काठमाडौं : उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदातल काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनले नक्कली विल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । साथै उनले स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको दाबी छ ।
रजिष्ट्रार कटवालले श्रीमतीलाई उच्च अदालतको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन शुरु गरेको थियो ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमलगायत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार बिशेष अदालत काठमाडौंमा गौतमका साथै गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालिन सहायक प्रशासक मनोज कुमार शर्मा भनिने मनोज कुमार आचार्य र तत्कालिन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालसहित १३ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धमा आरोपपत्र दायर गरेको हो ।
आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारवाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा साविक भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।
सोही कारण उनीहरूले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले विशेष अदालत, काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
बुटवल : स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित अवैध रकम ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।
शाक्यले बोकेको झोलाबाट श्रोत नखुलेको नेपाली चौबिस लाख पचास हजार फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले जानकारी दिए ।
काठमाडौंः कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् ।
नेवार समुदायमाथि आघात पुर्याउने गरी कमेडी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बहादुर बोहराले जानकारी दिए।
नेवार समुदायको परम्परामा ब्यङ्ग्य गर्दै युट्युवमा भिडियो अपलोड गरेका उनलाई कारबाहीको माग गर्दै अभियन्ताहरु शनिबार काठमाडौं परिसर पुगेका थिए।
झापाः झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।
श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
राजेन्द्र महतो/मध्यान्ह
सिरहा : शारिरीक यातनालगायत यौन उत्पीडनविरुद्ध सिरहाकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । ईलाका प्रहरी कार्यालय लहान पुगेर माया (नाम परिवर्तन)ले आफ्नै ससुरा र देवरविरुद्ध उजुरी दिएकी हुन् ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले शारिरीक यातना तथा यौन उत्पीडनविरुद्ध उजुरी आएको मध्यान्हलाई जानकारी दिए ।
विवाह भएको केही दिनमै शारिरीक यातना मात्र नभई ससुरा र देवरले अनैतिक क्रियाकलाप गर्न दबाब दिन थालेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।
ससुराको सेवा गर्न सासुको दबाबमा एउटा कोठा थुनिदिएको र सासुले बाहिरबाट ढोका लगाइदिएको बताउँदै उनले देवरले विभिन्न वाहना बनाएर आफूलाई अश्लिल क्रियाकलापमा फसाएको बताइन् ।
उनी भन्छिन्, 'पटक पटक अश्लिल क्रियाकलाप गरी शारिरीक यातना समेत दिए । मेरा पति उनीहरुकै पक्षमा रहँदा माइतीdf सम्पर्क गर्न खोजें, तर सम्पर्क गर्न समेत दिएनन् ।'
आफूलाई हप्तौंसम्म घरमा थुनेर राखेको उनकाे आरोप छ । जसतसो माइतीमा सम्पर्क गरेको बताउँदै उनले त्यसपछि थप यातना दिन थालेको र कुटपिट गर्दा आफ्नो करङको हड्डी भाँचिएको समेत बताइन् ।
फलामे रडले कुटपिट गर्दा दूई हप्ता अस्पतालमै भर्ना भएर उपचार गराएको उनी बताउँछिन् ।
उनी भन्छिन्, 'एक महिनापछि आज लहान प्रहरीमा उजुरी हालें । उचित न्यायको लागि प्रहरीसँग अपेक्षा गरेको छु ।’
भारत लौकहाको डुवरवौना माइती रहेकी उनको लहान १९ छर्रापट्टीका समरुलसँग २०२१ जनवरी २२ मा विवाह भएको थियो । देवर नइम र ससुरा फुलचन हुन् ।
डिएसपी मैनालीले यसबारे अनुसन्धान गरेपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उता, आरोपित पक्षले भने बाहिर आएजस्तो घटना नरहेको दाबी गरेको छ ।
कपिलवस्तुः कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।
घरमा परिवारसँगै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली प्रहार गरेका उनको परिवारका सदस्यको दाबी छ ।
गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।
तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. चौधरीले बताए ।
जनकपुरधाम : मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको पिडारीचोकस्थित रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको भन्दै ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रका भिनाजु कुमार खड्गविक्रम शाहले गुठी संस्थान तथा मालपोतका कर्मचारीलाई प्रभावमा पारेर रत्नसागर मन्दिरको ८ बिघा १० कठ्ठा १२ धुर सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएको अख्तियारको दाबी छ ।
गैरकानुनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत रा सहित टिप्पणी पेस गर्ने तथा स्वीकृत दिने समेतका गैरकानुनी क्रियाकलापमा संलग्न भएको भेटिएको अख्तियारले जनाएको छ ।
शाहको दरबार हत्याकाण्डमा परेर मृत्यु भइसकेको छ । अपराधीसँगै अपराध मर्छ भन्न्ने फैजदारी न्यायको सर्वमान्य सिद्धान्त छ र फौजदारी कार्यविधि संहिताले पनि उनलाई कैद वा जरिवाना हुन सक्दैन ।
तर साविक भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम बिगो भराउन सक्ने भन्दै शाह वा निजको हकवालाको नाममा रहेको सम्पत्तिबाट २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो असुल गर्न अख्तियारले माग गरेको छ ।
शाहले गुठी संस्थान तथा मालपोतका कार्यालयका कर्मचारीसमेतलाई प्रभाव र प्रलोभनमा पारी धनुषाको साविक पिडारी–५ स्थित कित्ता नम्बर १३२, १३३, १३४, १३५ र कित्ता नम्बर ६ को ८ बिगाहा १० कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।
तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बास्ताकोटी, मालपोतका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पञ्जियार र खरिदार गजदेव कामतीलाई भने २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय माग गरिएको छ ।
काठमाडौं : बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ ।
उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए ।
उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश दिएको थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies