काठमाडौंः नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
निगमले बढाएको मूल्यसँगै अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मूल्य भने निगमले यथावत नै राखेको छ ।
इण्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले भारतले बढेको मूल्य पठाउनसाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
काठमाडौंः ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएका व्यक्तिको निवेदनका आधारमा खोजी गर्दा उक्त मोटरसाइकल तथा स्कुटर फेला परेको जानकारी दिए ।
उनले मोटरसाइकल पार्किङ गर्दा ध्यान दिनसमेत सम्पूर्ण चालकलाई आग्रह गरे । चालू आर्थिक वर्षमा उपत्यकाबाट दुई सय २१ मोटरसाइकल तथा स्कुटर हराएको निवेदन कार्यालयमा परेको छ । निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजी गर्दा एक सय एक सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको प्रवक्ता भट्टले बताए ।
चालू आवमै मोटरसाइकल तथा स्कुटर चोरी गर्ने नौ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न वृत्तमा पठाइएको सो कार्यालयले जनाएको छ ।
काठमाडौं : मुुलुकको ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २४२ स्थानीय तहमा आंशिक विद्युत् पुगेको छ भने बाँकी ३५ स्थानीय तहमा अझैपनि विद्युत पुग्न सकेको छैन । प्राधिकरणले तयार पारेको विद्युतीकरण तथ्यांक २०७९ अनुसार अहिलेसम्म कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ ।
ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, मनाङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा ५० देखि ७५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । त्यस्तै रुकुम पूर्व, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी ७ जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्छन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी ४ जिल्लामा ० देखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।
कर्णाली प्रदेशका ३ वटा जिल्लामा अहिलेसम्म पनि राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छैन । डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिडको विद्युत् पुग्न नसकेको हो । राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ढंगले सौर्य, लघुजलविद्युत् (माइक्रोहाइड्रो) लगायतमार्फत् विद्युतीकरण गर्ने कार्यक्रमलाई सरकारले अगाडि बढाएको छ । आगामी २ वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रुपमा काम भइरहेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्दैछ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत्को पहुँच विस्तारमा रकम जुटाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । कोभिड १९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरुको मूल्यवृद्धि, विश्वव्यापी रुपमा बिग्रिएको आपूर्ति चेनको अवस्थाका बाबजुद पनि गत आवमा थप १० जिल्लामा प्राधिकरणले विद्युतीकरण गरेको थियो ।
काठमाडौं : कोकाकोला नेपालले कोकाकोला जिरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ । जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोकाकोलाको स्वादको रिफ्रेस्मेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
फेरि प्रयोग गर्न मिल्ने भएकाले यी आरजिबी बोटलहरू वातावरणमैत्री त छन् नै, यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेस बनाइ राख्छ ।
कोकाकोला जिरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालीहरुको महान चाड बडादसैंको अवसरमा साओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । साओमीले आफ्ना ग्राहकहरूका लागि ‘दशःएमआइ’ को विभिन्न अफरहरू ल्याएको हो । एक महिना लामो ‘दशः एमआइ’ क्याम्पेनमा साओमी फोन खरिद गर्ने जो कोहीले पनि ‘दशः एमआइ’ लक्की ड्रमा प्रत्यक्ष सहभागी भइ दशएमआइ क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन् ।
साओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष ‘दशः एमआइ’ अफर ल्याएको छ । ‘दशः एमआइ’ क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले एमआइ को ४ एस ६५ का टिभि, चार जनाले एमआइ को ४३ को टिभि, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बड ३ लाइट, मोसन नाइट लाइट र नेक ब्यान्ड प्रोमध्ये बड ३ लाइट, मोसन लाइट र नेकब्यान्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।
यस अफर सार्वजनिक कार्यक्रममा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै एमआइ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताएका छन् । ग्राहकको मायाले उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहन गरेको उनले बताए । दशैंलाई लक्षित गर्दै साओमीले चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न विशेष अफर ल्याएको उनले जानकारी दिए । अफरहरू भद्र १६ देखि आश्विन १४ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागु हुनेछ ।
काठमाडौं : एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को ब्राण्डेड क्रेडिट कार्डको शुरुवात गरेका छन् । तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको शुरुवात गरेका हुन् ।
यस कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । साथै, शुरुवाती ३ महिनाको लागि इस्योरेन्स शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।
सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने बैंकको विश्वास छ ।
बैंकले हाल ११८ शाखा संजाल, ४ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
काठमाडौं : बैंक अफ काठमाण्डूको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न सकिने छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने भएका हुन् । बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सबै कार्डको भुक्तानी बैंकको सबै एटीएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ ।
साथै, उक्त सम्झौता अनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ । त्यस्तै, मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं : नबिल बैंकले डेबिट कार्ड र इकमर्स अक्वायरिङ बिजनेससम्बन्धी अवार्ड हात पारेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड जितेको छ ।
बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो । बुधबार काठमाडौंमा भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा बैंक सम्मानित भएको छ ।
‘नबिल सुरुदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ । यही अवस्थामा आज हामीले नयाँ सम्मान पाएका छौं । त्यो हामी सबैको मेहेनतले हो,’ बैंकका प्रमुख कार्याकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘हामी सधैं डिजिटल सोसुसनमा ध्यानकेन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौं । यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ ।’
काठमाडौं : एनसेलले फास्टेस्ट मोबाइल स्पिडको अवार्ड पाएको छ । ब्रोडब्यान्ड र मोबाइल इन्टरनेट स्पिडको विश्व प्रसिद्ध कम्पनी ओक्लाले एनसेललाई नेपालको फास्टेस्ट मोबाइल नेटवर्कबाट सम्मान गरेको छ ।
ओक्लाले सन् २०२२ को पहिलो र दोस्रो त्रैमासिकका लागि एनसेलले उक्त अवार्ड जित्न सफल भएको जनाएको छ । एनसेलले १७.१६ स्पिड स्कोर पाएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले १६.२३ र स्मार्ट टेलिकमले ८.९७ स्पिड स्कोर पाएको छ ।
उक्त अवधिमा एनसेलको मिडियन डाउनलोड स्पिङ १७.३१ एमबिपिएस र अपलोड स्पिड ९.२६ रहेको ओक्लाले उल्लेख गरेको छ । ओक्लाले १६ हजार ९२९ प्रयोगकर्ताहरुको परीक्षण (युजर इनिसिएट टेस्ट) गरेको जनाएको छ ।
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ । भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्म गरेको हो ।
बुद्धज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको अधिकृत पुंजी ६० करोड, चुक्ता पुजी ५३ करोड १२ लाख पाँच हजार तीन सय ८८ रुपैंयाँ पुगेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा २० प्रतिशत बोनस शेयर दिएको थियो भने गत आ.ब. २०७८–०७९ को चौथो त्रैमासको अन्त सम्ममा २० करोड ८१ लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । वित्तीय संस्थाका बोर्ड अफ डाइरेक्टर एवम् मर्जर एक्विजिसन समिति संयोजक सन्तोष फुयालले बुधबार संस्थाको केन्द्रीय कार्यालय बनेपा स्थित शभाहलमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies