पोर्चुगल : पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।
स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।
एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ । एजेन्सी
एजेन्सी : इराकको राजधानी बग्दादमा भएको भिडन्तका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ ।
शक्तिशाली शिया नेता मुक्तदा अल सदरले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बग्दादमा भिडन्त भएको हो ।
धर्मगुरुका समर्थकहरू सरकारी भवनलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले विपक्षी समूहमाथि आक्रमण समेत गरेका छन् ।
सोमबार राति बग्दादमा मेशिन गन चलेको र बिस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी कार्यलय तथा विदेशी दूतावासहरूलाई समेत निशाना बनाइएको छ । पछिल्लो भिडन्त पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भ्रष्ट संरचना तोड्न नसकेको भन्दै राजनीतिबाट सन्यास लिने धर्मगुरु मुक्तदाले घोषणा गरेका थिए । उनले हिंसाको प्रयोगको भने निन्दा गरेका छन् ।
त्यसको विरोधमा भोक हडतालमा जाने घोषणा उनको छ । उनले अभियानसँग जोडिएर गठन गरिएका सबै भातृ संगठनसमेत विघटन गरेका छन् ।
इराकी संसद विघटन तथा सर्वपक्षीय सरकार गठनको माग राख्दै जारी आन्दोलन अन्त्य नहुँदै नेता सदरले लिएको यो निर्णयलाई अप्रत्याशित भनिएको छ ।
यसअघि उनका समर्थकहरुले १० महिनासम्म निरन्तर इराकमा आन्दोलन चर्काएका थिए ।
उनीहरुले नेता सदरको रणनीतिबमोजिम इराकी संसदको विघटनसमेतका माग राखेर आन्दोलन गरेका हुन् ।
कोलम्बो : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन् ।
पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक बस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकाशिएको छ ।
जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन् । रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए ।
श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको थियो । एजेन्सी
एजेन्सी : आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।
विदेशी सञ्चित मुद्राको आभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।
नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।
‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ रो र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ ।
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ ।
मुलुकभरि ठूलो परिमाणमा नगद प्रोत्साहनसहित सैनिक भर्ति अभियान चलिरहेको बेला पुटिनको यो घोषणापत्र सार्वजनिक भएको हो । यो रुसी सेनाको अहिलेको संख्याको १० प्रतिशत जति हो ।
अहिले रुससँग १० लाख भन्दा केही बढी सेना रहेका छन । छ महिना अघि रुसले युक्रेनमाथि आक्रमण गरेयता ७० देखि ८० हजार रुसी फौज मारिएको वा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गर्दै आएका छन् ।
रुसी सेनामा भर्ति लिनका लागि अधिकारीहरूले कारागारमा गएर कैदीहरूलाई सेनामा प्रवेश गरेको खण्डमा कैद मिनाहाका साथै पैसा पनि दिने प्रलोभन देखाइरहेको खबर सार्वजनिक भएका छन् ।
केही समय अघि बेलायती रक्षा मन्त्रालयले रुसका थुपै्र क्षेत्रमा स्वयंसेवक बटालियन खडा भइरहेको र त्यसबाट पनि नयाँ फौज तयार गरिने जनाएको थियो ।
युक्रेनमा लड्न स्वयंसेवाका लागि इच्छुकहरूको संख्या निकै न्यून रहेकाले आवश्यक संख्यामा फौज तयार गर्न कठिन हुने अनुमान गरिएको छ ।
एजेन्सी : रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् ।
युक्रेनको स्वतन्त्रता दिवसको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट आक्रमण गरेको हो ।
पाँच जनाको घटनास्थलमै जलेर मृत्यु र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी रकेट प्रहारबाट रेलका पाँच वटा डिब्बामा आगो लागेको र मृत्यु हुनेको संख्या बढन सक्ने बताएका छन् ।
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको छ महिना पूरा भएको दिन सो आक्रमण भएको हो । रुसले आक्रमणबारे पनि कुनै टिप्पणी गरेको छैन ।
युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएर प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किभमा उपस्थित भएका छन् । उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका छन् ।
राष्ट्रपति जेलेन्स्की र उनकी पत्नीले युद्धमा ज्यान गुमाएका सैनिक तथा नागरिकहरूको सम्झनामा आयोजित समारोहमा पनि भाग लिएका छन् ।
न्युयोर्क : टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।
प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्टले जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरू ढिलो भएका छन साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् ।
खराब मौसमका कारण जेटब्लुको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ । एजेन्सी
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान शुरू गरेको छ ।
न्यायालय र प्रहरीविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।
गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएका थिए ।
सोही भाषणका आधारमा खानले आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको हो ।
छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता उल्टाइदिने चेतावनी दिएका छन् ।
चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै खानले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन । आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोपपनि उनको छ ।
खानको पार्टीले आइतबार रावलपिण्डी र अन्य शहरहरूमा गर्ने भनिएको प्रदर्शन र सभामा सरकारले रोक लगाएका थियो ।
साथै खानका भाषणहरूको प्रत्यक्ष प्रसारण गर्न समेत मिडियामा बन्देज लगाइएको थियो ।
एजेन्सी : रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने ।
‘हामी जी २० बैठकमा रूसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा राष्ट्रपति (भोलोदिमिर) जेलेन्स्कीले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई स्वागत गर्दछौँ । ’
जी २० को वैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।
एजेन्सी : युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । इटाली, अष्ट्रिया, फ्रान्सका जनता आँधीवाट प्रभावित भएका हुन् ।
आँधीमा परि तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आँधीमा परी मृत्यु हुनेमा अधिकांश रूखले किचिएको बताइएको छ ।
भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ ।
प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको आँधीले युरोपका अधिकांश शहरका रूखहरू ढलेका छन् । फ्रान्सका सयौं सवारीसाधान आँधीका कारण ध्वस्त भएका छन् ।
आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दै विस्थापित सर्वसाधारणको उचित व्यवस्थापन गरिएको गृहमन्त्री गेराल्ड डार्मिनिनले जानकारी दिएका छन् ।
प्रभावितहरूलाई अस्थायी शिविरमा राखिएको छ । इटालीमा आँधी प्रभावितहरू राखिएको शिविर पनि ध्वस्त भएका कारण अस्थायी बसोबासको व्यबस्था गरिएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies