काठमाडौं : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औं जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम संम्वत १९५३ भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारितको शुरुवात भएको हो ।
गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।
– शारदा पौडेल ‘निशा’
अफिसको कोठामा फाइलहरूमा अल्मिलिएकी थिएँ । श्रीधर सुब्बा साहेब अँध्यारो अनुहार लगाएर कोठाभित्र आए । मैले उनको अँध्यारो अनुहार लगाएको देखेर सोधेँ– सुब्बा साहेब, के आपत पर्यो हजुरलाई ? अनुहार एक दम उडेको छ तपाईँको ?
उनले अँध्यारो अनुहार बनाउँदै मलाई भने — हाकिम साब, केही दिनको छुट्टी चाहिएको छ । मलाई जसरी पनि घर जानुपर्ने भयो । छुट्टी दिन सक्नुहुन्छ ?
मैले सहज तरिकाले सोधेँ — किन र सुब्बा साहेब ? एक महिना पनि भएको छैन । तपाईं घरमा पुगेर आउनुभएको । होइन अहिले नै जानू पर्ने के त्यस्तो पर्यो र ?
उनले उत्तर दिए — छोरीले आची खाइछ सर ! हाम्रो ईज्जत खोलामा बगाइदिने भइछ । नाक काट्न आँटिछ ।
मलाई के कुरा रहेछ भनेर जान्न मन लाग्यो र पुनः सोधेँ— के गरी र तपाईँकी छोरीले ?
उनले भने— ऊ तल्लोजातसँग बिहे गर्छु भनेर अड्डी लिएर बसेकी छे । उसैको गर्भधारण गरिसकेकी छ रे ! उसैको पाप सल्बलाउन थालेको छ अरे । म गएर त्यो पाप फालिदिनु पर्यो र अर्को कुलघरानको केटा खोजेर बिहे गरिदिनु पर्यो । मलाई यो काम गर्न पक्कै पनि केही दिन लाग्छ होला ।
मैले उनलाई भनेँ— सुब्बा साहेब, तपाईँ यति धेरै पढे लेखेको हुनुहुन्छ । यो सारा दुनियाँ देख्नुभएको हुनुहुन्छ । हजुरले पनि अहिलेको युगमा यस्तो कुरा गर्न सुहाउँछ ? छोरीको रोजाईलाई सहर्ष स्वीकार गर्नुपर्दछ । छोरीको जीवन सफल होस्, छोरी खुशी होस् भन्ने सोच्नुपर्दछ । अहिले आएर त हजुरले छोरीको रोजाईलाई स्वीकार गर्न सक्नुभएन भने झन् अनपढ मेरा बुबा आमाले किन स्वीकार गर्न सक्नुहुन्थ्यो । त्यतिबेला उहाँहरुले ममाथि गरेको व्यवहार ठीक रहेछ । उहाँको सोच ठीक रहेछ भन्ने कल्पना गर्दैछु ।
उनले भावुक मुद्रामा भने, “हजुरमाथि के भएको थियो र ? हजुरको पनि अन्तर्जातिय विवाह हो र ?”
“हजुर हो ।” मेरो उत्तर सुनेर उनी तिल्मिलाउन थाले । अनि भने, “हजुर यति उच्च पदमा हुनुहुन्छ । सम्मानित हुनुहुन्छ । समाजमा हजुरको प्रभाव छ । तर त्यस्तो के भएको थियो र हाकिम साहेब हजुरसँग ?”
उनलाई सम्झाउने हेतुले पनि मेरो अतीत भन्न मन लाग्यो र भनेँ, “मेरो र तपाईँको छोरीको कथा मिल्दोजुल्दो छ सर । यदि सुन्नु हुन्छ भने म भन्नेछु । मेरो कथाले पनि तपाईँलाई छोरीप्रति के गर्ने भनेर सूत्र फेला पर्न सक्छ ।”
सुब्बा साहेबले भने, “हुन्छ भन्नुहोस् न सुन्छु ।”
“हवस् सुन्नुहोस् । १६ वर्षको उमेरका नै मैले हरिलालसँग प्रेम गरेकी थिएँ । ऊ पनि जम्मा १८ वर्षको थियो । ऊ हाम्रो घरमा काम गर्ने हलीदाइको छोरा थियो । उसले मलाई अति माया गर्दथ्यो । मानौँ उसको मुटुभन्दा पनि आगर । त्यही मायाका रन्कामा भनूँ वा बहकाइमा भनूँ । या चढ्दै गरेको उमेरको तृष्णाले भनूँ हामीबीच गहिरो माया बस्न थाल्यो । त्यही मायाको परिणाम स्वरुप हामी यति गहिराइमा डुब्यौँ कि आफैंलाई पत्तै भएन । मायामा मदहोस् भएका थियौँ । यही मदहोसी पनले हामीलाई सहवाससम्म पुर्याएको थियो । यो समाज हाम्रो अनुकुल छैन भन्ने कुरा पनि हाम्रो प्रेमले बिर्साएको थियो । त्यसैले हामी भाग्ने तयारीमा थियौँ । प्रेममा यस्तो हुँदो रहेछ नै । तर, हाम्रो प्रेम एककान दोकान हुँदै समाजभर फैलिएछ । घरमा बा–आमालाई पनि थाहा भएछ ।”
एकछिन मेरो बोली अवरुद्ध भयो । बोल्नै सकिन । आँखा रसिला भए । मन अमिलो भयो । यस्ता अतीतले सबैलाई भावुक बनाउँछ नै । मेरो भावुकतालाई चिर्दै उहाँले भन्नुभयो, “अनि त्यसपछि के भयो त ? बुबाआमाले स्वीकार गर्नुभयो ?”
“नाइँ गर्नुभएन । गरेको भए त यसरी किन भावुक बन्दथेँ र ?”, मैले भनेँ ।
“अनि के भयो भन्नुहोस् न ?”, उहाँले भन्नुभयो ।
“बुबाआमाले थाहा पाएपछि पनि हामीले भेट गर्यौँ । र त्यही रात भाग्ने बाचा गरेर छुट्टिएका थियौँ । भोलिपल्ट बिहान उठेर म हामीले भेट्ने भनेको ठाउँमा गएँ । हरिलाल त्यहाँ थिएन । केहीबेरसम्म कुरेँ ऊ आएन । म हरिलाल बस्ने घरमा गएँ । घरमा कोही पनि थिएनन् । मतलब उसको परिवारै थिएन । पछि थाहा पाएँ कि त्यो परिवारलाई मेरा बाआमाले धाकधम्की देखाएर अर्कै गाउँतिर धपाउनुभएछ । उनीहरुको परिवारलाई खर्चपानी नै दिएर धपाउनुभएको थियो रे भन्ने कुरा पछि थाहा पाएकी थिएँ ।”
“त्यसपछि के गर्नुभयो त ?”, उहाँले उत्सुकतापूर्वक सोध्नुभयो ।
“त्यसपछि म रोएँ । कराएँ । चिच्याएँ । ऊ बिना बाँच्न सक्दिन भनेर बिलाप गरेँ । बुबा–आमालाई हात जोडेर बिन्ती गरेँ । मेरो पेटभित्र हरिलालको बच्चा खेल्न थालेको थियो । त्यस्तो बेलामा ऊ बिना म कसरी बाँच्न सक्थेँ र आफैँ सोच्नुहोस् त ।” भन्दै एकछिन रोकिएँ ।
“हुन त अहिले हजुरले भनेको सुन्दा ठीकै लाग्यो । किनकि त्यतिबेलाको अशिक्षित समाज कति क्रुर थियो । त्यहीँमाथि मेरा अनपढ बुबा–आमाले कसरी सहन गर्न सक्नुहुन्थ्यो र ?रुँदै मेरा दिन बितिरहेका थिए । त्यसैबीच एक दिन आमाले मलाई भन्नुभयो, “छोरी उमेर छँदै बिहे गर्नुपर्छ । उमेर गएसी बूढी भन्छन् । र बिहे गर्न पनि गाह्रो हुन्छ । छोरीको बिहे गर्न सकेनन् भनेर गाउँलेले कुरा काट्छन् । हामीलाई पनि चिन्ता हुन्छ । त्यसैले राम्रो घरबाट कुरा आएको छ । केटो राम्रो छ । जागिर पनि खाएको छ । आखिर छोरीको जात एकदिन पराइको घर जानै पर्छ ।” आमाको कुरा सुनेपछि मलाई रिंगटा लाग्यो । संसार नै एकनासले घुमिरहे जस्तो लाग्यो । त्यसैले मैले भनेँ, “अहिले बिहे गर्दिन आमा । धेरै पढेर आफ्नै खुट्टामा उभिएर स्वतन्त्र जीवन जिउन चाहन्छु ।” “अब नगरे कहिले गर्ने हो त ? कि बूढीकन्या बस्ने विचार छ र ?” उल्टै प्रश्न गर्नु भयो । आमाले प्रयोग गर्नुभएको बुढिकन्या शब्द नमिठो लाग्यो । वास्तवमा म कसैकी भइसकेकी थिएँ । त्यसैले आमालाई तत्कालै जवाफ दिएँ — आमा, म बूढिकन्या होइन । मेरो पेटभित्र हरिलालको बच्चा हुर्किँदैछ । मेरो कुरा सुनेर आमा आगो हुनुभयो । उहाँको संसारमा पहाड खस्यो । उहाँको नाकमा दाग लाग्यो । ईज्जत खान्दान सबका सब चौपट भयो ।”
एकछिन पुनः रोकिएँ र फेरि भनेँ । “त्यसपछि आमाले मलाई फकाउँदै भन्नुभयो, “छोरी, त्यो कुजातको गर्भ फालिदेऊ । कसैलाई पनि थाहा नदेऊ । हामी भोलि नै सहर गएर गर्भपतन गराउनुपर्छ र केही महिनापछि बिहे गर्नुपर्छ । बिहेको कुरा आएकै छ । केटो राम्रो छ । त्यसैसँग तेरो बिहे गर्नु पर्छ । हामीले यो कुरा गुपचुप राख्नुपर्छ, बुझिस् ।” आमाका कुरा सुनेपछि मैले भनेँ, “आमा, म गर्भपतन गराउँदिन । यो निर्पराधी भ्रुणको हत्या गर्दिन । यो बच्चाको के दोष छ र ? हरिलाललाई हजुरहरुले जहाँ लखटेपनि म उसको प्रेमको चिनोलाई मेरैसाथ राख्नेछु । बिहे नगरीकन यसैलाई पाल्नेछु ।” मेरा कुरा सुनेपछि आमा आगो हुँदै भन्नुभयो, “तैंले गर्भपतन गरिनस् र बिहे गरिनस् भने यो घरमा बस्न पाउँदिनस् ।”
श्रीधर सुनिरहेका थिए । मैंले फेरि घटनालाई जोडेँ । “मैले बिहेपछि लोग्नेमान्छेसँग भोग्नु परेका कष्टकर समय देखेकी थिएँ सुनेकी थिएँ । आफूले भोगेका कष्टकर समय आमाहरुले सहज रुपमा बिर्सन्छन् । र आफ्नै छोरीलाई बिहेको लागि दबाब दिन्छन् । मेरा मनभरि यस्तै प्रश्नहरु उब्जिरहेका थिए । आमा चुप बस्नु भएको थियो । मलाई बिहे गर्नुथिएन तैपनि मैले आमालाई भनेँ, “आमा हजुरलाई एउटा कुरा सोधौँ ?”, “हुन्छ सोध के सोध्न मन लागेको छ ।” आमा रीसले चूर हुँदै भन्नु भयो । आमाको अनुमति पाएपछि सोधेँ, “हजुरले बिहे गरेर कहिल्यै सुख, शान्ति, स्वतन्त्रता र आफ्नो हकअधिकार जस्ता कुराहरु पाउनु भयो ?”, “पाएकी छु, देखिनस् के कति पाएँ । तँलाई र तेरो भाइलाई पाएँ । घरव् यवहार हेरेँ । तेरा बाबुको कहर काटेँ ।” आमाले एक श्वासमा भन्नु भयो । त्यो बेलामा मैले सोचेँ । कठै ! मेरी आमा बिहे गरेर छोराछोरी जन्माउनु नै सफल जीवन ठान्नु हुन्छ । हुर्केपछि बिहे गर्यो, लोग्नेलाई देवता मान्यो । सधैँभर उसैको चरणकमलमा पर्यो । आज्ञाकारी भयो । जे भन्छ त्यही मान्यो । गाली गरोस् अथवा चुटोस् सहेर बस्यो । उसको मनोरथ पुरा गर्यो । गर्भ बोक्यो । छोराछोरी जन्मायो । उनैलाई हुर्कायो । बिहेदान गर्यो । नातिनातिना भन्यो घोटियो । काम गर्दागर्दै शरीर रोगी बनायो । मेरा मनमा यस्तै जिज्ञाशाहरू खेल्न थाले । के आमाको जस्तो जीवन नै आदर्श जीवन हो त ? बिहे गर्ने, बोक्ने र ब्याउनेभित्र नै जीवनको सार लुकेको हुन्छ त ? कुनै छोरी मान्छेले बिहे नगरिकन बस्दा फेरि यो समाजलाई के को आपत्ति पर्ने रहेछ ? कसैले बिहे गर्न नचाहनुमा समाजको के को टाउको दुखाइ ? थोत्रा गाला बजाएर कुरा काट्नलाई किन अग्रसर ? अनि मैले आमालाई भनेँ, “बिहे नगरिकन बस्छु म आमा । हेर्छु म पनि । के–के भन्दो रहेछ समाजले ? गर्दिनँ बिहे सिहे । हरिलालको बच्चा जन्माएर यही समाजमा बस्छु । मान्दिन कुनै लोग्नेमान्छेको जातलाई देवताको स्वरुप । के छोरी मान्छे यहाँ स्वतन्त्र भएर बाँच्न नपाउनु ?” मेरा कुराले आमा एक दम उदाश हुनु भयो । अनि भन्नु भयो, “त्यो कुजातको गर्भ फाल्नै पर्छ छोरी । अनि आइमाईको जीवनमा एउटा लोग्नेमान्छे चाहिन्छ नै । समाज ईज्जत प्रतिष्ठा माटोमा नमिला छोरी । बिन्ती छ ।” एउटा लोग्नेमान्छे चाहिने कुरा गरेपछि मलाई एक दम रिस उठ्यो । अनि मैले आमालाई भनेँ, “भो आमा मलाई लोग्नेमान्छेका कुरा नसुनाउनु । महिलालाई बलात्कार गर्ने पनि लोग्नेमान्छे हुन् । महिला बलात्कृत भई भने पनि उसैको खेदो खन्ने लोग्ने मान्छे हुन् । घरभरि छोराछोरी छन् हट्टाकट्टा रुपले भरिपूर्ण श्रीमती छ भने पनि बाहिर केटी ताक्दै हिँड्ने लोग्ने मान्छे हुन् । मेरो प्रेमलाई डाँडा कटाउने पनि मेरै बुबा लोग्नेमान्छे हुन् । के सोच्छ यो लोग्ने मान्छेको जातले आफूलाई ? आईमाईलाई किन खेलौना सम्झन्छ र फेरि फेरि जतिखेर पायो उतिखेर खेल्न चाहन्छ ? म गर्दिनँ बिहे । र फाल्दिनँ यो गर्भ पनि ।”मेरो कुरा सुनेर आमा छक्क पर्नु भयो । समस्या झन् चर्कँदै थियो ।”
मैंले श्रीधरसमक्ष विगत खोलिरहेकी थिएँ । उनी एक टकले मेरा कुराहरु सुनिरहेका थिए । मैंले विगतलाई भन्दै गएँ । “आमासँग कुरा खोलेपछि घरमा बेग्लै माहोल बन्यो । रात पर्यो । मलाई निद आइरहेको थिएन । मनमा कुराहरू खेलिरहेका थिए । बुबाआमाको कोठाबाट आवाज आइरहेको थियो । आमा भन्दै हुनुहुन्थ्यो, “के गर्ने नानीका बा ? यो छोरीले त आची खाइसकिछ । त्यो हरिलालेको बच्चा छरे त्यसको पेटमा । हामीले त यसो मायापिरति मात्र होला भन्ठानेका थियौँ । माया गहिरो हुन नदिनको लागि उनीहरूको परिवारैलाई डाँडा कटायौँ । तर अब के गर्ने ? त्यो पेटको बच्चा पो घाँडो हुनेभयो । गर्भपतन गराऊँ भनेर कति सम्झाएँ । मान्दै मान्दिन । अब पो के गर्ने होला ?” बुबा एक छिन् चुप लाग्नु भयो । म साउती मारेर सुनिरहेकी थिएँ । एक छिनपछि बुबा सुस्तरी बोल्नु भयो, “चुपचाप बस्नुपर्छ । त्यसले फकाएर मान्दिन भने जबर्जस्ती अस्पताल पुर्याएर पनि त्यसको त्यो भ्रूण फाल्नुपर्छ । तर यसको छनक त्यसलाई दिन हुँदैन है । आजैदेखि त्यसको कोठामा भोटे चाल्चा मार्नुपर्छ ।” आमाबुबाको कुरा सुनेर मेरो मनमा भूइँचालो गयो । केहीछिन पछि आमा ताल्चा बोकेर मेरो कोठामा आउनु भयो र कर्कश स्वरले भन्नु भयो, “उसबेलादेखि यहीँ बसेर के गरेकी छस् ?”, अनि मैले पनि चाल चलेँ र भनेँ, “आमा, मैले खुव सोचेँ । मलाई आफूले गल्ती गरेको महसुस भयो । अब हुजुरहरूले भनेको ठाउँमा गएर गर्भपतन गर्छु र हजुरहरुले नै खोज्नु भएको लोग्ने मान्छेसँग बिहे गर्छु ।” मेरो कुरा सुनेर आमाले सन्तोषको श्वास फेर्नु भयो । बुबालाई पनि बोलाएर मेरा कुरा सुनाउनु भयो । बुबा पनि खुसी हुनुभयो । अनि मेरो कोठामा ताला लागेन । बुबा–आमा बाहिरिएपछि मेरा मनमा हुँडरी पस्यो । मसँग हरिलालको प्रेमको निसानी थियो । म उसलाई मार्ने पक्षमा थिइनँ । भ्रुणको के गल्ती थियो र ? यो भ्रुणलाई मैले जन्म दिनैपर्छ र यसले धर्तीमा स्वतन्त्रतासँग बाँच्न पाउनुपर्छ सोचेँ ।”
यति भनिसक्दा मेरा आँखा आँसुले टिलपपल भएका थिए । हरिलालको चोखो माया सम्झेर मन छियाछिया भएको थियो । एकछिन रोकिँदै फेरि भन्न थालेँ ।
“हेर्नुहोस् सर, त्यसपछि मैले एउटा झोलामा आफ्ना कपडा हालेँ । र अलिकति पैसा आमाको आल्मारीबाट चोरेँ । बिरालाको चालमा ढोका खोलेँ । ढोकालाई सुस्तरी ढप्क्याएँ र बाहिर निस्केँ । बिहानको ३ बजेको थियो । कुकुरहरू भुकिरहेका थिए । निकै अँध्यारो थियो । म मूलबाटो जान छोडेर कान्लैकान्ला उँघो झरेकी थिएँ । काठमाडौँ जाने बस भेट्न मेरा घरबाट कुद्दा पनि ३ घण्टा लाग्थ्यो । तर, म यसरी बतासिएकी थिएँ कि २ घण्टामा पुगेँ । काठमाडौँ जाने बस लागिरहेको रहेछ । टिकट काटेर म खुरुक्क बसभित्र पसेँ । सर अहिले तपाईँ मेरो जुन छोरा देख्नुभएको छ नि त्यो हरिलालको निशानी हो । हरिलालको मायारुपी सौगात हो । हरिलाल र मेरो प्रेम कहानीको दस्तावेज हो ।”
“अनि बाबुको बुवा हरिलाल नै हुनुहुन्छ त ?”, श्रीधर सरले सोध्नुभयो ।
“होइन सर, जुन बाबुको बुवा भनेर चिन्नुहुन्छ नि त्यो व्यक्ति हरिलाल होइन । मेरो यो लोग्ने पहिला इँटाभट्टामा काम गर्नुहुन्थ्यो । म भागेर काठमाडौं आएको कुरा त हजुरलाई भनिसकेँ । त्यसरी आउँदा कति दुःख पाएँ, अहिले हजुरलाई बताउन पनि सक्दिन । त्यही दुःखको बेलामा यिनीसँग भेट भयो । मेरो दुःखमा साथ दिने साथी बने । दुःखमा साथ दिने क्रममा केही अगाडि बढियो । दुवै पक्षले आफ्ना सबैकुरा खुलस्त राख्यौँ । दुवैको कुरा दुवैलाई मनासिब लाग्यो र बिहे गर्यौं । त्यसपछि हामी मिलेर काम गर्न थाल्यौँ । केही आम्दानी गर्यौं । पढ्यौँ, पढायौँ । हजुरलाई थाहा नै छ मेरो लोग्ने पनि सरकारी कार्यालयको हाकिम हुनुहुन्छ । सर जीवनमा के–के भोगिएन होला र ? जे जति भोगे पनि अहिले हामी हाम्रो ठाउँमा ठीक छौँ । जिन्दगीका कान्लाहरु चढ्दाचढ्दै पेटमा बच्चा लिएर एक्लै भाग्दा ओर्लेका कान्लाहरु बिर्सन थालिएछ । तर पनि दौडमा भोगेका कहरहरू भने ताजा छन् । अहिले पनि लाग्दछ, मेरो त्यो अवस्थामा मेरा आमा–बुबाले केही सहयोग गरेको भए पनि हुन्थ्यो । केही गर्नुभएन । उहाँहरुले हाम्रो लागि मरिसकी भन्नुहुन्थ्यो । नानाथरीका गाली गलौज गर्नुहुन्थ्यो । मलाई कसैले न कसैले सुनाउँथे । म सुन्थेँ र मनमनै भगवानसँग यही पुकार गर्थेँ कि बुढेसकालमा मैले नै उहाँहरुलाई पाल्न परोस् । म खुशीसाथ पाल्नेछु । सर, हजुरले मेरा घरमा जुन बूढा–बूढी देख्नुहुन्छ नि ती मेरा बुबा–आमा हुन् । अहिले बुबा–आमाको आँखामा पश्चातापको ज्वाला दन्केको देख्छु । त्यसैले सर हजुरलाई पनि भोलि पश्चाताप नपरोस् । छोरीको रोजाईलाई खुशीसाथ स्वीकार गर्नुहोस् र छोरीलाई साथ दिनुहोस् । जानुहोस् घरमा र छोरीको बिहेको तयारी गर्नुहोस् । हजुरलाई कतिदिन बिदा चाहिन्छ म स्वीकृत गरिदिन्छु ।”
मेरा कहरका कथा सुनेर श्रीधरका आँखा रसाएका थिए । रसाएका आँखालाई रुमालको छेउले पुछ्दै उनले भने, “हाकिम साब, हजुरले मेरो आँखा खोलिदिनु भयो । अब म घर जान्छु र हजुरले भने जस्तै गरेर छोरीको रोजाईमा खुशी हुँदै बिहेको तयारी गर्दछु । हाम्रो कारणले कहिले पनि हाम्री छोरी दुःखी हुन नपरोस् ।”
– लेखराज रेग्मी
एउटा जाज्वल्य आन्दोलन
बोकेर गर्भमा बिसंगत चाहनाहरु
निर्विकल्प झै लाग्ने आकांक्षाहरु
उदाइसकेपछि एकपटक
सायद ढल्दैन जस्तै प्रतित
वस्तुसत्यका चापमा पिल्सीएर
थला परेपछि उठ्नै नसक्नेगरी
जीजिविषाका अवशेष बटुलेर
फर्किन चाहन्छ बिसर्जनको डिलबाट
भ्रमितहरु आक्रोशित हुनु जायज छ
गलितहरु छटपटिन स्वाभाविक छ
तर खतरनाक हुँदोरहेछ सपनाको सौदा
जब सौदागर नै तङ्ग्रिन छोडेर
कथाको लोभी बुढो बाघ बन्दोरहेछ ।।
निर्निमेस हेरिरहेको छ जनता
सपनाहरु ऐठन परेका रातहरु
एउटाले भन्दैछ फेरिए अध्यावसायहरु
अर्को भन्दैछ सप्रिदै थियो व्यापार
र भन्दैछ तेस्रो दगावाज छन् मुखियाहरु
बिसर्जनको डिलमा छन् हाम्रा सपनाहरु
आउ साउती गरौ आफन्तहरु
उडिरहेका छन् पञ्जा फिजाएर गिद्धहरु
मस्त गाईरहेछन् रातभर स्यालहरु
फेरि आउँदैछन् कहालि लाग्दा दिनहरु
पिशाचहरु सनक्क सन्किरहेको बेला
आउ गुमस्ता गरौँ हामीहरु ।।
गलित आफन्तमा हिम्मत भर्न
थकित अभियन्तामा जाँगर भर्न
फेरि एकपटक इन्क्लाव खोज्न
भएनन् खबरदारीहरु किन ? बुझ्न
बिरायौ कहाँ किन ? निक्र्योल गर्न
एकपटक फेरि ब्युझाउन सुन्दर सपनाहरु
आउ कोशिस गरौँ लय र ताल समाउँदै
फर्काउन बिसर्जनको डिलबाट
हाम्रा सपनाहरु जीजिबिषाहरु ।।
– सिता शर्मा
नयनवाण हानी लजाएर बस्छ्यौ
अहो प्राण प्यारी सताएर बस्छ्यौ ।।
म तिम्रै छु सामू, नबोलेर केही
चुरा हातका ती बजाएर बस्छ्यौ ।।
नखोलेर मनका सबै भाव तिम्रा
यही गीतमा गुनगुनाएर बस्छ्यौ ।।
म पागल बनी प्रेममा डुब्न थालें
तिमी व्यर्थ यो मन जलाएर बस्छ्यौ ।।
धपक्कै बलेको सुनौलो छ रूप
बनी चन्द्र दिलमा उदाएर बस्छ्यौ ।।
– शोभा शाह
१.
बाउको नाङ्गो खुट्टा ढुङ्गाले बारबार काटेपछि
त्यो एउटै चोली आमाको दस ठाउँमा फाटेपछि
तातो बालुवा खान बाध्य भएँ म खाडी छिरेर
श्रीमतीले भोको पेट मर्छु भनि डोरी बाटेपछि ।।
२.
परदेशीन बाध्य भएँ मुटु गाउँमा राखेर
भाइ बहिनी फकाई फुल्याई ठाउँमा राखेर
गर्नु थियो ठूलै उपचार रोगी बृद्धा आमाको
पाखोबारी ऋण बोकी साहुको नाउँमा राखेर ।
३.
बालखैदेखि थाप्लोमा नाम्लो भारी छुटेन कहिल्यै
पीडा लुक्यो आँशु लुक्यो तर, दुःख लुकेन कहिल्यै
भाग्य कमजोर भएपनि बलियो रैछ खप्पर
क्विन्टल भारी बोक्दा पनि यो शिर दुखेन कहिले ।।
४.
दुःखको अन्धकारमा प्रियको साथ नै जून तारा हुन्छ
प्रेमजल बगाउने मनमा मायाको अमृत धारा हुन्छ
जति सन्तान जन्मेपनि आखिर मर्ने बेला हुन्न कोही
बुढेसकालमा जोइपोई नै एक अर्काको साहारा हुन्छ ।।
– इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’
बलैले रोक्न खोजेको आँशु थाहै नपाई फेरि छचल्किएछन् । खुशीले मन झुमे पनि यो आँशु बग्नै पर्ने । जे भए जसो भए पनि आँशु बग्नै पर्ने र दुःखले मनलाई चिमोटे पनि गाँजे पनि यो आँशु बग्नै पर्ने । जे भए जसो भए पनि आँखाले ओभानो हुुने मौका पटक्कै नपाउने । आँखाबाट आँशुलाई पन्छ्याएर कम्प्युटरको अनहारमा हेरेँ — सौम्या र सौरबलाई लेखेको इमेल ठीकै भएकोले सेण्ड बक्समा क्लिक गरेँ । मलाई थाहा छ, उनीहरुलाई हातले लेखेको चिठी पढिरहने फुुर्सद छैन अझ भनूँ यो समय नै इमेल इन्टरनेटकै हो । आँखै अगाडि छोराछोरी आएसरि इमेलमा टाइप भएका आफ्नो छोराछोरीको नामलाई मैले स्नेहपूूर्वक स्पर्श गरेँ । सौम्या र सौरब, मेरो आँखा, मेरो मुटु, यी दई नै मेरा संसार हन्, बाँच्ने मेरा आधार हन् । यो खुशी यो प्राप्ति, आल्हादका यी मीठा अनि मूल्यवान पलहरुलाई साटासाट गर्न ती दई बाहेक तेस्रो व्यक्ति अर्को हुनै सक्दैनन् मेरा लागि ।
कम्प्युटर बन्द गरेर बैठकमा आएकी मात्र थिएँ देवी बज्यैले चिया बनाएर ल्याई सकिछन् । “मलाई मात्रै ल्याउनु भो चिया, तपाईंलाई खोइ त ?”
“म त बाहिर घाममा बसेर खान्छु ।” देबी बज्यै निस्किएपछि मेरो मनले फेरि आँशुसँगकै नाता जोड्न खोज्छ । दई आँखाबाट बग्ने रंगहीन आँशु पनि प्रसङ्ग र समयअनसार फ्रक हँुदा रहेछन् । आजभन्दा बीस/बाइस वर्ष अगाडि मेरा आँखाबाट बग्ने आँशुमा पीडाको रंगबाहेक अरु केही थिएन । प्रत्येक थोपामा पीडा, यातना, अत्याचार र कष्ट बाहेक अरु केही हुुँदैन थियो । काला ती दिनहरुलाई आज सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ, कहाली लाग्छ भने हिजोका दिनहरुमा म आपैmले ती दिनहरु कसरी बिताएँ होला ? कसरी सहेँ हुँला मैले ती कालरात्रीहरुलाई ? पीडादायी यो यथार्थ मलाई मात्र थाहा छ तर, मेरा छोराछोरीलाई थाहा छैन ।
प्रवेशिका उत्तीर्ण हने वित्तिकै मैँले प्राथमिक विद्यालयमा पढाउन थालेकी थिएँ । साँझमा म नेशनल कलेजमा पढ्थें । बाबु बिनाका हामी चार छोराछोरीलाई आमाले धेरै दुःखले हर्काउनु भएको थियो । बुवाको साथी हवल्दार कर्ण थापाको सहयोगले मैँले यत्ति सजिलै जागीर पाएकी थिएँ । मेरो लागि यो जागीर कुबेरको खजानाभन्दा पनि ठूलो र महत्वपर्ण थियो । यही जागीरमा स्थायी हन पाए आपूm पढ्दै आफ्नो भाइबैनीहरुलाई पढाएर हरदम आमाको आँखाबाट बग्ने आँशु पुछ्ने मेरो चाहना थियो । सम्पत्तिको नाममा हाम्रो एउटा झुप्रो बाहेक केही थिएन । तर, आमाको हातमा जस्तै लुगालाई पनि सुन्दर पोशाक बनाउने सीप थियो । आमाको त्यही सीपले हाम्रो परिवार पालिएको थियो । मैँले पनि घरमा चार पैसा कमाएर ल्याउन थालेपछि भाइबैनीको विद्यालय जानेक्रम नियमित भएको थियो ।
के सोचिरहनु भा’ हजुरले ? भान्छा तयार भो, आउनुस् । ’—दुर्गा बज्यैको आवाजले म अतीतबाट वर्तमानमा फर्किन्छु ।
आमाको र मेरो मेहनतले घर जेनतेन चलेकै थियो । उधारो खानु नपरोस्, ठूलो दुुःख बिमार नहोस् भन्ने आमाको र मेरो सधैँको कामना हुुन्थ्यो । तर, अप्रत्यासितरूपमा हरेन्द्रबहादर सिंहबाट मसँग विवाहको प्रस्ताव आउँदा हामी आमाछोरी स्तब्ध भएका थियौं, एकाएकको यो प्रस्तावले हामी स्तब्धभन्दा पनि अझ बढी त्रसित भएका थियौं । आपसमा धेरैबेर हेराहेर गर्दा हाम्रो मनमस्तिष्कले भनिरहेको थियो, यो भ्रम हो, सत्य यसमा छँदै छैन । तर हाम्रो स्तब्धतालाई भङ्गगर्दै कर्ण थापा काकाले भन्नुभयो । “यसमा नपत्याउनुपर्ने कुरै छैन । मेजर्नी साबलाई शर्मिष्ठा नानी असाध्यै मन पर्यो रे ! यस्तै मेहनती मान्छेले घर गरी खान्छन् रे भनेर मलाई त कुरा पक्का गरेरै आउन भन्नु भा’छ ।”
प्रस्ताव जत्तिसुकै राम्रो भए तापनि मलाई मञ्जुर थिएन किनभने म कम्तिमा पनि स्नातक हुन चाहन्थें । मेजर्नी साहेवको प्रस्तावभन्दा पनि बढी दवाब र हरेन्द्रबहादरको प्रशंसाले आमा लोभिनु भयो कि गल्नु भयो, त्यो उहाँ नै जानुन् । तर, आमाले मञ्जुरी दिनु भयो । जवकि म आफ्नोे लक्ष्यअनुसारको पढाई नसकी कुनै पनि हालतमा अहिले विवाह गर्न चाहँदैन थिएँ ।
“छोरी योभन्दा गतिलो केटो र उच्च घरान त तेरो बुुवा बाँचिरहेका भए पनि तेरो लागि खोज्न सक्दैन थिएँ । त्यसैले छोरी नाईं नभन । तेरै जिन्दगी सप्रिन्छ ।” मेरै जिन्दगी सप्रिने सपना देख्ने मेरो सुखी जिन्दगीको कामना गर्ने आमाले आफ्नोे पछ्यौरी थापेपछि मैले मेरो इन्कारभावलाई बागमतीमा सेलाउनुको मसँग अर्को विकल्प थिएन ।
मेरो मनमा विवाहको बारेमा कनै योजना थिएन, आफ्नोे निजी लोग्नेमान्छेको मसँग कुनै काल्पनिक चित्र पनि थिएन भने आफ्नोे निजी घरको झन मैले कल्पना नै गरेकी थिइनँ । तर, सोह्र वर्षकै कलिलो उमेरमा अठ्ठाइस वर्षको खानदानी जमिन्दार हरेन्द्रबहादरसँग मेरो विवाह भयो । पोते र सिन्दूर दिएको आडमा विवाहको पहिलो रातमै उसले आफूभित्र रहेको पशुत्वलाई निःशुल्क प्रदर्शन गर्यो । तर, मेरो रुवाई सुन्ने त्यहाँ कोही थिएनन् । घरको सदस्यको नाममा आमा र छोरामात्र भएको त्यो घरमा नोकरचाकर चाहिँ आठ/दश जना रहेछन् ।
माइतभन्दा विलकुलै भिन्न माहौलको घरमा नै मैले आपूmलाई अभ्यस्त गराउनु थियो । तीन/चार रोपनी जग्गालाई घेरेको कम्पाउण्डभित्र ठडिएको चार तले घर बाहिरबाट हेर्दा जत्ति सुन्दर देखिन्थ्यो भित्रबाट भने यो त्यत्तिकै कुरूप थियो भन्ने यथार्थ भुक्तभोगीलाई मात्र थाहा हुुन्थ्यो । किनभने हरेन्द्रबहादुरको निश्चित कुनै काम थिएन । कामको नाममा ऊ केवल मौजा उठाउनका लागि मात्र तराईतिर झर्दो रहेछ । अरु बेला भने ऊ तास, जुवा र रण्डीबाजीमै भुलिरहेको हुँदो रहेछ । तर, हिसाव किताव राख्ने, नोकर चाकर अहउने, ठालुकहाँ चाकरीमा जाने कुरामा मेजर्नी साहेबलाई कसैले नभेट्ने रहेछन् । बूढा मुन्सी काका चाहिँ मेजर्नी साहेबका खास विश्वासपात्र रहेछन् भन्ने बुुझ्न मलाई धेरै समय लागेन ।
टन्न मातेको अवस्थामा भुतुचाको सहयोगमा ढनमनिंदै जहिले पनि आधारातमा आइपग्थ्यो हरेन्द्रबहादुुर । उसको अत्याचार नियमित आकस्मिकता भइसकेको थियो । उसको अत्याचारको बिरोध गर्ने प्रयत्न गर्दा मैले लोग्ने र सासुु दवैबाट पिटिनु पर्यो । “लोग्नेले जे भन्छ त्यो तैंले मान्नै पर्छ, बुझिस् ?”, रौद्र रूप देखाउदै मेजर्नीले भनिन्, “हैनभने यो विशाल महलको कुनै कुनामा तेरा हाडखोर मक्किएको त आफैंले पनि था’पाउने छैनस् । बालखा हैनस् तँ पनि, यत्ति बुझिराख ।”
सौम्या जन्भिएपछि छोरीको मुख हेरेर भए पनि हरेन्द्र सुध्रिएला, मलाई श्रीमतिको दर्जामा राखेर हेर्ला भन्ठानेकी थिएँ । तर, म कुुनोमा छँदै उसले बजारिया आईमाईलाई घरैमा ल्याउन थाल्यो । मैँले सुरुमा रोएर असहमति र बिरोध जनाएँ । किनभने विद्रोह गरिहाल्ने मेरो क्षमता र आँट दुबै थिएन । तर मेरो आँशुले उसलाई अलिकति पनि भिजाएन बरु उसले बजारिया आईमाई लिएर नआएको दिन भान्सेहरु मिसरीचा होस् वा चम्पाकली दुुईमध्ये एउटीलाई तान्न ऊ अघि सथ्र्यो । पुरुषको यो रूपको मैले कल्पनै गरेकी थिइनँ, कतै देखेकी वा सुनेकी पनि थिइनँ । तर, जुन पुरुषसँग मैले आफ्नोे सिंगो जिन्दगी बिताउनु छ । त्यही मान्छेले नैतिकताका सम्पूर्ण सीमाहरु उल्लंघन गरेर मलाई मर्नु न बाँच्नु बनाइ रहेछ । के गरुँ म ? कसलाई भनूँ म यो पीडा ? आमालाई भनूँ भने दुःखमाथि कति दुःख दिनु दुखियारी आमालाई ? सबैभन्दा पहिला मैले सासुलाई नै भन्ने निधो गरेँ र भने पनि । तर प्रत्युत्तरमासासु, लोग्ने, मुन्सी, मिसरीचा, चम्पाकली मिलेर मलाई कुट्नुसम्म कुटे । कुटाईले म इन्त न चिन्त भएर लडेकी थिएँ । साह्रै तिर्खा लागेकोले पालैपालो घरका सबैलाई बोलाए । तर, कसैले सनेनन् । त्यसैले घस्रिएरै भान्छातिर लागें । भान्छाभन्दा वर्तिर मेजर्नी साहेबको कोठामा मैले जे देखें, त्यो देखेर म आकाशबाट एकैचोटि धर्तीमा बजारिएँ । मलाई अब छ्याङ्ग भयो— हरेन्द्र किन यसरी पशुु भएको रहेछ ? किन उसले नैतिकताका सम्पर्ण पर्खालहरु नाघेको रहेछ । किन यो घरमा मुन्सी काकाको हैेकम चल्दो रहेछ ?
मैले हरेन्द्रलाई हात जोडें । उसको पाउ समातें ।
“हेर्नस्, तपाईले सही बाटो रोज्नु भएन भने तपाईंका नानीहरु पनि गलत बाटोमा लाग्नेछन् । त्यसैले बिन्ति छ, गलत बाटो नहिँड्नुस् , बिन्ति छ ।”
“कसको नानी ? केको नानी ? मलाई सब थाछ तेरोको को–कोसँग लसपस छ, मुवा हजुरले मलाई सप्पै भनिस्या छ ।”, उसले मेरो केश भुत्ल्याउदै भन्यो ।
“मेरो विरुद्धमा मेरो छोरोको कान भर्नेको परिणाम यस्तै हुन्छ ।”, सासुले पनि मेरो कपाल लुछन् बाँकी राखिनन् ।
“यो घरको बुहारी भएर बस्ने मन भए आँखा भएर पनि अन्धी हुनु, कान भएर पनि बैरी हुनुु र मुख भएर पनि लाटी बन्नु । यसैमा तेरो भलाई छ नत्र............।”, सासुले आफ्नोे रौद्र रूप देखाउँदै भनिन् ।
जतिसकै औलादौला भए तापनि यो घर मेरो लागि नर्क समान थियो । मेरा लागि माया, स्नेह, सद्भाव र विश्वासको यहाँ कनै सम्भावना थिएन, अंश थिएन । मेरो जीवनमा म यही प्राप्तिका लागि प्रयत्नरत थिएँ तर, निराशाबाहेक अरु केही हात लागेन । सासु र लोग्नेलाई बिन्ति गर्दा पनि मैँले मेरो छोरोको मुखसमेत हेर्न पाइनँ । कसलाई पोख्नु मैँले मेरो मनको बह ? अकल्पनीय यस्ता दुःख र कष्ट एउटी गरिब केटीले मात्रै सहन सक्छे भनेरै मेजर्नीले मलाई आफ्नोे आवारा छोराका लागि रोजेकी रहछिन् भन्ने बुुझ्न मलाई लामै समय लाग्यो । तर, जिन्दगी नर्कको आगोमा हुरहुर बलिरहंँदा पनि पढ्न मैले छाडेकी थिइनँ । किनभने जिन्दगीमा म मेरो दिवंगत बुवाभैंm असल शिक्षिका बन्न चाहन्थें ।
छोराछोरीको मुुख हेर्न माग्दा, पढ्न जान खोज्दा र जागीरमा जान खोज्दासमेत बातैपिच्छे कुटाई नखाएको दिन थिएन । मेरा अनुनय विनय, घुर्की, आँशुको केही नलागेपछि मैले प्रहरीमा जानुको बिकल्प थिएन । प्रहरीले घरैमा आएर हरेन्द्र र सासुलाई सम्झाए, चौकीमा बोलाएर सम्झाए । तर, केही लागेन । अन्त्यमा कानुन व्यवसायीको सहारामा लिखित उजुरी दिएपछि प्रहरीले पक्राउ गरेर लान खोजेपछि मात्र उनीहरु अलि मत्थर भए । आफ्नै नानीहरुसँग भेट्न पनि मैँले ठूलै संघर्ष गर्नुपर्यो । यो संघर्षका क्रममा बगेका आँशु हेर्ने हो भने काली र गण्डकीतिर फ्र्किंदा पनि अन्यथा नहोला नै ।
आमाछोराले भित्रभित्रै ठूलै षडयन्त्र गर्दैछन्, कतै यही घरभित्रै मेरो चिहान पार्ने पो हुन कि भन्ने शंका बलियो हुँदै गएपछि अंश दाबीसहित पारपाचुकेका लागि जिल्ला अदालत गएँ । कानुुनदेखि तर्सिएका आमाछोराले मलाई शारीरिक यातना दिन नसके पनि मानसिक यातना र दुुःख दिन भने छाड्ेनन् । अब एउटै भान्सामा मेरो लागि भात पनि पाक्दैन थियो ।
“लोग्ने र सासुको विरुद्धमा उजुरी हाल्नेले आपैmले पकाएर खानु । भान्सामा दाल, चामल, नुनतेल जम्मै छन् । भान्छामा दैलो ला’छैन क्यारे ।”, सासुको दर्वचन, लोग्नेको अपहेलना र मुन्सी काकाको अनुहारमा छाएको व्यंग्यलाई सहेरै मैले कानुनी लडाई लडिरहेँ । त्यसको अर्को विकल्प नै थिएन मसँग । मुद्दा फ्र्तिा लिन मलाई चौतफर््ी दवाब र धम्की दिइयो । तर, मैले टेरिन । किनभने एकबारको जुनी अन्याय र अत्याचार सहेर यो नर्कमा काट्न म कुनै हालतमा तैयार थिइनँ । म बाँच्न चाहन्थें, आफ्नै लागि र आफ्नो सन्तानहरुका लागि पनि । त्यसका लागि मैँले यो घरबाट निस्किनु जरुरी थियो । जिन्दगीमा कहिलेकाहीँ अपत्यारिलो घटना घट्दो रहेछ । जूवाको खालमा भनाभन र भनाभनपछिको हात हालाहालमा हरेन्द्रबहादुरको ज्यान गयो । उसका जुवाडे साथीहरु अक्कलबहादुर, सुरेन्द्र शमशेर, नरेन्द्रजंग आदिलाई प्रहरीले समातेर मुद्दा चलायो । हरेन्द्रको लाश देखेर त्यसबेला जड भएछु म । किन किन म छाती चिरिउञ्जेल रुन चाहन्थें । तर, आमाछोराकै कारणले सुकिसकेका रहेछन् मेरा आँखाका आँशु । मेरा रङ्गीन वस्त्रको सट्टामा सेतो वस्त्र लगाई दिँदा पो मेरो रुवाईको बाँध भत्किएछ । मलाई थाहा छैन, त्यसबेला म किन रोएँ ? हरेन्द्रबहादुरको मायाले वा कलिलो उमेरमै बिधवा हुनु परेको पीडाले ? म अहिले पनि यसै हो भन्न सक्दिन ।
सासु र म बीचको दूरी झनै बढेर गइरहेको थियो । हरेन्द्र नै नरहेपछि मेरो मुद्दाको प्रवृत्ति नै फेरियो । छोराछोरीको लालनपालनका लागि पनि केटाकेटीहरुलाई उनीहरुको बाबुको सम्पत्ति दिलाउनु मेरो कर्तव्य थियो । करिब चार/पाँच वर्षको लडाइँपछि मैतिदेवीको एउटा थोत्रो घर र थोरै जग्गा मेरो भागमा पर्यो । म त्यसमा पनि खुशी थिएँ । आफ्नो नानीहरुसँगै बसेर सुखले शिर ओताउने छानोभन्दा बढी मलाई अरु केही चाहिएको पनि थिएन । जे जस्तो भए पनि माष्टरी जागीरमा म स्थायी भइसकेकी थिएँ ।
अदालतको आदेशअनुसार छुट्टै भिन्नै भए पनि मेजर्नीले मलाई दुःख दिन, मेरो बदनामी गर्न कुनै कसर बाँकी राखिनन् । मुन्सी काकाको माध्यमले समेत मलाई बदनाम गर्ने प्रयत्न गरिन् उनले । तर, सत्य डग्दैन भन्ने अटुट विश्वाससा साथ मैले थोत्रो घरलाई स्याहारेर बस्न हुनेसम्म बनाएँ । भाइबैनीले छाडेर एक्ली भएकी आमालाई आपैmसँग राखेँ । फेरि एकपटक हामी आमाछोरी एक अर्काको सहारा भएका थियौँ । आमा आपूmसँग भएपछि मलाई ठूलो रुखको छहारीमुनि ओत लागेको अनुभूति भइरहेको थियो ।
तर, मेरो जीवनमा अझै कालो बादल मडारिन छाडेको रहेनछ भन्ने मलाई थाहै थिएन । एक दिन अचानक अदालतको समन पाउँदा पो म झल्याँस्स भएँ । मेजर्नी साहेबले नाति नातिना आफूले पाउँ भनी मुद्दा हालेकी रहिछिन् । त्यो दिन असहनीयरूपले छाती दुख्यो । उहाँको आफ्नै सन्न्तान थियो, सहमतिले नै लगेको भए पनि म नाइँ भन्दिन थिएँ । तर फेरि एक पटक मलाई अदालतको चक्कर काट्नुपर्ने बाध्यता आइलाग्यो ।
“सैँम्या र सौरब तपाईकै सन्तान हुन् । यिनलाई भेट्न, यिनलाई माया गर्न कानुनको सहारा लिइरहनै पर्दैन, मूवाहजुर”, पहिलो पटक अदालत परिसरमा भेट भएपछि मैले मेजर्नी साहेबसँग अनुरोध गरेँ ।
“तेरा छाउराहरुसँग भेट्न मलाई कुनै रहर छैन, बरु तँलाई सञ्चोले बस्न नदिन हेर्दै जा म कहाँसम्म गर्छु ।”
जिन्दगी मेरो लागि प्रत्येक पाइलामा भोगाई होइन चुनौतिको रूपमा अगाडि आइरहेको थियो । म गरिब अनि टुहुरीलाई उनीहरुले नै रुचाएर विवाह गरे । तर, मलाई कहिल्यै सञ्चोले बाँच्न दिएनन्, थोरै स्नेहको ध्यू मेरो जिन्दगीको भागमा हालिदिने दया–मायासमेत देखाएनन् । आखिर मेरो गल्ती नै के थियो र ? अदालतको पैmसलाभन्दा अगाडि नै न्यायाधिससामुँ उभिएर भनें, “श्रीमान् यदि मेरा नानीहरु आफ्नी हजुरआमासँग बस्न राजी हुन्छन् भने मलाई कुनै आपत्ति छैन ।”
त्यसपछिका दिनहरुमा मेजर्नी साहेबसँग मेरो खासै भेटघाट भएन । उनले आफ्नोे जीवनकालमै आफ्नोे श्रीसम्पत्ति छोरी र छोरीपट्टीका नातिनातिनाहरुलाई दिइसकेको खबर मैँले पनि सुनेकी थिएँ । उनको सम्पत्तिमा मलाई कुनै चासो पनि थिएन । यो बेलासम्म मैले स्नातक गरिसकेकी थिएँ र यसबेला म माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नेपाली पढाउँथें । पुरानो घर अब ढल्ला तब ढल्लाको थितिमा पुगेपछि त्यसलाई भत्काउनै पर्यो । आफू बस्ने बासको जोहो गर्न मैले आधा जग्गा बेचिदिएँ र बाँकी रहेको आधा जग्गामा घर बनाउन थालें । मेरो त यसमा सहमति मात्र थियो, जग्गा बेच्ने, घर बनाउने, नानीहरु स्याहार्ने सबै जिम्मेवारी आमाले लिनु भएको थियो । त्यसैले त म बिहान बेलुकी पनि बच्चाहरुलाई ट्युसन पढाउँथें, दुई पैसाको जोहो गर्न । तर विधिको बिडम्बना नयाँ घर बनाउने सिङ्गो जिम्मेवारी लिने मेरी आमाले नयाँ घरमा बस्ने मौका पाउनु भएन । घर सर्ने बिहानै बोल्दाबोल्दै उहाँले हामीलाई सधैंका लागि छाडेर जानु भयो ।
जीवनको यो मोडहरुमा आएर म साँच्चिकै टुहुरी भएकी थिएँ । आमा नहुनु भएको भए दुईवटा नानी स्याहार्नु, जागीर खानु, पढ्नु, पढाउनु यी सबै मेरा लागि कल्पना बाहिरका कुरा हुने थिए । त्यसैले फेरि एकपटक हवल्दार काकालाई गुहारेँ । अभरमा मेरा लागि उहाँ नै एकमात्र भर हुनुहुन्थ्यो । कहाँबाट हो उहाँले नै एउटी होइन दुईवटी आमा मेरा लागि ल्याईदिनु भयो । सुरुमा केही असजिलो अनुभव भए पनि बिस्तारै हामी पाँच जना आपसमा छुट्टिनै नसकिने गरी घुलमिल भएछौं । नानीहरु र घरको बारेमा मैले चिन्तै लिनु परेन । त्यसैले विद्यालयमा पढाउनु र घरमा ट्युसन पढाउनु बाहेक मैले घरमा अरु केही हेर्नु नपर्ने भएपछि प्राइवेट परिक्षार्थीका रूपमा मैले एम.ए.को फर्म भरें ।
मानिसले थाहै नपाई समयले पखेटा लगाएर उड्दो रहेछ । ताते गर्ने दुई जोर खुट्टाहरु जवान भएर उच्च अध्ययनका लागि विदेश पुगे । यसैबीचमा मैले पनि स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेँ । मैले आपूmले प्राथमिक स्तरदेखि पढाउँदै आएको विद्यालय उच्च मा.वि.मा परिणत भैसकेको छ । आज त्यही उच्च मा.वि.को म प्राचार्य छु । पढाउनु अब मेरा लागि पेशा होइन पे्रम भइसकेको छ । किनभने शिक्षण कार्यप्रतिको मेरो लगाव, पे्रम र आशक्तिको म वर्णन गरेरै सक्दिन । विद्यालयको प्राङ्गणमा उभिएर चराभैंm चिरबिर चिरबिर गर्ने विद्यार्थीहरुको हुल देख्दा मलाई त्यसै त्यसै आनन्दको अनुभूति हुन्छ, रगतको सट्टामा मेरा नशा नशामा खुशी दौडिएको अनुभूति हुन्छ । यही शिक्षण पेशाले मलाई अधिराज्यभरिका शिक्षकहरुमध्ये उत्कृष्ट ठहर्याउँदै शिक्षा दिवसका दिन राष्ट्रपतिको हातबाट राष्ट्रिय पुरस्कार प्राप्त हुँदैछ । निमन्त्रणा त आइसकेकै थियो फोनबाट पनि त्यही व्यहोरा पत्रबाट पनि जानकारी गराइएको रहेछ । फोन क्रेडिलमा राखेर यसो आफ्नो आँखा छाम्छु —यो आँशु फेरि आँखाको डिलमा बास बस्न आइसकेछ । साँच्चै आँशुलाई आँखाको डिलमा बस्न आउने पनि बहाना मात्र चाहिने रहेछ जबकि मलाई थाहा छ, जीवनका अँध्यारा रातहरु सिद्धिएर नयाँ बिहानीमा चियाउने यो रंगहीन आँशु पक्कै पनि खुशीको आँशु हो भनेर ।
– बलराम तिमल्सिना
राजनीतिमा फोहोर मिसिएको हो,
फोहोरको राजनीति सुरु भएको हो,
या फोहोरले राजनीति गर्न थालेको हो ?
मानिसहरू अचम्मित छन् ।
जसरी फोहोरको थुप्रामा छन्
फाटेका कपडा
बासी भात
वीर्यले भरिएका कण्डमहरू
प्लास्टिकका बोतल
र तरकारीका बोक्राहरू
जसरी ती मिलेर बसेका छन्
र मिलेर संक्रमण फैलाएका छन्
मिलेर सुन्दरता बिगारेका छन्
राजनीति पनि त्यस्तै भएको छ ।
राजनीतिमा पनि छ
हिटलरको राष्ट्रवाद
जो अहिले तन्नेरी पल्टेको छ
र, अज्ञात शत्रुको खोजीमा
तरवार बोकेर निस्केको छ ।
राजनीतिमा पनि
माक्र्स र एङ्गेल्स
ड्युहरिङ्गसँग मस्केर बसेका छन्
लेनिन काउत्स्कीसँग
स्टालिन ख्रुस्चेवसँग
माओ तेङ्ग स्याओपिङ्गसँग
र पुष्पलाल पुष्पकमलसँग मस्केर बसेका छन्
अर्थात् त्यस्तो दृश्य देखिन्छ ।
हिटलरको राष्ट्रवाद
लेनिनको समाजवाद
माओको नौलो जनवाद
विपीको प्रजातान्त्रिक समाजवाद
अमेरिकाको अनुदार उदारवाद
र नियन्त्रित खुला बजार
सिजिन पिनको ब्यापारिक समाजवाद
मोदीको हिन्दू अतिवाद
गान्धीको चर्खावादी शान्तिवाद
यी सबै मिसाएर एकै ठाउँमा
नेपाली समाजवादको आविष्कार गरिएको छ ।
राजनीतिमा
देखेपछि आफ्नो अब्बल भूमिका
फोहोरहरू स्वयम् राजनीतिमा उत्रिएका छन्
सडकको दायाँ किनारको फोहोरलाई
वायाँ किनारको फोहोरले
दक्षिणपन्थीको आरोप लगाएको छ
नियमापत्ती जनाउँदै त्यसमा
दायाँ किनाराको फोहोरले
उग्रवादी घोषणा गरेको छ वायाँलाई
जुन फोहोर
सडकको मध्य भागमा छ
ऊ दोधारमा परेको छ
उसलाई मध्यपन्थीको आरोप छ ।
फोहोर र राजनीति
राजनीति र फोहोर
फोहोरको राजनीति
र फोहोरको आफ्नै राजनीति
यी सबै पसेर मान्छेका दिमागमा
एउटा विभ्रमको बिमारी फैलिएको छ ।
एका बिहानै उठेर फोहोरहरूले
घोषणा गरेका छन्
अब देशको जिम्मा हामी लिन्छौं
देशमा सुशासन हामी दिन्छौं !
उनीहरुको नारा छ
संसारका फोहोरहरू एक होऔं !
र संसारबाट सुन्दरताको अन्त गरौं ।।
– पौडेल विमुन्स
१.
गल्ती गरे पनि जीवन मार्न कहाँ सकिन्छ
दुनियाले देख्दा आँशु झार्न कहाँ सकिन्छ
पानाहरू जिन्दगीका मैलो कालो भए पनि
एक पन्ना च्याती तल सार्न कहाँ सकिन्छ ?
२.
आज भन्यो भोलि भन्यो गयो जिन्दगी
बर्सिएका आँशु गन्यो गयो जिन्दगी
अरूलाई दुःख दिन्छु भन्दाभन्दै एकदिन
आफैं लड्ने खाल्डो खन्यो गयो जिन्दगी ।।
३
एक्लै एकदिन रुँदारुँदै भासिएको रसा देख्न
पाउनेका भुँडी, नपाउनेका हाड र नसा देख्न
आत्मीयता पैसासँग जोडिदै छ आजभोलि
बेकारमा चाड आयो गरिबको दशा देख्न ।।
४.
हतौडाले हाने पछि सबै बोक्छन् झोला
झोलाभित्र मार्सी बोक्छन् उतै दिन होला
यसैगरी आफ्नो खाता खचाखची भर्छन्
बोल्न हुन्न देशै डुबोस् नत्र जीवन रोला ।।
५.
म थाकेँ धरामा उसैको मुहाली
सतायो असाध्यै कडा रोग फाली
डराएर एक्लै बगाएर आँशु
अँगालो सबैका परे आज खाली ।।
– बबिता खालिङ, सिक्किम
जसरी हरेक वर्ष पृथ्वी
ब्रह्माण्ड घुमेर पनि
त्यहीँ स्थानमा आइपुग्छ
जहाँ उसलाई सुर्यले जन्माएको थियो
त्यसरी नै ३६५ दिनहरुमा
एक पल्टलाई भएपनि सम्झिदिनु
तिमीले मेरो मायालाई ।।
किनकि तिमीलाई जन्माउदा
म पनि सुर्य जस्तै टुक्रिएकि थिएँ
म टुक्रिएकि छु हरेक दिन ।
यदि
भत्किनु र जोड्नु नै नारित्व हो भने
हो म नारी हुँ !
म नारीहरु बीचका महानत्म नारी
आमा हुँ ।।
अरुसँगको तिम्रो सम्बन्धलाई
तिमी जे संज्ञा दिए नि हुन्छ
तर, तिमी नभुल्नु
मसँगको तिम्रो सम्बन्ध
सबै सम्बन्धभन्दा फरक छ
यो सम्बन्ध
नौ महिना अगाडीको जो छ !
तिमी र मैले एउटै सास फेर्दा
एउटै ढुकढुक्की साट्दा
तिमीलाई आफुभित्र सुरक्षित राख्न
नथाकेकी म
तिमीलाई तिमीबाट जोगाउन
तिमीलाई संसारदेखि जोगाउन
तिमीलाई तिम्रै भाग्यदेखी जोगाउन
मैले एकै क्षण बिर्सीकी छुईन
ईश्वर अघि शीर झुकाउन
तिमी तिम्रो खुशीमा
तिम्रो फुर्सदमा
तिम्रो थकाइमा
आफुसँग हारेर हरेस खाएको बेला
सम्झिदिनु मेरो मायालाई ।।
मैले आफुलाई भन्दा धेरै माया
गरेको तिमीले मलाई
बस् ! आफू जत्तिकै माया गरिदिए पुग्छ
मलाई सम्झिदिए पुग्छ ।।
– भावना विष्ट, अछाम
१.
ताल, तलैया, खोला, नाला र बाटो बेचिदै छ ।
आफ्नो देशको ताजा अन्न, ढिँडो र आँटो बेचिदै छ ।
छोरी बेचिन कोठीमा, छोरा बेचिए खाडी मुलुक तिर,
अब नेपाली आमा र मातृभूमिको माटो बेचिदै छ ।
२.
नेता ज्यूका घुमफिर गर्ने अरबौका सवारी छन् ।
कोही जनता खाडी मुलुक कोही भिखारी छन् ।
छोरा छोरी सरकारी स्कुल पढाउन धौधौ भएर,
धनीको घरमा बा हलिया कठै आमा कमारी छन् ।
३.
सत्तामा आई भुँडी पल्टाई, राष्ट्रवादी भन्छन् ।
कालो कोट पाइन्ट लगाई, राष्ट्रवादी भन्छन् ।
कोही मरे द्वन्द्वकालमा कोही सिमानामा अझै,
जनतालाई बली चढाई, राष्ट्रवादी भन्छन् ।
४.
देश चलायो जनतालाई बेलुन झैँ खेलाउनेले ।
अवसर पाएन अझै मुलुक समृद्ध सुखी बनाउनेले ।
कुर्सीमा बसी भुणी पल्टाई देश सक्यो ब्वाँसा नेताले ।
साँझ बिहान चुलो बाल्न पाएन कठै पसिना बगाउनेले ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies