवश्यक कदम चाल्न नसकेको कतिपयको बुझाई छ । सहकारी कर्जा सूचना केन्द्रको हल्ला चलेको तीन वर्ष बितिसक्यो, ऐन बनेर कार्य योजना बनाएर लागु हुन भने अझै सकेको छैन, त्यसलाई मूर्तरूप दिन आवश्यक छ । ऋण असुली सरलीकरण र व्यवस्थित हुनु जरुरी छ । त्यस्तै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बृद्धि गर्ने कार्ययोजना तयार गर्नुपर्छ । बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै नियमक निकाय स्थापना गर्ने सरकारको घोषणालाई तत्काल लागु गर्नपर्छ । एकीकरणको नारालाई व्यवहारमा बदल्नु पर्दछ । राज्यबाट एकीकरणका लागि थप उत्प्रेरणा अवाश्यक देखिन्छ । यी सवै सुधारात्मक पक्षहरु हुन् ।
सहकारी गरिब निमुखा र सामान्य आर्थिक अवस्था भएका नागरिकको बचतसँग जोडिएको अत्यन्त संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रमा भएको तरलता अभावको समाधानका लागि सहकारी संस्था, नियमनकारी निकाय र सरोकारवालाहरुले कसरत गर्नेपर्छ ।
– झलक शर्मा
भाद्र शुक्ल तृतियाका दिन पर्ने हरितालिका तीजलाई नेपाली नारीहरुको महान् चाडको रूपमा हेरिन्छ । तीजलाई खासगरी भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म मनाइने गरिन्छ । यस चाड समयक्रम र आधुनिकताले गर्दा निश्चित समयावधिलाई लम्बाइँदै गइएको छ । भगवान शिवको आरधाना गरी मनाइने यो पर्व विवाहिताले आफ्नो पतिको दिर्घायु र अविवाहिताले सुयोग्य वर पाउनको लागि तृतियाका दिन वर्त बस्ने चलन छ । तीजको दिन निराहार वर्त बस्ने परम्परा आजभोली स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नदेखिएकाले फलफूल तथा जुस सेवन गरी मनाइने गरिएको छ । तीजमा नारीहरुले भोगेको दुःख, बेदना, रोदनहरुलाई गीतमा समावेश गरी सामूहिकरूपमा गाइने गरिन्छ । विवाहित महिला आफ्नो माइती आउने र साथीसंगी भेटघाट गर्ने, दुःख सुखका कुराहरु साटासाट गर्ने, मिठोमसिनो खाने चलन रहिआएको छ ।
महिला अधिकारसँग प्रत्यक्ष या अप्रत्यक्षरूपमा जोडिएको पर्व तीजलाई मान्न सकिन्छ । पितृसतात्मक सोंचका कारण हाम्रो समाजमा महिलामाथि थिचोमिचो र दमन हुने गर्छ । यस्तो शोषण विगतमा जस्तो बढी नभएता पनि निर्मूल भने हुन सकेको छैन । समाजमा अझै पनि महिलालाई दोस्रो दर्जामा हेर्न खोज्ने मानसिकता रहेको छ । यसले गर्दा महिला समाजमा पछि परेको, सम्मानजनक जिन्दगी जीउनबाट बञ्चित भएको महशुस गराउँछ । हाम्रो समाजमा महिलाहरु घरेलु तथा यौनिक हिंसाबाट प्रताडित हुनु परेको कैयौं उदाहरणहरु छन् । दाइजो कम ल्याएको, छोरा नपाएको कारणले महिलामाथि हुने शोषण अझै पनि रोकिएको छैन । समयको परिवर्तनसँगै आजभोलि महिला हिंसाका स्वरूपहरु पनि परिवर्तन भएका छन् । सामाजिक सञ्जालमा कोही कसैसँग बोलेको, साथी बनाएको कारणले महिलामाथि बारम्बार मानसिक दबाब दिने, पिट्ने, दोष लगाउने जस्ता हिंसाहरु जन्मिएका छन् । यही तीजको अवसरमा महिलामाथि हुने शोषण र दमनलाई नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गर्नु बढी सान्दर्भिकता हुन सक्छ ।
तीज मनाउने शैली विगतको तुलनामा आजभोली धेरै भड्किलो हँुदै गएको छ । रितिरिवाज संस्कारलाई बिर्सिँदै देखावटी र खर्चालु संस्कृति भित्रिदै छ । महँगा गरगहना, बस्त्र प्रयोग गर्ने तथा पाँच तारे होटल, पार्टी प्यालेस जस्ता महँगा ठाउँहरुमा सामूहिकरूपमा दर खाने जस्ता गतिविधिहरु अँगाल्न खोजिएको छ । संस्कृतिको नाममा व्यापारिकरण बढेको छ । यसले गर्दा करोडौंको रकम विदेशीएको समेत देखिन्छ । स्वदेशी भेषभूषाको स्थानमा विदेशी लत्ताकपडाले लिन थालेका छन् । यस्तो गतिविधि भित्रनु भनेको परिवार, समाज र राष्ट्रलाई समेत हानी हुनु हो । सामान्य कमाई भएको परिवारले तीज पर्वलाई मनाउन कठिनाई उत्पन्न हुन थालेको छ । यसले गर्दा गरिबीको पीडामा रहेको परिवारलाई तीज मनाउन धौ धौ पर्ने अवस्था आइपरेको छ । जसले गर्दा समाजमा धनी र गरीबबिचको वर्गीय विभेद उत्पन्न हुन थालेको छ । संस्कृति जोगाउने नाउँमा चाडपर्वकै अस्तित्व नरहने गरी विदेशी रहनसहन भित्र्याउन खोज्ने प्रवृत्ति मौलाउदै छ । यस्तो प्रवृत्तिले आपरी भाइचारा मेलमिलाप कायम गर्नुभन्दा समाजमा असमानताको द्वन्द्व बढाउने काम गर्दछ ।
आज तीजलाई पर्वको रूपमा भन्दा फेसनको रूपमा लिन थालिएको छ । धेरै तडक भडक र खर्च गरे पछि मात्रै सबैको नजरमा राम्रो भइने र इज्जत, मानप्रतिष्ठा प्राप्त हुने संकुचित सोचको विकास भएको देख्न सकिन्छ । सामाजिक संघ संस्था, राजनीतिक दलले आफ्नो कृयाशिलता देखाउनको लागि पनि सामूहिक दर खाने कार्यक्रम आयोजना गरेको देखिन्छ । यस्ता कार्यक्रमले महिला हिंसा रोक्न विशेष भूमिका खेल्नुुभन्दा पनि तडक भडकलाई नै बढी प्रश्रय दिएको पाइन्छ । महिलाको अधिकार, लैङ्गिक सशक्तिकरणका लागि कमै मात्रामा आवाज उठाउने गरेको देखिन्छ । दुःख सुख साट्ने अवसरको रूपमा हेर्नुभन्दा पनि देखासिकिमा रमाउने प्रवृत्ति मौलाउदो छ । चाडपर्वको अवसरमा महँगा गरगहना लगाउँदा समाजमा चोरी डकैतीलगायतका अपराधिक घटना घट्न सक्छन् । पारिवारिक खर्च जुटाउन सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचारको कुयाकलापमा संलग्न हुन सक्छन् । यस्तो खर्चालु संस्कृति बढ्दै गएमा अनुत्पादक क्षेत्रमा बढी लगानी हुने तर, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न हिचकिचाउने स्वभाव समाजमा बढ्न जान्छ । तसर्थ, सभ्य समाज निर्माण गर्न तथा शान्ति, सुरक्षा, अमनचयन कायम गराउन चाडपर्वहरु सन्तुलित तवरबाट मनाउनु बढी बुद्धिमता हुन्छ ।
अर्को तर्फ, तीजमा गाइने मौलिक गीतहरु पनि ओझेलमा परेका छन् । छोटो समयमा भाइरल बन्ने, सबैले चिन्ने दुश्साहसले छाडा, उच्छृङ्खल, द्विअर्थी शब्द प्रयोग गरेर गीत निकाल्ने र श्रव्य दृश्य, नृत्य पनि अश्लिलता प्रदर्शन गर्ने गरिएको छ । युट्युब, टिकटकमा बढी भ्यूज बटुल्ने मनशायले गलत बाटो अगाँल्न खोजिएको छ । यस्तो गीत संगीतले हाम्रो चाडपर्वलाई अमर्यादित बनाइरहेको पाइन्छ । चाडपर्व, संस्कृतिलाई जीवन्तकालसम्म चलाउन उत्तेजक तथा अपाच्य गीतहरुको प्रकाशन तथा प्रदर्शनमा रोक लगाउनु पर्छ । गीत संगीतले गलत आशय, भ्रम फैलायो भने हाम्रो संस्कृतिको महत्व नै बिलिन भएर जान्छ । त्यसको लागी गीतका सर्जकहरुले आफ्नो संस्कृतिको मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्छ । गलत र खराब आचरण अबलम्बन गरेका गीत संगीतलाई बहिष्कार गर्नुपर्छ । यदी यस्तो नकारात्मक पक्ष नसुधार्ने हो भने तीजको अस्तित्व मेटिँदै जान्छ । परिवर्तनको नाममा सामाजिक मूल्य मान्यता, रितिरिवाज, संस्कृतिको धज्जी उढाउनु कदापी राम्रो होइन ।
तीजको नकारात्मक पक्षलाई सुधार तथा नियन्त्रण गर्न सिंगो समाज नै लाग्नुपर्ने देखिन्छ । संस्कृतिको मूल्य मान्यता जोगाउनु र सभ्य समाज निर्माण गर्नु नागरिकको पनि दायित्व हुन जान्छ । महिलाका हकहित र अधिकारका पक्षमा वकालत गर्न सबै पक्षले सक्रियता देखाउन सक्ने हो भने समाजमा महिला हिंसामा न्यूनिकरण ल्याउन सकिन्छ । हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडक भडकसहितका ज्यादै खर्चिला कार्यक्रम आयोजना गर्ने, विकृति फैलाउने क्रियाकलापहरुलाई रोक्न सरकारले पनि विशेष भूमिका खेल्नुपर्छ । त्यसका लागि सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र नियमावली २०३३ को व्यवस्था गरिएको छ । जसले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा व्यवस्थित र नियमित गर्न आधार प्रदान गरेको छ । हाम्रा चाडपर्व देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने एक महत्वपूर्ण चिनारी हुन् । नेपालको संस्कृति अरु देशको भन्दा पृथक र भिन्न प्रकृतिका छन् । त्यसैले चाडपर्व मनाउने स्वरूप र शैलीहरु अनुशासित, मर्यादित र सामाजिक हुनु आवश्यक छ ।
इमेल : sharmajhalakpkr@gmail.com
– अर्जुन बिष्ट
तीज आयो दिदी लिन जाने होइन र ?
हुने खाने भइन् दिदी टेर पुच्छरै लाउँदिनन्,
जाने मात्रै हुन्छ आमा आउँदै आउँदिनन् ।
शिरै लाउने शिरफूल बाकसमा राखुँला,
यो मनको बिरह केमा राखुला ?
यी र यस्तै नारीका व्यथाहरुले भरिएका मौलिक तीजका गीत बनाएर गाइएका गीतहरु जति सुने पनि सुनु–सुनु लाग्ने मार्मिक भाकाहरुले कसको पो मन नछोला र ? पंक्तिकारले थाहा पाउने भएदेखि दाजुभाई, दिदीबहिनी र आमाको कथा व्यथाले भरिएको मौलिकता झल्काउने त्यो तीज पर्व आज कता–कता हराइरहेको देखिन्छ । तीजमा छोरी माइत आउन नपाउनुको पीडालाई लिएर यथार्थमा बनाइएका तीजका भाकाहरु सुने मात्रै तीजको महत्व थाहा पाउन सकिन्थ्यो । रातो पहिरनमा सजिएर तीजमा निराहार व्रत बस्ने, अघिल्लो दिन माइत गएर दर खाने, माइत जानकै लागि तीज पर्व पर्खनुपर्ने, आफु नफर्किन्जेल मेलापात, घाँसपातको व्यवस्था मिलाएर मिठोमसिनो बोकेर माइतीमा जानुपर्ने बाध्यतासँग जोडिएका गीतहरु कति मर्मस्पर्शी छन् ।
तीज सुरु हुँदै गर्दा, दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन् । तर, कता हो कता खल्लोपना पनि बढिरहेको देखिन्छ । महिलाहरु माइत जान पाइन्छ बाआमा, दाजुभाई, दिदीबहिनी सबैलाई देख्न पाइन्छ, आमासँगै दुःख बिसाउन पाइन्छ, आमाको हातले बनाएको मिठो मसिनो खान पाइन्छ भनेर माइतीमा हिँडेकी चेलिको त्यो खुशी आजभोलि बिरलै देख्न पाइन्छ । तीज पर्व भन्नासाथ चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, सुख दुःख बिसाउने पर्वका रूपमा बुझिँदै आएकोमा विस्तारै यसको अर्थ र परिभाषा पनि बदलिँदै गएको छ ।
पौराणिक कथामा भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्यमा कुनै बाधा अड्चन नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । जुनदिन हरितालिका तीजको दिन थियो त्यसपछि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् । तीज पर्व नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । यो पर्व भारतका केही ठाउँ र नेपालभर मनाइन्छ । माइतीले आफ्नी छोरी÷चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार खुवाउने र सुखदुख बाँडेर एकैसाथ बस्ने चलन छ । विशेषगरी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रूपमा लिइने तीज एक–अर्काको देखासिकीकै कारण भड्किलो र खर्चिलो बन्दै गएको छ । पौराणिक कालदेखि चलिआएको पर्वमा परम्परा बदलिँदै गएकोमा बुढापाकाहरुमा समेत चिन्ता बढ्दो छ । तीजमा स्वतन्त्रता र आधुनिक समाजको नाउँमा तीजको महत्वलाई बिर्साउँदै जाने वातावरण बनिरहेको छ । पछिल्लो समय तीजलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक परम्परा हो । जसको महत्व बेग्लै छ । जसले आफ्नो जन्मदिने आमाबुवा, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीजलाई लिइन्छ ।
के गाउँ के शहर, महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने यो पर्वमा पश्चिमेली शैली मिसिन थालेको छ । जसको कारण तीज खर्चिलो र भड्किलो मात्रै होइन, संस्कृतिमाथिको भद्दा मजाक बनिरहेको छ । अझ शहरी क्षेत्रहरुमा भड्किलो बढ्दै छ । संस्कार र संस्कृतिलाई गिज्याइरहेको तीजले गाउँ शहरमा विकृति निम्त्याइरहेको छ । हिजोआज सामाजिक सञ्जालमा समेत एर्काको सिको गर्दै छाडापन बढ्दो छ । हरितालिका तीजको विकृति सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । आज तीजको नाममा महिना दिनदेखि दरखाने, गरगहना प्रदर्शन गर्ने, पेयपदार्थ सेवन गरी उद्दण्डता देखाउने जस्ता गलत परिपाटीको विकास भएको छ । पश्चिमी संस्कृतिको सिकोले नेपाली दिदी बहिनीहरु बीचमा माया, सद्भाव र सहिष्णुता होइन दरार ल्याउने काम गरिरहेको छ ।
केही कलाकारको तीज पर्व नृत्यमाथिको भद्धा मजाक र संस्कृतिमाथिको तिखो प्रहारकै कारण आजभोलि सामाजिक सञ्जालमा बिरोध र आलोचनाको ओइरो लाग्छ । हाी सचेत छौं । थाहा पाउछौँ तर, पनि आफ्नो संस्कृतिमाथि आफै प्रहार गरिरहेका हुन्छौं । आधुनिकताको नाऊँमा मौलाइरहेको विकृतिविरुद्ध हामी सचेत र सजक रहनु पनि आवश्यक छ । धार्मिक महत्व बोकेको तीज पर्वलाई हामीले परम्परागत मान्यता नमर्ने गरी थप परिस्कृत गर्दै लैजानुपर्छ । आधुनिक समाजमा हुर्किएका महिलाहरूले समानान्तररूपमा यो पर्वलाई उल्लासमय र संस्कारयुक्त बनाउनुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा नराम्रो पक्ष हो । त्यति मात्रै होइन दरको नाममा महिनौँदेखि रमाउन थालेका छन् । विभिन्न फेसनमा सजिनुपनि एक किसिमको विकृति नै हो । यसको सकरात्मक पक्षहरु पनि छन् तर, नारी विशेषको यो पर्वमा आएको परिवर्तनको पनि ख्याल गर्नुपर्छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । दर खाने प्रचलन पनि धार्मिक संस्कारयुक्त नै हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । त्यस्तै, पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । आधुनिकताको नाममा संस्कृतिलाई मेट्नु हुँदैन ।
तर, अहिले तीजको गीत संगीतमा समेत विकृतिको जालो लागिसकेको छ । पहिलेका तीज भाकामा मौलिकता झल्किन्थ्यो । छोरी चेली माइत जान नपाउँदाको पीडा समेटिएको हुन्थ्यो । तर, हिजोआज त ती सबै भाकाहरु दुर्लभ भैसकेका छन् । नाँचगानका लागि जम्मा भएको बेलामा रचेर गाइने गीत, मेलापात जाँदाको गीतले तीजको स्वभाव बढाउँथ्यो, आजभोलि ती मार्मिक पुराना गीत गाउँघरमा सुनिँदैनन् । घरको आँगनको डिलमा गाउँभरिका लागि लालटिन, सोलार र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा नाच्ने गाउँने दिनहरु हराए । अहिले त रिमिक्स भाकामा उत्ताउलो नृत्यले सामाजिक सद्भाव भड्काइरहेको छ । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गर्ने तीजको महत्वलाई बचाई राख्न सबैमा कर्तव्य बोध हुनुपर्ने देखिन्छ ।
उबेला चुल्हो–चौको घरको कामकाजमै अल्झिएका अधिकांश महिला अहिले मन खोलेर रमाउन थालेका छन् । परिवर्तनशील समाजमा गाउँका टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहेपनि आजभोलि तीजका गीतले शब्द, संगीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न सकेका छैनन् । तीजलाई भड्किलो र उत्ताउलो बनाएपनि परम्परागत मान्यताअनुसार परिस्कृत गर्दै लानुपर्छ । पछिल्लो पिँढिले तीजमा खर्चिलो र भड्किलो क्रियाकलापले गर्दा धेरै विकृतिहरु देखिन्छन् र आजभोलिको तीजमा सभ्यता हराउँदै र विकृति मौलाउँदै गएको छ । नारीहरुको महान् पर्वका रूपमा लिइने तीज तीज जस्तै बनोस् । संस्कृति, परम्परा र रितीरिवाजमा छाडा र उत्ताउलोपनाको अन्त्य होस् । आधुनिक गीत संगीतसहितको महँगा फेसन र गरगहनाको प्रतिस्पर्धा नहोस् । आम नेपाली दिदीबहिनीहरुमा हरितालिका तीज पर्वको अवसरमा हार्दिक मंगलमय शुभ कामना !
– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
साँच्चै ने नामक तपस्वी मुनिले बस्ती बसालेकोले यस देशलाई नेपाल भनिएको हो । युगौंदेखि यसको छुट्टै अस्तित्व रहेको थियो । संस्कृत भाषामा नयेन पाल्यते इति नयपालः भनिन्छ । न्यायद्धारा धर्मको समेत रक्षा गरी जहाँ राज्य संचालन हुन्छ, त्यो राज्यलाई नेपाल भनिएको हो । संस्कृत भाषा नयपाल अपभ्रंश हुँदा हाम्रो देश नेपाल भएको हो ।
यो देश हिमालयको काखमा रहेको छ । यो शिव र शक्ति अर्थात् महादेव र पार्वतीको बासस्थल हो । सतीदेवीले आफ्नो प्राण त्याग गरे पछि शिवकै इच्छाअनुसार हिमालय पर्वतराज पुत्री भएर यसै हिमालय क्षेत्रमा जन्म लिई श्री शिवलाई पुनः प्राप्त गरेकी हुन् । सतीदेवीको पछिल्लो रूप हिमालय पर्वत राज महारानी मेनकाको गर्भबाट पार्वतीको रूपमा जन्म भएको हो । उनै पार्वतीका नामले पश्चिम हाम्रो क्षेत्र पर्वत जिल्ला र त्यहाँ रहेका अनेकौँ पर्यटकीय स्थल देखाएर हामी विदेशी मुद्रा आर्जन गरिरहेका छौँ । हिमालयको शिखर सगरमाथाको प्राचीन नाम ब्योमकुट हो, जुन विश्वमै सर्वोच्च छ । संसारबाटै सगरमाथा हेर्न र चढ्न आउनेको संख्या कमी छैन हामी कहाँ । तीजको परम्परा उनै पार्वतीका कारण शुरु भएको हो ।
राजनैतिकरूपमा दृष्टिगत गर्दा नेपालमा पहिले गोपालबंशीहरुले राज्य गरेका थिए । भुक्तमान, जय गुप्त, परमगुप्त, यज्ञ गुप्त आदि राजाहरुले पाँच सय वर्षसम्म राज्य गरे । त्यसपछि महिपाल (जसलाई अहिर भनिन्छ)हरुले शासन गरे । शुरुमा नेपाल भन्नाले काठमाडौ उपत्यका मात्रलाई जनाउँथ्यो । मूल सिंह, जय सिंह, भुवन सिंह राजाहरुले झण्डै सय वर्ष राज्य गरेपछि उपत्यकाको राज्य संचालनको जिम्मा किराँतहरुले लिए । एक हजार वर्षसम्म करिब यिनीहरुले राज्य गरे । यलम्बरलाई किराँतकालीन प्रथम शासक मानिएको कुरा इतिहासविद्हरु बताउँछन् । बौद्ध धर्मको पनि बाहुल्यता भएको कुरा विदेशी लेखक राइटले बताएका छन् । काठमाडौंमा स्वयम्भु चैत्य र बौद्ध स्तुपहरु भव्यरूपमा निर्माण छन्, आज त्यहीँ विदेशी पर्यटकहरुको भीड भाड छ । नेपालको इतिहास स्थापना गर्ने कार्यमा महामुनि मञ्जुश्रीको नाम अग्रस्थानमा रहेको पाइन्छ । यो पनि विदेशी पर्यटककै देन हो ।
पशुपति मन्दिर परिसरमा स्थापित वि.सं. ७९० को अभिलेखमा लिच्छवी वंशका प्रथम राजा जयदेव प्रथम भनिएको छ । प्रसिद्ध कैलाशकुट भवन, चाँगुनारायणको मन्दिर, बूढानीलकण्ठ स्थान आदिको स्थापनामा मानदेवको नाम अग्रणीरूपमा आउँछ । यी सबै हाल विश्व सम्पदा सूचीमा सूचीकृत छन् । इतिहासले राजा मानदेवलाई प्रथम लिच्छबी राजा मानेको छ । राजा मानदेव र उनका पालामा बनेका धेरै बौद्ध स्तूपहरु छन् यहाँ । वि.सं. ९३७ सँगसँगै नेपाल मल्लकालीन समयमा अवतरण हुन्छ । मल्ल शासनकालका प्रथम राजा अरिमल्ल, उनका छोरा अभय मल्ल र यस पछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको हो । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाकंन विस्तृत भएको र छोराहरुलाई राज्य सुम्पदा काठमाडौं, भक्तपुर र पाटन छुट्टिएको देखिन्छ । भक्तपुरमा भुपतीन्द्र मल्लद्धारा बनाउन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरु धेरै छन् । पाटनमा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका कलाकारीताले पूर्ण भएका मन्दिरहरु धेरै छन् । काठमाडौंमा प्रताप मल्लका पालामा बनेका सयौं मन्दिरहरु छन् भने रानी पोखरी पनि उनकै पालामा बनेको हो । गाईजात्राको प्रसङ्ग यिनैबाट शुर हुन्छ । न्यायको, नैतिकताको आधारमा राज्य संचालन हुने, आवश्यकताअनुसार मठ मन्दिरहरु बन्ने गरेकाले पुख्र्यौली सम्पदाबाट हामी अभैm धनी भएका छौँ । हनुमान ढोका, कुमारी स्थानकै कारण भाद्र शुक्ल चतुर्दशी कुमारी जात्राको प्रसंग यहीँ जोडिन्छ ।
हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको बर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्धापरदेखि करिब पाँच हजार वर्षदेखि आरम्भ भएको कलि युगमा पनि यो तपोभूमिकै रूपमा रहेको छ । आधुनिक मेचीदेखि महाकालीसम्मको सीमाना भूमि नेपाल विश्वकै एउटै नमूना क्षेत्र हो । पृथ्वीको सबैभन्दा ठूलो एशिया महाद्धिपको मध्य भागमा रहेको यो मुलुक भारत र चीनका बीचमा छ । आर्थिक विकासको दृष्टिले निकै अगाडि बढेका दुई छिमेकी भारत र चीनसँग यसको विशेष सम्बन्ध रही आएको छ । सरदर १९३ कि.मि. उत्तर–दक्षिण चौडाई र पूर्व–पश्चिम सरदर ८८५ कि.मि. लम्बाई क्षेत्र ओगटेको यसको क्षेत्र पूर्वी भागको अपेक्षा पश्चिम भाग फराकिलो छ । भौगोलिक दृष्टिले विश्व मान चित्रमा सानो आकार भए पनि विश्वको शिखर सगरमाथाको कारण र विश्वमै नौलो प्राकृतिक, सांस्कृतिक, सामाजिक परिवेश भएकाले यो मुलुकप्रति सबैको चासो बढ्नु स्वाभाविक हो । यसको कूल भू–भागको झण्डै ७७ प्रतिशत उच्च हिमाली क्षेत्र र पहाडी क्षेत्र तथा झण्डै २३ प्रतिशत क्षेत्र तराई भागमा पर्छ । धरातलीय आधारमा यसलाई हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ भने अपार जल स्रोतको भण्डार रहेको यो मुलुक लामो विगतदेखि नै पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
उत्तर तिब्बततर्फ सीमाना २५ कि.मि.देखि ५० कि.मि.सम्मको चौडाइमा रहेको नेपालको क्षेत्रले करिब १५ प्रतिशत भू–भाग ओगटेको छ भने अग्ला हिमशिखर कञ्चनजङ्गा, मकालु, ल्होत्से, मनासलु, धवलागिरीसम्म यसै क्षेत्रमा पर्छन् । शेर्पा, थकाली, भोटे आदिको अधीक बस्ती रहेको यो क्षेत्रमा आधुनिक विकासको न्यानो घाम लाग्न नसके पनि पर्यटकहरुको घुइँचोे नै लाग्ने गरेको छ त्यस क्षेत्रमा । बौद्ध धर्मावलम्वीहरुको अधीक बाहुल्यता रहेको यो हिमाली क्षेत्रमा संचार, यातायात, शिक्षा, विद्युत् जस्ता विकासका पूर्वाधार तयार गर्ने होे भने, हामीले कल्पना गरेकोे जस्तो होम स्टे तयार गर्ने हो भने पर्यटकहरु थामी सक्नु हुँदैन त्यहाँ । ७७ जिल्ला मध्ये १६ वटा जिल्ला ओगटेको हिमाली क्षेत्रको संस्कृति छुट्टै किसिमको छ । समुद्रबाट टाढा रहेका कारण तेस्रो मुलुकसँग सम्पर्क गर्न कठीनाइ भएको यो क्षेत्र समुद्र सतहबाट ६ सयदेखि ३ हजार मीटरसम्मको उचाइमा रहेको छ । पूर्व–पश्चिम कडा चट्टानी भाग रहेको यो क्षेत्र ७५ कि.मि. देखि १२५ कि.मि. चौडाई पूर्व पश्चिम पैmलिएको छ । यो पहाडी क्षेत्रले कूल भू–भागको ६८ प्रतिशत क्षेत्र ओगटेको छ । महाभारतको लेक, रारा, ताल, फेवा ताल, सिवालिक पहाड जस्ता ऐतिहासिक धरोहर बोकेको पहाडी क्षेत्रकै कारण यो मुलुकलाई पहाडी मुलुक भनिएको हो । गण्डकी, कोशी, कर्णाली, सुनकोशी, त्रिशुली, महाकाली जस्ता अति पवित्र नदीहरु यहीँ छन् । स्वर्गबाट झरेका, शिव जटाबाट बगेका पावन नदीनालाहरुले हिमाली क्षेत्रदेखि यस भू–क्षेत्रसम्मलाई पवित्र पार्दै भारतको प्रसिद्ध क्षेत्र गंगासागरसम्म पुगेका छन् । अयोध्याको क्षेत्रमा वग्ने पवित्र सरयु नदी नेपाल पश्चिम क्षेत्रकी कर्णाली, महाकाली हुन् । वागमती, विष्ण्ुामती हिजोआज प्रदुषित देखिए पनि तिनको उद्गम क्षेत्र शिवपुरी स्वयम् शिवजटा नै हो । गहिरो अरुण, पूर्वको कोशी अनि वहुचर्चित मेलम्ची पनि यिनै पहाडी क्षेत्रवाट बगेकी छन् । यी सबैको ऐतिहासिक यथार्थ विदेशीहरुलाई बुझाउन सके पर्यटकहरुको कमी हुन्न यहाँ ।
राजधानी काठमाडौं, सुन्दर पर्यटकीय नगरी पोखरा, विशाल क्षेत्र ओगटेको सुर्खेतको देउती बज्यै र काँक्रे विहार, अत्यन्त रमणीय क्षेत्र डोटीको शैलेश्वरी, डँडेल्धुराको उग्रतारा, दिपायलको राजापुर के छैन हामीकहाँ ? सिन्धुलीको सभ्यतादेखि रुम्जाटार, बेलटार, मङ्गलटार, पाँचखाल हुँदै पश्चिम रेसुङ्गादेखि रुरुसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाट सम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ जो कोहीलाई पनि । जनकपुरको जानकी क्षेत्रदेखि नवलपरासीको त्रिवेणी क्षेत्र र डडेलधुराकी उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भू–भागलाई तीव्रतर देवभूमि र आनन्दभूमि बनाएको छ । देशकोे दुई तिहाई भू–भाग ओगटेको पहाडी क्षेत्रका ३९ वटा जिल्लाहरु र पूर्वमा माईपोखरीदेखि पश्चिममा महाकालीको ब्रह्मदेव क्षेत्रसम्म पावन र पवित्र छ । ब्राह्मण, क्षेत्री, किँरात, मगर, नेवार, तामाङ आदि विभिन्न जात जातिका मानिसहरु आपसी समन्वयका साथ यस क्षेत्रमा बस्दै आएका छन् । जातिपातिमा बैमनस्यता कहिल्यै भएको थिएन । त्यही हेर्न ,बुभ्mन र चिन्तन मनन् गर्न आउँछन् यहाँ विदेशी पर्यटकहरु ।
दक्षिण समथर भू–भाग मुलुकको झण्डै १७ प्रतिशतले ओगटेको तराई क्षेत्र हो । हिमश्रृंखलाहरुको विशाल समथर आँगन हो यो । भारतसितको सम्बन्ध, आयात–निर्यात व्यापार र राजश्वको स्रोत क्षेत्र तराई नै हो । कृषिको लागि यो क्षेत्र उर्वर छ । औद्योगिक कलकारखाना, यातायातको सुगमता, पूर्वाधार तयार गर्न सजिलो, जीवनस्तर सरल आदिको कारण तराई क्षेत्र नेपालको आर्थिक विकासको अर्को आधार नै हो । मैथिली, भोजपुरी, अवधी, थारु आदि भाषाको बाहुल्यता रहेको यो क्षेत्रमा औँलो उन्मूलन पछि झण्डै पाँच दशक यतादेखि पहाडी एवम् हिमाली भेगका मानिसहरु त्यहाँ बसाई सरी बस्दै आएका छन् । विराटनगर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगंज, धनगडी, कंचनपुर जस्ता औद्योगिक नगरीहरु यस क्षेत्रमा रहेका छन् । व्यापार, वाणिज्यका दृष्टिले यी शहरहरु उन्नत छन् ।
अहिंसा परमो धर्म नेपालको शान्ति, मैत्री र अहिँसा विश्वको लागि उदाहरण बन्नु नै पर्ने हुन्छ । सबै वैदिक सनातन धर्मका आदीम स्रष्टा विश्व साहित्यका आदि कवि वेदव्यास, महर्षि वाल्मीकीसमेतको तपस्थली नेपाल भूमि नै हो । त्रेतायुगका सूर्यवंशी राम आफ्ना पितृ उद्धार गर्न नेपालको पश्चिम क्षेत्रमा पर्यटक भई डोटीमा आएका थिए । साथमा रहेकी सीताको नामले सेती नदी अहिलेसम्म बग्दैछ त्यहाँ । विश्व साहित्यका प्रणेता व्यास, वाल्मीकीलगायत उच्च विशिष्ट व्यक्तिहरुवाट तयार भएको वेद, उपनिषद्, पुराणका ग्रन्थ तथा हिन्दू, वौद्ध सभ्यतालाई वडो भरपर्दोरूपले व्यवस्थित गर्न सके हामीलाई कहिल्यै अर्काको हात थाप्नु पर्दैन । पूर्वी सभ्यताको खोजी गर्दैछन् पश्चिमाहरु यहाँ आएका छन् । नेपाल उनीहरुको लागि अध्ययन क्षेत्र बनेको छ । हामीले भने हामीसँग भएको धर्म, संस्कृति, जल, जमिन, जंगल र जडीबुटीको सदुपयोग गर्न सकेका छैनौ ।
–खिमराज गिरी
हामीले तिरेको कर कहाँ जान्छ ? उठेको राजस्व कुन क्षेत्रतर्फ बढी प्रवाह हुन्छ, त्यसका निमित्त सुक्ष्म अध्ययनको आवश्यकता पर्दैन ? सडकमा गुड्ने अत्यन्त महँगा–महँगा तर नयाँ–नयाँ गाडीहरुलाई हेरे पुग्छ । सरकारको स्वामित्वमा रहेका रातो नम्बर प्लेटका गाडीहरुको प्रयोजन बुझिनसक्नु छ ।
एक वर्ष अगाडि पनि विभिन्न पत्रपत्रीकाहरुमा “हामीले तिरेको कर कहाँ जान्छ ?” शीर्षक लेखको व्यापक चर्चा परिचर्चा भएको थियो र अहिले पनि यसको सान्दर्भिकता औंल्याउंदै पंक्तिकारले केही लेख्ने प्रयास गरेको छ । यथार्थपरक यो लेखले साँच्चै हाम्रोजस्तो अविकसित देशमा जनताले खाई नखाई तिरेको करको सदुपयोग कसरी भइराखेको छ भन्ने कुराको वास्तविकता उजागर भएको थियो र अहिलेको सरकारको रवैया पनि त्यस्तै देखिएको छ जुन पहिला पनि हुने गथ्र्यो । आखिर जनताले प्रश्न सोध्छन् नै ः संघीय संसदको काम के ? संसदको लेखा समितिको औचित्य कतिसम्म अनि सरकारले उसको निर्देशन पालन गरेको छ त ? खर्चको सुनिश्चितता र पारदर्शिताको लेखाजोखा गर्ने महालेखापरिक्षकको कार्यालयले के हेर्छ ? आदि यी अनुत्तरित प्रश्नहरुको जवाफ खोजिरहेका छन् जनताले । तर, राज्यका सम्बन्धित निकायहरु भने मौन हुन्छन् किन ?
कतिपय सरकारी कार्यालयमा मर्मत गरेर चल्ने खालका गाडीहरु घाँसले छोपिएर राखेका प्रशस्तै भेटिन्छन् तर, सरकारी निकायको ध्यान त्यतातिर जाँदैन । त्यस्तो अवस्थाको न त जनप्रतिनिधिको निकायले निगरानी गर्छ, न त अन्य अधिकार सम्पन्न सरकारी निकायले । तर, हामीले तिरेको करबाट बनेको राज्यको ढुकुटीको दोहन गरेर नयाँ–नयाँ सामाग्रीहरु किन्नै पर्ने अवस्था भने विद्यमान छ । त्यो पनि महँगा र चिल्ला गाडीमा सयर गर्नुपर्ने संस्कृ ितबनेको छ । सुबिधाको नाममा संकोच र दुबिधा नमानी आफु र आफ्ना परिवारलाई विदेश भ्रमणमा जानैपर्ने अवस्था छ । राज्यका हरेक तहका नेता, पदाधिकारीलाई गाडीदेखि लिएर हरेक सेवा सुबिधा बाँड्नै पर्ने आदि कारणले गर्दा विकासको गतिमा देश कसरी अगाडि बढ्छ ? आज बेथिति तलदेखि माथिसम्मै चुलिएको छ । स्थानीयदेखि केन्द्र सरकारसम्म अनेकन शीर्षकमा बेथितिको चाङ्ग छ । जनस्तरबाट निरन्तर प्रश्न उठेको भएपनि त्यसलाई सम्बोधन गर्ने न त कुनै निकाय छ न त कसैको पहल । आज बढ्दो बेथितिकै कारण जनतामा चरम निराशा पैदा भएको छ । विशेषतः युवाहरु पलायन हुने अवस्था बनेको कारण पनि यही हो । युवाहरु पलायनको कारण यो परिपाटीले सिर्जना गराएको निराशा पनि हो ।
तसर्थ, अहिलेको आवश्यकता बेथितिको अन्त्य गर्नु हो । सबै निकायहरु आफ्नो भूमिकाप्रति जिम्मेवार हुनु पनि अहिलेको आवश्यकता हो । प्रश्न उठेका विषयप्रति जवाफदेहिताको खोजी जनताले गरेका छन् । त्यसकारण राज्यका हरेक निकायले आफ्नो नैतिक धरातल नगुमाई पारिवारिक सातपुस्ते चिन्तनबाट टाढा रहेर आ–आफ्नो क्षेत्रबाट कम्सेकम राज्य र जनताको लागि साेंच्न सक्ने हो भनेमात्र देश र जनताको लागि केही लाभ होला । यदी त्यसो भएन भने, हामी जहाँको त्यहीँ हुनेछौ । ता कि, दुई÷चार डोज खोपको लागि पनि भुटान जस्ता मुलुकको भर पर्नुपर्ने अवस्था फेरि पनि आइरहने छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies