काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ सम्मानित भएकी छन् ।
नेशनल बक्स अफिस तीज म्युजिक अवार्डबाट प्रकाशक श्रेष्ठलाई वरिष्ठ संचार महिला उद्यमीको रुपमा सम्मान गरिएको हो ।
२०५४ सालमा एभरेष्ट मिरर मासिक पत्रिकाकी प्रकाशकबाट संचार उद्यम शुरु गरेकी श्रेष्ठले विगत २० वर्षदेखि मध्यान्ह राष्ट्रिय दैनिकको प्रकाशन गर्दै आएकी छन् ।
कार्यक्रममा प्रथम नायिका भुवन चन्द, एतिहासिक चलचित्र कन्यादानकी नायिका गौरी मल्ल, समाजसेवीको रुपमा मोडल कलाकार अनु शाह, सन्ध्या बुढा (काउली बुढी)लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै नृत्य निर्देशक बसन्त श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
काठमाडौं : करिब ३ हप्ता पहिले बाबा इन्टरटेन्टमेन्ट टिभी युट्युब च्यानलबाट बजारमा आएको “स्यानी २ राजा रानी” तीज गीतले शिव शक्ति तीज म्युजिक अवार्ड–२०७९ मा ह्याट्रिक गरेको छ l शनिबार सम्पन्न उक्त अवार्ड कार्यक्रम तीजको अवसरमा बजारमा आएका गीतसंगीतलाई समेट्दै आयोजना गरिएको थियो l
कार्यक्रम शुभकामना मिडिया सोलुसनको आयोजना तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा काठमाडौँको बिजी बैंकटमा सम्पन्न भएको हो l उक्त अवार्ड कार्यक्रमबाट गायक रविन लामिछानेले (स्यानी २ राजा रानी) बाट पपुलर गायकको अवार्ड हात पारे l स्यानी २ बाटै प्रवीण थापाले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड उचाले भने उत्कृष्ट तीज दोहोरी शब्दमा स्यानी २ का सर्जक केशव पौडेलले अवार्ड हात पारेका छन् l
तिलु शर्मा पौडेलको निर्माण रहेको उक्त गीतमा रबिना भण्डारी र दुर्गेश थापाको अभिनय रहेको छ l विश्वास नेपालको एरेन्ज रहेको गीतको लय संकलन खेम पुनले गरेका हुन् भने गायिकाका रूपमा अमृता श्रीपाल रहेकी छिन् l “घरभित्र बुढीको राजा घर बाहिर सबैको साझा” भन्ने थेगो पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा समेत हिट भइरहेको छ l
चलचित्र निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निरज घिमिरे पछिल्लो समयका ब्यस्त निर्देशक मध्येका हुन् । अहिलेसम्म आइपुग्दा घिमिरेले थुप्रै चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा पात्रको चयन र प्रस्तुतिकरण महत्वपूर्ण हुन्छ र यो नितान्त निर्देशकीय कला र क्षमतामा निर्भर गर्दछ । एउटा वैधानिक पात्रको खोजी निर्देशक वा कथा लेखकको लागि ठुलो चुनौती हो । पात्रको एउटा विशेषता जीवन प्रति इमानदार हुनु हो । यसलाई पात्र प्रतिको विश्वसनीयता भनेर बुझे पनि हुन्छ । पात्र असल छ भने दर्शकलाई उसको गुण प्रति विश्वास हुनु पर्छ र खराब छ भने उसको दुर्गुणप्रति पनि विश्वास हुनु पर्छ । सबै विधाका चलचित्रमा यो नियम लागू नभए पनि नेपालमा बनिरहेका यथार्थ परक चलचित्रमा पात्र जीवनप्रति इमानदार हुन जरुरी रहेको उनको भनाइ छ । २०५६ सालदेखि निरन्तर सिने क्षेत्रमा सक्रिय निर्देशक निरज घिमिरेले कान्छि नानी, लावारीश, दिलमा सजाए तिमीलाई, अन्नदाता, विवश, अफिसर, वारेन्ट, सिष्टम आदि नेपाली चलचित्रको निर्देशन गरेका छन् भने आधा दर्जन भोजपुरी चलचित्र, भिडियो फिल्म, टेलिफिल्म, भिडियोहरुको निर्देशन गरिसकेका छन् । बलिउडको प्रख्यात सिरियल निर्माण कम्पनि बालाजी टेलि फिल्मस्मा समेत आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका निर्देशक निरज घिमिरेले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
हिजोआज के गर्दै हुनुहुन्छ ?
यो समय देशको परिस्थिति र आक्रन्त कोरोनाको कारणबाट सुटिङमा जान सकिरहेको छैन । छलफल, विचार विमर्श चलिरहेको छ ।
नेपाली सिनेमा नचल्नुको कारण ?
दर्शकको स्वाद नबुझी हतार हतारमा चलचित्र निर्माण गरिनाले पनि हो । साथै स्कृप्ट, कलाकार, लोकेशन, प्राविधिकहरुको सही छनोट नहुनु पनि हो ।
युवा पुस्तालाई नेपाली सिनेमा प्रति आकर्षित गर्न के गर्नु पर्ला ?
हाम्रो चलचित्रमा युवा पुस्तालाई तान्नका लागि पछिल्लो आधुनिक प्रविधि साथै मर्मश्पर्शी कतावस्तु र सकारात्मक सन्देश दिने खालको सामाजिक ऐना हो चलचित्र । त्यसैले सबै उमेर समूहलाई लक्षित गरी चलचित्र निर्माण गर्न सकियो भने युवा पुस्तालाई पनि नेपाली चलचित्र प्रति आकर्षित गर्न सकिन्छ ।
अन्तर्राष्ट्रियस्तरमा अथवा उचाईमा पुग्न सफल नेपाली सिनेमा कोभिडले गर्दा पछि परेको अवस्था छ । आगामी दिनमा त्यही उचाई लिन सक्ला त ?
अन्तर्राष्ट्रियस्तरमा जानका लागि हामीले उत्कृष्ट सिनेमा बनाउन पर्यो । साथै सरकारबाट पनि पहल हुनु जरुरी छ ।
उद्योगको मान्यता पाइसकेपछिको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
उद्योगको मान्यता पाएपछि सरकारको अण्डरमा जान्छ र त्यसपछि सिष्टम लागू हुन्छ । उद्योगको मान्यता पाएपनि प्रभावकारी हुन सकिरहेको पाइँदैन । चलचित्रकर्मीले पनि चलचित्रमा लगानी गर्दा बैंकिङ सुविधा पाउनु पर्छ, तर अहिलेसम्म पाउन सकिरहेका छैनन् । हामीले निर्माणमा क्वालिटीलाई ध्यान दिनु पर्छ । अनिमात्र सबैको जित हुन्छ ।
सिनेमा जगतमा एउटा उचाई बनाइसक्नु भएको व्यक्ति आफैंलाई चाहिँ कस्तो अनुभूति हुन्छ ?
आफुले आफुलाई मनन् गर्दा गुनासोहरु पनि छन् । किन कि २०, २२ वर्षको सिनेमा यात्रामा आज पनि हामी उही समस्या लगानी, क्वालिटी कमजोर सिनेमा व्यापारमा पिल्सी रहेका छौं ।
डिजिटल प्रविधिबाट सिनेमा बन्न थालेपछिको अनुभव कस्तो रह्यो ?
डिजिटल फ्रम्याटको सिनेमा मेकिङमा आफ्नो सोच अनुसार पर्दामा उतार्न सकिन्छ । भिजुअल इफेक्टका काम गर्न सकिन्छ । जुन बन्देज नेगेटिभ रिलमा थियो त्यो भन्दा सहज र स्तरीय काम डिजिटल प्रविधिमा गर्न सकिन्छ ।
ब्यस्त निर्देशक मध्येमा पर्नुहुन्छ अहिले के छ अवस्था ?
हजुर, यति बेलाको समयमा सिनेमाको सब्जेक्ट, लोकेशन अन्य कुराहरुमा गहन सोच विचार, एक प्रकारले सिनेमा मेकिङको रिसर्च नै भैरहेको छ कसरी सिनेमा राम्रो बनाउने र लगानी सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा अध्यायन भैरहेको छ ।
कस्तो विषयमा सिनेमा बनाउँदा लगानीकर्ता सुरक्षित हुन्छन् ?
हामीले कस्तो सिनेमा बनाउँदा दर्शकहरुलाई मन पर्छ भनेर अध्ययन गर्नु प¥यो र घिसिपिटी सस्तो सब्जेक्ट लिनु भएन । नयाँ विषयवस्तुको छनोटसँगै नेपाली मौलिकतामा केन्द्रित रहेर सिनेमा निर्माण गर्न सकियो भने लगानीकर्ता सुरक्षित हुन्छ ।
नेपाली सिनेमाको बजार विस्तार हुन नसक्नुको कारण के होला ?
बजार विस्तार नहुनुमा नेपाली फिल्मकर्मीमा एकता नहुनु, सरकारले सहयोग नगर्नु र सबै सिनेमा मेकरहरु व्यक्तिगत स्वार्थमा लाग्नु यिनै कारणहरु हुन् ।
सिनेमा समाजको ऐना भन्छन्, यो ऐनाको मुख्य व्यक्ति निर्देशक भएको नाताले उसको समाज प्रतिको जिम्मेवारी कत्तिको हुन्छ ?
सिनेमाको क्याप्टेन भनेको निर्देशक हो । उसको भिजन सही हुनु पर्यो । आफ्नो युनिटलाई कमान्ड गर्ने क्षमता हुनु प¥यो र मेरो यो सोचाईले समाजमा राम्रो मार्गदर्शन, सकारात्मक सन्देश दिन्छ भनेर आत्मविश्वास हुनु पर्यो । समाजलाई सकारात्मक बाटोमा लानलाई हाम्रो महत्वपुर्ण भूमिका छ ।
नव आगन्तुहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?
अहिलेका नव आगन्तुकहरुलाई पढेर, बुझेर आफ्नो भविष्य यो क्षेत्रमा सुरक्षित गर्न सकिन्छ कि सकिँदैन एकदमै विचार गरेर आउनु होला । किन कि यो २१औं शताब्दीको डिजिटल फम्र्याटिङ फिल्म मेकिङ हो ।
समग्र सिनेमा क्षेत्रको विकासका लागि के गर्नु पर्ला ?
सिनेमा क्षेत्रको विकासको लागि सम्पूर्ण सिनेमासँग सम्बन्ति निकाय तथा व्यक्तिहरुबीच अन्तरक्रिया कार्यक्रम, गोष्ठी, वैचारिक छलफल भएमा सिनेमा क्षेत्र अगाडि बड्न सक्छ ।
काठमाडौं : मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । बुधबार काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राइड पाटनरमा सहारा एप रहेको थियो ।
मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखिया प्रमुख अतिथि थिइन् । कला, साहित्य र गीत–संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको थियो । गीता अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित उनलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यस्तै, सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उनीहरूले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।
सञ्चारकर्मी दीप ज्योति थापाले सहजिकरण गरेको कार्यक्रममा गायिका तथा नायिका सारिका घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विगत १३ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै उनीहरूले समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताइन् । उनले यस कार्यक्रममा सहयोग पुर्याउनुहुने सबैमा आभार व्यक्त गरेकी थिइन् ।
अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा तीजको दर खानुका साथै दिदी बहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।
काठमाडौं : शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २६ विधामा आयोजना गरिएको तीज म्युजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरु सहभागी भएका छन् ।
अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो निर्देशक, मोडल, कोरियोग्राफर, संयुक्त गायन जस्ता विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा सहभागी भएका गीतसंगीतलाई निर्णायक मण्डलको समूहले उत्कृष्ट पाँचको छनोट गरी मनोनयन सार्वजनिक गरिएको कार्यक्रम संयोजक प्रकाश भट्टले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
स्रष्टा कलाकारहरुको बायोग्राफी ग्यालरीका रुपमा स्थापना भएको आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुतिमा भएको यो तीज म्युजिक अवार्ड आगामी भाद्र ११ गते काठमाडौंको बिजी बैंकट नयाँबसपार्कमा सम्पन्न हुनेछ ।
अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तीन गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र शीला आलेलाई ‘शिवशक्ति तीज म्युजिक अवार्ड त्रिरत्न नारी सम्मान’ र पत्रकार तथा गायिका अनिता विन्दुलाई ‘आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान’ बाट सम्मिानित गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिएकी छन् ।
त्यस्तै सोही अवसरमा गीतसंगीत उद्योगमा योगदान दिएका विविध विधाका विशिष्ट नारीहरुलाई सम्मानित गरिनेछ । यस कार्यक्रमलाई चिरायू हस्पिटल बसुन्धरा, प्रभु बैंक काठमाडौंले अवार्डमा सहकार्य गरेका छन् । अवार्ड शुभकामना मिडियाको आयोजनामा हुन लागेको हो भने साइ भिजन प्रा.लि., मिडिया इन्टरनेशनल र विकल्प एग्रो फार्मले सहआयोजकको भूमिका निर्वाह गरेका छन् ।
काठमाडौं : काठमाडौंको सिनामंगलस्थित पुरानो नाटक घरमा ‘सिटामोल’ नमक नाटक मञ्चन भइरहेको छ । उक्त नाटकमा बालकलारको भूमिकामा अर्नब घिमिरेले पनि आफ्नो भूमिका निभइरहेका छन् । १२ वर्षीय घिमिरे बुद्धनगर स्थ्ति काब्या क्कुलमा कक्षा ६ मा अध्ययनरत छात्र हुन् ।
सानैदेखि आमा चन्द्रकला बास्कोटाको प्रेरणाले नै उनी कला क्षेत्रमा आकर्षित भएका हुन् । विद्यार्थी जीवनमै नाटकका मञ्चहरुमा देखिंने उनको करिअर नेपाली कलाकारितामा विस्तरै अघि बढिरहेको छ । सानै उमेरमा मञ्चको कलाकारितामा निखारिंदै आएका घिमिरेले अन्य नाटक र केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेक छन् ।
सात वर्षको कलिलै उमेरमा ‘श्रवणकुमार’ नामक नाटकमा अभिनय गरेर कलाकारिता शुरु गरेका थिए । श्रवणकुमार शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । त्यसपछि ‘खत’ र थारु भाषाको ‘कनन हरलता’ नामक नाटकमा पनि आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका छन् ।
तीन महिना जति नृत्य प्रशिक्षण समेत लिएका उनले हालै ‘आमा’ र ‘अलि कडा छ’ को म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । राम्रो अभिनय क्षमता देखाइरहेका अर्नब घिमिरे यतिबेला विशेषगरी मञ्चीय कलाकारितामा राम्रो सम्भावना भएका बाल कलाकारको रुपमा पहिचान बनाउँदै गएका छन् ।
काठमाडौं : हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतको भिडियो एकपछि अर्को सार्वजनिक हुने क्रम जारी छ । यसै सिलसिलामा लोकदोहोरी गायक कमल विसी माल्दाइ र गायिका प्रतिक्षा वाग्लेको आवाजमा सजिएको तीज गीत ‘झम्म झम्म साईंली’ सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द सृजना र गायक विसीकै लय सृर्जना रहेको गीतलाई भोलुम अनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो । गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ ।
गीतमा दुई प्रेमी जोडीहरु एक अर्कालाई बयान गर्दै तीजमा सँग सँगै नाच्ने गाउने गरेको दृश्य देखाइएको छ । गीतको भिडियोमा समुन्द्र वाग्ले, लोसिना लामिछाने, प्रेम रसाईली, जसोदा कार्कीको अभिनय रहेको छ ।
गायक विसी र गायिका वाग्लेले गरेका यस अघिका तीज गीतहरु पनि सफल भएका थिए । युवा व्यवसायी राजेन्द्र कुँवरको विशेष सहयोग तयार भएको गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।
युवा पुस्तामा आशा लाग्दा गायक, संगीतकार हुन् ओम सुनार । सुर्खेतको कुनाथारीमा जन्मिएका सुनार ५ वर्षको उमेरमै बुबा, आमासँगै सुर्खेतबाट कैलाली बसाई सराई गरेपछि हाल उनी लम्किचुहा नगरपालिका १ का स्थानीय बासिन्दा बनेका छन् । सुनार एक दशक बढी समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा संगीत विषयमा बि.ए. अध्यायनरत उनी विगत १२ वर्षदेखि गुरुकुल संगीत पाठशालामा शास्त्रीय संगीतको प्रशिक्षण लिदै आइरहेका छन् । ‘माग माग तिमी के छौ’ बोलको गीत पहिलो पटक रेकर्ड गराएर संगीतको क्षेत्रमा प्रवेश गरेका सुनारका गीति एल्बम ‘सुगन्ध’, ‘सुगन्ध २’ र हिन्दी एल्बम ‘सपने’ स्रोता माझ आई सकेको छ भने चलचित्रहरुमा डन्ट ब्रेक माइ हाट, कोइला, बाबु कान्छा, झमक बहादुर, आवारा, नमस्ते नेपाल, बुद्ध बर्न इन नेपाल, गल्ली आदिमा स्वर, संगीत दिएका छन् । दर्जनौं श्रोता रुचीका फुटकर गीतसंगीत दिएका सुनारको तीज गीत पनि भर्खरै सार्वजनिक भएको छ । लोकआधुनिक, पप, भजन सबै खाले भाकामा स्वर संगीत सिर्जना गर्न सिपालु गायक तथा संगीतकार ओम सुनारले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
संगीत क्षेत्रमा प्रवेश गर्दा संगीतको वातावरण कस्तो थियो ?
जब मैले नेपाली गीतसंगीतमा लाग्ने सोच बनाएको थिएँ त्यतिबेला मलाई केही पनि कुरा थाहा थिएन । यतिमात्र थाहा थियो कि गीत गाउनु पर्छ त्यस्को लागि सिक्नुपर्छ । म काठमाडौं आएर सिक्न थालें, त्यसपछि मैले बजारलाइ हेर्दा निकै गाह्रो अवस्था देखेको थिएँ । म र म जस्ता थुप्रै सामान्य मान्छेले यो क्षेत्रमा पाईला राख्न नै गाह्रो थियो । त्यतिबेला क्यासेटको जमाना गएर सिडीको जमाना आएको थियो । चर्चितहरु बाहेक अरुले अवसर पाउने सम्भावना निकै कम थियो । त्यही पनि लागियो, भोलि के हुन्छ भन्ने नै थाहा थिएन तर आज यहाँसम्म पुगियो । दर्शक, श्रोताको माया र सञ्चारमाध्यमहरुले साथ दिनुभयो र मेरो कलालाई अगाडि बढाई दिनुभयो । अहिले सम्झिँदा त्यतिबेला निकै गाह्रो थियो नयाँलाई ।
मोफसलबाट आउने संगीतकर्मीलाई काठमाडौंले कसरी हेर्थ्यो ?
नयाँलाई कुनै पनि क्षेत्रमा पाईला राख्नु नै आफैंमा चुनौतीपूर्ण हुन्छ । त्यसमाथि मोफसलबाट आउनेलाई केही थाहा हुँदैन । काम गर्दा ठगिने, समयमा काम नहुने जस्ता समस्या हुन्थ्यो र अहिले पनि त्यस्तै छ । यसलाई के बुझ्ने, हेपेको भन्ने कि के भन्ने अग्रजहरुले नयाँ भाइबहिनीहरुलाई केही सहज र पारिवारिक वातावरण बनाउन जरुरी छ । आजको नयाँ भोलि पुरानो हुन्छ । आज आउनेलाई सहज वातावरण बनाइयो भने भोलि आउनेलाई पनि सजिलो हुन्छ र अग्रजलाई जहिले सम्झिरहने छन् ।
तपाईंले गाउनु भएको, संगीत गर्नुभएको गीत हिट भएसँगै संगीत बजारको मुहार नै फेरिएको छ जस्तो लाग्दैन ?
मैले गायको र संगीत भरेको गीतहरुले संगीत बजारको मुहारलाई त फेरेको छैन तर मुहार फेर्नको लागि २–४ इँटा भने पक्कै थपेको छ । मैले चलचित्र ‘बाबु कान्छ’ र ‘झमक बहादुर’मा पुरानो चलचित्रहरुको चन्द्रमा झैँ राम्री छौ र आमैले भन्थे धाराको पानी गीत रिमिक्स गरेपछि श्रोता, दर्शकदीर्घाले पनि खुब तारिफ गर्नु भयो र केही अन्य संगीतकर्मी साथीहरुले पनि पुरानो गीतहरुलाई रिमिक्स गर्नु भयो र पुरानो गीतलाई नयाँ तरिकामा सुन्न पाउनु भयो दर्शक श्रोताहरुले । मैले थुप्रै मौलिक गीतहरु पनि गरें चलचित्रहरुमा त्यसलाई पनि दर्शक श्रोताले निकै मन पराउनु भयो । त्यसले गर्दा अन्य संगीतकर्मी साथीहरुले पनि त्यस्तै गर्नु भयो । मलाई लाग्छ मैले गरेको कामबाट दर्शक श्रोताले मनोरञ्जन लिनु भयो र मैले गरेको कामबाट अन्य संगीतकर्मी साथीहरु प्रभावित भएर त्यस्तै काम गर्नु भयो । मैले मेरो कामले केही इँटा थपेको महसुस गरें ।
तपाईंले गायका र संगीत गरेका गीतका भिडियोहरु राम्रा छन् । निर्देशकको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मेरो एक्लो प्रयासले मात्र म यहाँसम्म पुगेको होइन, यत्रो यात्रा म एक्लै गर्न सक्दिन थिएँ, मेरो पछाडि थुप्रै सहयोगी हातहरु हुनुहुन्छ । ति सहयोगी हातहरुमध्येको एउटा ठूलो हात हो भिडियो निर्देशकज्यूहरुको । म उहाँहरुको कामबाट निकै खुसी छु र धन्यवाद पनि दिन चाहान्छु ।
तपाईंलाई फिल्म र अन्य गीतको संगीतमा के भिन्नता पाउनु हुन्छ ?
सिनेमा र अन्य गीतमा आकाश जमिनको फरक छ । बजेट, मेकिङ्ग, गायक गायिका, स्टुडियो शब्द, संगीतमा निकै फरक छ । किन भने अन्य गीतहरु आफ्नो भावना अनुसार गर्न पाइन्छ अलिक सजिलो हुन्छ, तर सिनेमाको गीत संगीतमा चाहिँ अरुको भावनामा डुब्नु पर्छ, अरुको भावनालाई बुझ्नु पर्छ, अरुको काहानीलाई उजागर गर्नु पर्छ, सिनेमाको काहानीलाई न्याय दिन सक्नु पर्छ । आफ्नो भावनामा जो पनि सजिलै डुब्न सक्छ तर आर्काको भावना बुजेर डुब्न अलिक गाह्रो हुन्छ । त्यसैले सिनेमा र अन्य गीत संगीतमा आकाश जमिनको फरक देख्छु म ।
आफ्ना सिर्जना सामाजिक सञ्जालमा रुचाइएको देख्दा हर्ष लाग्छ होला नि ?
आफ्नो सिर्जना समाजिक संजालहरुमा रुचाइएको देख्दा खुसी लाग्छ, संघर्षको दिनलाई सम्झन्छु र यही नै हो मेरो मेहनतको प्रतिफल जस्तो लाग्छ । सारा दुःखहरु बिर्सन्छु जुन हिजोको दिनमा मैले संघर्ष गर्दा भोगेको थिए ।
तपाईंका गीत संगीतमा बढी मौलिकता भेटिने कारण के हो ?
गर्न त मैले सबैखाले गीत संगीत गरेको छु । तर पनि मेरा धेरै गीत संगीतहरुमा आफ्नोपन हुन्छ किन भने हाम्रो पहिचान भनेकै हाम्रो मौलिक कुराहरु नै हो । हाम्रो मौलिक कुरालाई हामीले बचाउन सकेनौ भने, आज हामीले प्रयोग नगरे भोलि यो लोप भएर जान सक्छ । त्यसैले मेरो गीतहरुमा मौलिकता भेटिन्छ । म सधै आफ्नो कला सँस्कृति, मौलिक गीत संगीतलाई यसरी नै अगाडी बदाउन चाहन्छु । नेपाललाई र नेपाली गीतसंगीतलाई विश्व सामु चिनाउने प्रयास गरिरहने छु ।
आफूलाई मनपरेका आफ्ना गीत ?
मलाई मेरा सबै गीतहरु उतिकै मन पर्छ । त्यस्मा पनि विशेष कामहरु हुन्छन् जसले गीत संगीतको माध्यमबाट देशको गौरब र स्वाभिमानको कुरा बोकेको हुन्छ र दर्शक, श्रोताहरुलाई जागरुक गराउन मद्दत गर्दछ त्यस्तो गीत म यहाँ नाम लिन चाहन्छु । मैले चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ मा गाएको टाइटल गीत ‘बुद्ध बर्न इन नेपाल’ लाई सम्झन्छु । आदरणीय दाइ रमित ढुंगानाले निर्माण गर्नु भएको चलचित्र सुरेश अधिकारी दाइको संगीत र विष्णु केसीको शब्द थियो । उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु यस्तो राम्रो र देशको प्रतिनिधित्व गर्ने चलचित्रमा मलाइ आफ्नो स्वर दिने अवसर दिनुभएकोमा ।
तपाईंले अहिलेसम्म पाउनुभएको अवार्ड र सम्मान ?
मैले थुप्रै सम्मानहरु पाएको छु र अवार्डहरु पनि पाएको छु । मैले कोभिडपछि चाहिँ बि.स.२०७८ मा सम्पन्न भएको ‘पीम नेपाल फिल्म महोत्समा २०२१ ‘चौथो अडिशन बेष्ट गायन’ पुरुष तर्फ प्राप्त गरेको छु । मैले कोभिडपछिको किन उल्लेख गरेको भने हामी सबै मानव जातिले नयाँ जीवन पाएको जस्तो लाग्छ र त्यसपछिको पहिलो उपलब्धि भएको भएर यसलाई सम्झेको हुँ ।
तपाईं नयाँ प्रतिभा खोज्न खप्पिस हुनुहुन्छ । यो काम कत्तिको चुनौतीपूर्ण छ ?
नयाँ भन्ने शब्द जो कोहिले पनि सुन्दा बितिकै चुनौती भन्ने बुझ्दछ, यो आफैंमा गाह्रो शब्द हो । पक्कै पनि नयाँ प्रतिभा खोज्नु त्यति सजिलो छैन । यो काम त्यतिकै जोखिमपूर्ण हुन्छ । हरकोहीलाई जोखिम लिन मन पर्दैन तर मलाई मज्जा लाग्छ । अरुले जस्तै मैले पनि पुराना व्यावसायिक मान्छेमात्र खोज्न थालें भने अरुमा र ममा के फरक भयो र । कोही त चाहियो नि नयाँको लागि पनि नत्र नयाँहरुले कहिलै अवसर पाउँदैनन् । म पनि हिजो नयाँ थिए मैले पनि अवसर पाउँदैन थिएँ पुरानै मान्छे खोजेको भए ।
कस्तो खालको सिर्जनाले स्रोता आकर्षित हुन्छन् ?
यस्तै खालको भन्ने छैन । सबै खालको सिर्जनाले आफ्नो आफ्नो स्वाद दिन्छ । दर्शक, श्रोताको रोजाई पनि फरक फरक छ । सबैले एउटै खालको गीतसंगीत सुन्नु हुन्न । मैले सबै खाले दर्शक श्रोताको लागि काम गरिरहेको छु, गाइरहेको छु संगति बनाइरहेको छु । सबैले मन पराइदिनुभएको छ मेरो कामलाई ।
तपाईं आफै पनि युवा नेपाली गीतसंगीतको बारेमा युवा पुस्ताले नै चासो नदिनुको कारण ?
आज भोलि सबै जान्ने बुझ्ने हुनुहुन्छ । सबैले हातहातमा संसार छ । कुन क्षेत्रमा जादा राम्रो हुन्छ कहाँ के काम गर्दा नाम दाम सजिलै कमाउन सकिन्छ भन्ने बुज्नु भएको छ र संगीत क्षेत्रमा अलिक बढी मेहनत गर्नु पर्ने भएको भएर होला र सोचे जति आम्दानी गर्न नसकिने र लामो समय संघर्ष गर्नु पर्ने भएकोले युवाहरुको ध्यान यता न आएको हुन सक्छ । मेरो अनुभब बरु डाक्टर बन्न सजिलो होला तर यो क्षेत्रमा उदाउन र जम्न गाह्रो छ । राम्रो कला प्रतिभा भएको माछेहरु यो क्षेत्रमा आगाडि बढ्न त्यति धेरै गाह्रो छैन आउनुस् भन्न चाहान्छु ।
भावी योजना ?
भावी योजना भनेको गीत संगीतकै माध्यमबाट देश र जनता साथै दर्शक श्रोताहरुलाई मनोरञ्जन गर्दै सेवा गर्ने हो । र, साथै म्युजिक थेरापी सिकेर विभिन्न रोगबाट ग्रसित विरामीहरुलाई म्युजिक थेरापीबाट उपचार गर्ने । साथै काठमाडौंमा एउटा निःशुल्क संगीत सिकाउने विद्यालय खोल्ने ठूलो सपना छ । आशा गरौं भगवान पशुपतिनाथको कृपा र आमाबुबाको आशिर्वाद अनि दर्शक श्रोताको माया म प्रति बढ्दै गयो भने छिट्टै मेरो यो सपना पनि पूरा हुने छ भन्ने कुरामा विश्वस्त छु ।
काठमाडौं : कुनै सिकाइ र तालिम बिना नै विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गरिसकेकी नृत्यंगना स्वीकृती पौडेल आफ्नै बाबा चर्चित लोक तथा दोहोरी गायक नविन पौडेलको पछिल्लो गीत ‘हरहर बासना अगरबत्तिको, कसले माया गर्छ तिमीलाई मैले जत्तिको’मा जीवन्त अभिनय गरेकी छिन् ।
रुपन्देहीको देवदह नगरपालिकास्थित देवदह बोर्डिङ हाइस्कुलमा कक्षा आठमा पढ्दै गरेकी स्वीकृतीको अभिनय र नृत्यकला निक्कै नै अब्बल देख्न सकिन्छ । नविनका यसअघि बजारमा निस्किएका गीतहरु ‘बोल्नु पर्छ ओइ’, ‘लेउ खुकुरी लेउ’, ‘पर्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायत गीतमा पनि अभिनय गरिसकेकी छिन् स्वीकृतीले ।
लोक गीत संगीतमा अब्बल एवं लोकप्रिय गायक नवीनको पछिल्लो गीत हरहर बासनामा स्वर र शब्द उनकै रहेको छ । स्वरमा उनलाई आशा बिसीले साथ दिएकी छिन् ।
दोहोरीमा झड्का दिएर सबै दर्शकको मन जितेकी बिसीले निक्कै नै मेहनतका साथ गाएकोले गीत सबैले मन पराउने बताउँछिन् ।
रबि कार्कीको लय संकलन रहेको गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन् भने म्युजिक एरेन्ज कृष्ण केसीले गरेका छन् । म्युजिक भिडियोलाई आशा बिसीको युट्युब च्यानलमार्फत बजारमा ल्याइएको गायक पौडेलले बताए ।
यसको छायांकन बुटवल आसपासका क्षेत्रमा भएको र भिडियोमा लुम्बिनी प्रदेशमा स्थापित विभिन्न उद्योगी व्यवसायीहरुको अभिनयसमेत समावेश गरिएको गायक पौडेलले जानकारी दिए ।
काठमाडौं : गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’का उपविजेता रहेका अर्थर गन भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेलले काठमाडौंसहित मुलुकका सात शहरमा कन्सर्ट गर्दैछन् ।
अर्थर आफ्नो पहिलो नेपाल कन्सर्टका लागि बुधबार नै काठमाडौं आइसकेका छन् । काठमाडौंमै जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिँ अर्थर गन नामले चर्चित छन् । अर्थरसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइसकेका छन् ।
उनले काठमाडौंसहित मुलुकका सात शहरमा कन्सर्ट गर्दैछन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा अर्थर गनलाई आफ्नो होम कमिङ टुरका लागि नेपाल ल्याएको हो ।
आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्थरको काठमाडौं, चितवन, पोखरा, बुटवल, बिर्तामोड, धरान र कीर्तिपुरमा उनको इन्डोर कन्सर्ट रहेको जानकारी दिएको छ । पहिलो कन्सर्ट शनिबार दरबारमार्गको प्लाटिनम लाउन्जमा हुनेछ । कन्सर्टको व्यवस्थापन आयोजक ब्रेन सर्भिसिङले हेरिरहेको छ ।
नेपाल बसाइमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने आयोजकमध्येका एक जीत लामाले जानकारी दिए । लामाका अनुसार अर्थर गन नेपालमा रहँदा उनको जीवनबारको वृत्तचित्र पनि छायांकन हुनेछ ।
पत्रकार सम्मेलनमा अर्थर गनले संगीतमार्फत नेपालको संस्कृति र पर्यटन विकासमा सघाउने बताए । उनले संसारभर छरिएका नेपालीमार्फत आफूले नेपाली संगीतलाई प्रवर्द्धन गर्न चाहेको बताए ।
सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका हुन् । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल अठारौं सिजन’ को एक हिस्सा बनेपछि अर्थर गनको लोकप्रियता निकै बढेको थियो । प्रायः दर्शकले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् । जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियर वाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies