काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई विधान विपरीत सीमित व्यक्तिहरूको इच्छामा सञ्चालन गर्न खोजिएको भन्दै निर्वाचन समितिमा प्रतिनिधि नपठाउने बताएको छ । संघले आगामी पुस ८ गते आफ्नो साधारणसभा र निर्वाचन गर्ने निर्णय गरेकोे थियो ।
मञ्च अध्यक्ष राजेन्द्र भण्डारीले तत्काल साधारणसभा तथा कार्यसमिति निर्वाचन गराउने गरी गत फागुनमा जिम्मेवारी पाएको समितिले करिब एक वर्षपछि निर्वाचनको मिति तोक्नु विधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको दाबी गरे ।
संघले निर्वाचन गराउन लक्की एचआर सोलुसन प्रा.लि.का सञ्चालक ऋषि शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै संघले कार्यसमितिका सदस्य तथा पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालाई सह–संयोजक र कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
अध्यक्ष भण्डारीले तदर्थ समितिलाई अन्य विभिन्न समिति गठन गर्ने निर्वाचित समितिले पाए सरहको अधिकार नै नहुने दाबी गरे । उनले भने, ‘तदर्थ समितिको हैसियत नै सीमित हो । व्यवसायीले चुनेर पठाएको नभई प्रशासनले निर्वाचन गराउन दिएको सीमित म्याण्डेट भुलेर निर्वाचित प्रतिनिधि जस्तो आफैंले आफ्नो शक्तिको विस्तार गरेर काम गर्न खोज्नु गैरकानूनी हो । त्यसैले हामीले त्यस्ता अवैधानिक समितिमा मञ्चको प्रतिनिधि पठाउँदैनौं ।’
संघले सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधनको प्रक्रिया शुरु गर्न लागेकोले ऐनलाई व्यवसायीमैत्री बनाउन संघको तर्फबाट मस्यौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नका लागि इम्प्लोइमेन्ट लिंक प्रा.लि.का संचालक तथा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजारको संयोजकत्वमा ५ सदस्यीय ऐन मस्यौदा सुझाव समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिमा रोयल गण्डकी म्यानपावर प्रा.लि.का संचालक तारानाथ अर्याल, एसिया लिंक सर्भिस प्रा.लि.का संचालक मिलन कट्टेल र संघका कानूनी सल्लाहकारहरू वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र अधिवक्ता देवराज कटुवाल सदस्य छन् ।
अध्यक्ष भण्डारीले सम्बन्धित व्यवसायीसँग परामर्श नै नगरी प्रतिनिधि राखेकाले त्यसमा पनि मञ्चको विरोध रहेको बताए । उनले भने, ‘कानूनी आधार बिना समिति गठन गर्ने र जथाभावी प्रतिनिधि तोक्ने व्यवहारले नेतृत्वको इमान्दारितामाथि नै प्रश्न उठेको छ, तदर्थ समितिको आफ्नो कार्यकाल लम्ब्याउने शैलीले संघको आर्थिक हिसावकिताबको पारदर्शितामासमेत प्रश्न उठेको छ ।’
संघले निकट भविष्यमा दशैं, तिहार र छठ जस्ता चाडवाड आएको र त्यसको लगत्तै आम निर्वाचन आएकोले आम निर्वाचन लगत्तै आगामी २०७९ पुस ८ गते शुक्रबार संघको साधारणसभा र निर्वाचन गराउने निर्णय गरिएको बताएको छ ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली कामदार तथा वजार प्रवद्र्धनका लागि जाने व्यवसायीलाई क्युआर कोड तथा खोपका विषयमा तालिम दिने भएको छ । उक्त तालिम आगामी भदौ १७ गते शुक्रबार टेकु स्वास्थ्य सेवा विभागभित्र रहेको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको मनकामना हलमा हुने तय भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यसमिति, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र जातीय, भेगीय संघ संगठनका प्रतिनिधिसहित सबै व्यवसायीलाई सहभागी गराउने गरी उक्त तालिम आयोजना गरिएको संघको समस्या सहजीकरण प्रतिनिधि कर्णराज कटुवालले मध्यान्हलाई बताए ।
काठमाडौं : मलेसियामा गैरकानूनीरूपमा बसेका २ सय ४६ जना नेपाली पक्राउ परेका छन् । मलेसिया अध्यागमन कार्यालयले गत जनवरीयता सञ्चालन गरेको ५ हजार ४ सय १६ अपरेशनमा अवैधानिकरूपमा लुकीछिपी बसेका १३ हजार ५ सय २४ जना मध्ये नेपालीको संख्या २ सय ४६ जना रहेको मलेसियाको अध्यागमनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
त्यस अवधिमा गैरकानूनीरुपमा बस्ने सबैभन्दा धेरै इन्डोनेशियाका ६ हजार ४८, म्यानमारका २ हजार ९३, बंगलादेशका १ हजार ७ सय ३२, थाइल्यान्डका ९ सय ६९, फिलिपिन्सका ७ सय १८, भारतका ५ सय ५५, पाकिस्तानका ३ सय ६६, कम्बोडियाका २ सय ५३ र भियतनामका २ सय ३५ जना रहेका छन् ।
काठमाडौं : भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ । यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शंकास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो ।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरुको खोजीकार्य शुरु भएको उनले बताए ।
नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैं बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
उनीहरुका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारबाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए ।
आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरुको नाम भने ब्युरोले खुलाएको छैन ।
काठमाडौं : विदेशी कामदार आपूर्तिका लागि आवेदन दिनेको चाप बढेपछि मलेसियाको मानव संशाधन मन्त्रालयलाई रोजगारदाताहरूको ‘क्यू’ व्यवस्थापन गर्न समस्या परेको छ । विदेशी कामदार लैजान चाहने रोजगारदाताहरूको चाप बढेपछि मन्त्रालयले उनीहरूसँगका प्रारम्भिक अन्तर्वार्ताहरूलाई कम्तीमा एक हप्ता पछिको समय दिने गरेको छ ।
मन्त्रालयले एप्वाइन्टमेन्ट दिएका रोजगारदातालाई पनि पछाडि तोकिएको मितिमा सम्पर्क गर्न भनेको छ । गत आइतबार ३ सय रोजगारदाताले प्रारम्भिक अन्तर्वार्ताका लागि समय पाएको भएपनि आधाभन्दा बढीलाई बीचबाटै फर्काइएको उक्त मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द गरी दुई वर्षदेखि विदेशी कामदारको आवागमन बन्द गरेकोे मलेसियाले विदेशी कामदारका लागि आफ्नो ढोका पुनः खोलिदिएपछि ठूलो संख्यामा आवेदन प्राप्त भएका कारण भीड बढेको हो ।
‘संख्या तोकेर आवेदन माग गरेको भन्दा कम कोटा प्राप्त गर्ने रोजगारदाताहरूले पुनः आवेदन गर्नुपरेको कारणले आवेदनहरूको संख्यामा वृद्धि भयो,’ मन्त्रालयले भनेको छ । मन्त्रालयले रोजगारदाताहरूलाई नयाँ आवेदन पेश गर्नुअघि स्वीकृत पाएको सबै संख्यामा विदेशी कामदार ल्याउन आग्रह गरेको छ । मलेसिया नेपाली कामदारको पनि आकर्षक गन्तव्य हो । मलेसियामा कामदारको न्यूनतम तलब वृद्धि भएपछि आकर्षण थप बढेको छ ।
काठमाडौं : एकीकृत वैदैशिक रोजगार व्यवसायी संगठन नेपालले प्रमुख सात विषयमा वैदैशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक उमाकान्त आचार्यको ध्यानाकर्षण गराएको छ । सोमबार महानिर्देशक आचार्यलाई विभागको कार्यकक्षमा भेटी कार्यकाल सफलताको बधाई तथा शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगार व्यवसायीले भोगिरहेका समस्याका बारेमा अवगत गराउँदै संगठनले ज्ञापन पत्र बुझाएको छ ।
संगठनले साउदी अरबको रोजगारीमा देखिएको समस्या, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेका समस्या, पूर्व तथा अन्तिम श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण समस्या, सिजनल तथा सर्ट टर्म भिसाका बेथिति, स्वास्थ्य परीक्षण गर्ने मेडिकलको समस्या र अनुचितरूपमा बढाइएको शुल्क वृद्धि र सेवा शुल्क परिमार्जनका विषयमा महानिर्देशक आचार्यको ध्यानाकर्षण गराएकोे हो ।
संगठनले वैदेशिक रोजगारका क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधान हुन नसक्दा निर्वाधरूपमा पेशा व्यवसाय गर्ने वातावरण नभएको अवस्थामा छोटो समयका लागि राम्रो आम्दानी हुने कतार तथा युरोपेली मुलुकबाट नेपाली कामदारका लागि माग भई आइरहेको तर शैक्षिक परामर्शदाता, भाषा सिकाउने ल्यांग्वेज इन्स्टिच्युट, ट्राभल्स एजेन्सी, गैरसरकारी संस्था तथा व्यक्तिहरूले चर्काे रकम असुली गरेर पठाउने तर विदेश पुगेका व्यक्तिहरू अलपत्र परेको अवस्थामा दायित्व नलिने प्रवृत्ति व्यापक बनेकाले अविलम्ब कार्यविधि निर्माण गरी असुरक्षितरूपमा वैदेशिक रोजगारीमा जाने तथा पठाउने प्रवृत्ति रोकिनुपर्ने माग गरेकोे छ ।
जवाफमा महानिर्देशक आचार्यले आफू व्यवसायीहरूले झेल्नुपरेको समस्याहरूमा जानकार रहेको भन्दै सहकार्य र छलफलबाट न्यायोचित समाधान खोज्ने प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगार समस्या मात्रै नभएर अवसर पनि भएकोले यो क्षेत्रमा रहेका समस्याको समाधान हुनुपर्ने पक्षमा आफू रहेको महानिर्देशक आचार्यको भनाइ थियोे ।
संगठनका अध्यक्ष सन्तकुमार लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेकोे थियो ।
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ ।’
सांसद डा डिला संग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गरिन् । रासस
सिन्धुपाल्चोक : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको संख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको संख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार नौ सय १९ फाराम संकलन भएको थियो । छ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार वैदेशिक रोजगारीका लागि तीन हजार पाँच सय ५५ महिला तथा चार हजार सात सय ९९ पुरुषले राहदानी लिएका हुन् । केहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ ।
राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार दुई सय राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा हालैको गठबन्धन कायमै राखेर जाने सम्भावना छ । हाल संघको तदर्थ कार्यसमिति नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाल, समाजवादी वैदेशिक रोजगार व्यवसायी संघको समर्थनमा गठन भएको हो ।
ती संगठन अहिले कायम सहमति अनुसार आगामी निर्वाचनमा जाने मनस्थितिमा छन् । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल गठबन्धनमा सामेल छैन ।
मञ्चका महासचिव जनक रावलले व्यावसायिक संस्थाको निर्वाचन राजनीतिक आस्थाको आधारमा गराउने र नेतृत्व कब्जा गर्ने सोच वैदेशिक रोजगारको संस्थागत विकासका लागि घातक हुने भन्दै मञ्चले गठबन्धनको शसक्त प्रतिवाद गर्ने बताए ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो साधारणसभा र निर्वाचन आगामी पुस ८ गते गर्ने निर्णय गरेकोे छ । संघ तदर्थ कार्यसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संघले निर्वाचन गराउन लक्की एचआर सोलुसन प्रा.लि.का सञ्चालक ऋषि शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला निर्वाचन समितिको सदस्य सचिव तोकिएका छन् । निर्वाचन समितिको एक सदस्य पछि तोक्ने तदर्थ कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेले बताए । निर्वाचन समितिको रिक्त एक सदस्य प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको सिफारिसमा राख्ने संघ श्रोतले बतायो ।
संघले निर्वाचनको मिति घोषणासँगै कार्यसमितिका सदस्य तथा पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालाई सह–संयोजक र कार्यसमिति सदस्य न्यौपानेलाई सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको छ । संघको साधारण सभा र निर्वाचन गराउनुपर्ने भएकोले संघलाई चुस्त बनाउन सह–संयोजक र सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।
संघ संयोजक ढकाल पार्टी राजनीतिमा पनि सक्रिय हुने कारण पटक–पटक राजधानी बाहिर जानुपर्ने भएकाले कटुवाललाई सह–संयोजकको जिम्मेवारी दिइएको बताइएको छ । साधारणसभामा संघको महासचिवको वार्षिक प्रतिवेदन तयारी लगायतको काम गर्न सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।
संघले सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधनको प्रक्रिया शुरु गर्न लागेकोले ऐनलाई व्यवसायीमैत्री बनाउन संघको तर्फबाट मस्यौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नका लागी इम्प्लोइमेन्ट लिंक प्रा.लि.का संचालक तथा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालको संयोजकत्वमा ५ सदस्यीय ऐन मस्यौदा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले सुझाव संकलन गरी संघलाई बुझाउने र संघले उक्त सुझाव मन्त्रालयमा पेश गर्नेछ । उक्त समितिको सदस्यहरुमा रोयल गण्डकी म्यानपावर प्रा.लि.का संचालक तारानाथ अर्याल, एसिया लिंक सर्भिस प्रा.लि.का संचालक मिलन कट्टेल र संघका कानूनी सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौला र अधिवक्ता देवराज कटुवाल रहेका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनलगायतले दशैं र तिहारको बीचमा निर्वाचन गर्न उपयुक्त हुने धारणा राखेका थिए । तर संघले निकट भविष्यमा पनि दशैं, तिहार र छठ जस्ता चाडबाड आएको र त्यसको लगत्तै आम निर्वाचन आएकोले आम निर्वाचन लगत्तै आगामी २०७९ पुस ८ गते शुक्रबारका दिन संघको साधारणसभा र निर्वाचन गराउने निर्णय गरिएको बताएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies